बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खेल संघसंँगको अन्तरक्रिया सम्पन्न

बुधबार, ३२ असार २०८२, १९ : ४५
बुधबार, ३२ असार २०८२

सारांश

  • युवा तथा खेलकुद मन्त्रालय र राखेपको संयुक्त आयोजनामा राष्ट्रिय खेल संघका पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रममा मन्त्रीले खेलाडीको सुविधा वृद्धि र निजी क्षेत्रसँगको सहकार्यको प्रतिबद्धता जनाए, पारदर्शितामा जोड दिए।
  • अन्तरक्रियामा सहभागीहरूले दशौं राष्ट्रिय खेलकुद, बजेटलगायतका विषयमा आफ्ना धारणा राखेका थिए।

काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल संघ तथा महासंघका पदाधिकारीहरूबिच अन्तरक्रिया कार्यक्रम बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ।

कार्यक्रममा मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानुनी, प्रशासनिक, आर्थिक र विविध पक्षहरूमा कार्यपत्र प्रस्तुत गरे। त्यस्तै, राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघहरूको आर्थिक स्रोत, अन्तर्राष्ट्रिय संघ/महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट विक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ तथा लाइसेन्स विवरण, भौतिक संरचना र बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गरे।

खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘मिसन–२०२६’ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूको सुविधा वृद्धि गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए। उनले खेलकुदको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताउँदै सुशासन, पारदर्शिता र सुदृढीकरणमा जोड दिए।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले अन्तरक्रियामा सहभागी सबैको सुझाव महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गरे। मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले समस्याको दीर्घकालीन समाधानका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू आवश्यक रहेको धारणा व्यक्त गरे।

एकदिने अन्तरक्रिया कार्यक्रममा राखेप कार्यकारी समिति, बोर्ड सदस्य, खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले दशौं राष्ट्रिय खेलकुद, पुरस्कार, कर्मचारी दरबन्दी, खेल सामग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परीक्षण, पेस्की, बेरुजु, प्रशिक्षणस्थल, बजेटलगायत विषयमा आफ्ना धारणा राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप