बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन

बिहीबार, ०१ साउन २०८२, १८ : १४
बिहीबार, ०१ साउन २०८२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्केपछि विभिन्न प्रश्न उब्जेका छन् । पहिलो प्रश्न त यही छ कि राष्ट्रपति भइसकेको व्यक्ति के हुनका लागि सक्रिय राजनीतिमा फर्केकी होलिन् ? 
विश्वमा एकपटक राष्ट्रपति भइसकेको व्यक्तिले के गरे भन्ने केही उदाहरण हेरौँ ।  

१) जिमी कार्टर : उनी अमेरिकामा सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति बने । त्यसपछि जीवनभर उनले विश्व शान्ति र स्वास्थ्य सेवा सुधारमा आफूलाई समाहित गरे । उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनको भर्खरै मृत्युभयो । 

२) बाराक ओबामा : उनी सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति बने । उनले ओबामा फाउन्डेसन खोलेर नेतृत्व विकास, अश्वेत युवाको अधिकार र जलवायु संकटका क्षेत्रमा काम गर्दै आएका छन् । उनलाई सन् २००८ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । 

३) एलेन सरलिफ जोन्सन : उनी अफ्रिकी मुलुकमा राष्ट्रपति बन्ने पहिलो महिला हुन् । उनी सन् २००६ देखि २०१८ सम्म लाइबेरियाकी राष्ट्रपति बनिन् । हाल उनी विश्व शान्ति, महिला शिक्षा र प्रजातान्त्रिक पद्धति विकासका क्षेत्रमा कार्यरत छिन् ।

४) मिसेल बासलेट : चिलीकी पूर्वराष्ट्रपति यिनले संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको प्रमुखका रूपमा काम गरी विश्वमा मानव अधिकारको अभिवृद्धिका लागि काम गर्दै आएकी छन् । 

५) डा.एपीजे अब्दुल कलाम : सन् २००२ देखि २००७ सम्म भारतको राष्ट्रपति बनेका कलाम निवृत्त भएपछि शिक्षण र अनुसन्धानमा फर्किए । सन् २०१५ मा उनको निधन भयो । 

६) लेख वालेसा : सन् १९९० देखि ९५ सम्म पोल्यान्डको राष्ट्रपति बनेका वालेसालाई सन् १९८३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनी पनि प्रजातन्त्र र सामाजिक विकासका क्षेत्रमा कार्यरत छन् । 

७) मेरी रबिन्सन : आयरल्यान्डकी पूर्वराष्ट्रपति रबिन्सनले पनि मानव अधिकार उच्चायुक्तका रूपमा संयुक्त राष्ट्रसंघमा रही विश्व शान्ति र सामाजिक न्यायका लागि काम गरिन् ।

८) बिल क्लिन्टन : सन् १९९३ देखि २००१ सम्म अमेरिकाको राष्ट्रपति बनेका क्लिन्टनले आफ्नै फाउन्डेसन खोलेर विकास, स्वास्थ्य र नीति अध्ययनका क्षेत्रमा काम गर्दै आएका छन् । 

९) ताबा रेरा मोम बासकेस रोसास : सन् २००५ देखि २०१० र २०१५ देखि २०२० सम्म उरुग्वेको राष्ट्रपति बनेका ताबा रेराले पदमुक्त भएपछि जनस्वास्थ्य र क्यान्सर अनुसन्धानका क्षेत्रमा काम गर्दै आएका छन् । 
१०) मोहम्मद नासिद : मालदिभ्सका पूर्वराष्ट्रपति नासिद सन् २०१२ मा पदमुक्त भएपछि मौसम परिवर्तन, समुद्री जलवायु र जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएका छन् । 

सामान्य नेता मात्र हुन त पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा–सुविधा र मानसम्मान परित्याग गरेको होइन होला ! दुईपटक राष्ट्रपति भइसकेको मान्छे प्रधानमन्त्री हुँदा कस्तो अवस्था आउला ? यसले गणतन्त्र र राष्ट्रपति पदलाई कुन धरातल देला ?

उसो त अमेरिकाका प्रधान न्यायाधीश पनि जिउँदै हुँदा राजीनामा नदिए मरेपछि मात्र निवृत्त हुन्छन् । हाम्रो देशको राजनीतिमा पनि नेताहरू मरेपछि मात्र निवृत्त हुने परिपाटीले युवा र ज्येष्ठ पुस्ताबिच दूरी बढ्दै गएको छ । यसैलाई निरन्तरता दिन पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्केकी त होइनन् ? प्रश्न यो पनि छ । 

विश्वमा सबैभन्दा बढी युवा नेतृत्व युरोपमा देखिन्छ । त्यहाँका चार मुलुकमा ४० वर्ष मुनिका व्यक्ति राष्ट्र तथा सरकार प्रमुख छन् । त्यहाँका सात मुलुकमा ४५ मुनिका नेताले शासन गर्दै आएका छन् । मात्र २० प्रतिशत युरोपेली मुलुकमा ६० हाराहारीको नेतृत्व छ । ज्येष्ठ नेताहरू खासगरी अफ्रिका र मध्यपूर्वका मुलुकहरूमा देखिन्छन् । 

सन् २०२५ मा औसत युरोपेली नेतृत्व ५३ वर्षको छ । यही अवस्था सन् १९८० को दशकमा ६५ थियो । उनीहरूको राजनीति बिस्तारै युवा पुस्तामा सर्दै आएको छ । 

अहिले सत्तामा रहेका सबैभन्दा ज्येष्ठ नेताका रूपमा क्यामरुनका राष्ट्रपति पल बियालाई लिइन्छ । उनी ९० वर्षका छन् । 

खासगरी ८० माथिको नेतृत्व रहेका मुलुकहरू प्रायः एकतन्त्री शासन र कमजोर आर्थिक स्थितिमा गुज्रिरहेका छन् । यसलाई सिद्धान्तकै रूपमा भने स्थापित गर्न सकिँदैन ।

संयुक्त राज्य अमेरिका, इटाली र आयरल्यान्डमा बुढा नेताले शासन गरिरहेका छन्, तर ती देशमा दोहोर्‍याएर सत्तामा जाने प्रक्रिया पारदर्शी छ । 

द्रूत गतिमा विकास भएका धनी मुलुकमा युवाहरू नेतृत्वमा आएको पाइन्छ । यसको उदाहरण फिनल्यान्ड हो । यस मुलुकमा ३४ वर्ष तीन महिनाको उमेरमा महिलानेतृ साना मारिन २०१९ मा प्रधानमन्त्री बनेकी थिइन् । यिनै मात्र सबैभन्दा कम उमेरकी नेतृ भने होइनन् । अठारौँ शताब्दीमा बेलायतमा विलियम पिट द एङ्गर २४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए । 

आधुनिक विश्वमा भने सन् २०१७ मा मात्र ३१ वर्षको हुँदा अस्ट्रियाका चान्सलर सेबास्चियन कुर्ज सत्तामा आएका थिए । सामान्यतया उत्तराधिकारी प्रथा लागु भएका मुलुकको शासन प्रणालीमा भने आफ्ना बाबुआमा मरेपछि स्वतः घोषित हुने नेतृत्वको भने खासै उमेरसँग तुलना गर्न सकिँदैन । 

यसरी देशका प्रमुख शासक बन्नेमा उत्तर कोरियाका नेता किम जङ उन पनि छन् । उनी २८ वर्षको हुँदा नेता बनेका थिए तर उत्तर कोरियाली शासन शैलीमाथि पारदर्शिताको दृष्टिले प्रशस्त प्रश्न उठाइन्छ ।

हाम्रै देशमा पनि तत्कालीन राजाहरू ज्ञानेन्द्र र त्रिभुवन तीन र पाँच वर्षमा राजा भएका इतिहास नभएका होइनन्, तर उनीहरूको शासन पद्धतिमा हात थिएन । 

आधुनिक विश्वमा लामो समयसम्म एउटै शासकले हाँकेका मुलुकहरूमध्ये रुसबाहेक अरु सबै कंगाल छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० र २००४ मा राष्ट्रपति जितेपछि संविधान नै संशोधन गरे, सन् २०१२ देखि लगातार उनी सत्तामा छन् । सन् २००८ देखि २०१२ सम्म उनी प्रधानमन्त्री बनेका थिए । 

निर्वाचनबाटै लामो शासन गर्ने शासकमा युगान्डाका योवेरी मुसेभेनी पर्छन् । उनी सन् १९८६ देखि लगातार चुनावमार्फत सरकारमा छन् । उनले विरोधीलाई नियन्त्रणमा राखेर चुनाव जित्दै आएका छन् ।
भारतमा नरेन्द्र मोदीको तेस्रो कार्यकाललाई पनि चुनावमार्फत स्थापित तानाशाही भन्ने आरोप लगाइन्छ । 

त्यसो त व्यक्तिगत अधिकारका लागि स्वर्णिम मुलुक मानिने अमेरिकामा पनि चार पटकसम्म एउटै मानिस राष्ट्रपति बनेको तथ्यांक छ । फ्रांकलिन डी रुजभेल्ट सन् १९३२, ३६, ४० र ४४ मा लगातार राष्ट्रपति निर्वाचित भए । सन् १९४५ मा पदमै रहेका बेला उनको देहान्त भयो । 

यसलाई अमेरिकीहरूले शिक्षाका रूपमा लिएर र सन् १९५१ मा संविधान संशोधन गरेर एउटै मानिस बढीमा दुईपटक मात्र राष्ट्रपति बन्न पाउने व्यवस्था गरे । यसअघि नै सन् १८०४ मा उनीहरूले जो मानिस राष्ट्रपतिका लागि योग्य ठहरिँदैन, ऊ उपराष्ट्रपतिका लागि पनि अयोग्य ठहरिनेछ भन्ने संवैधानिक व्यवस्था गरेका थिए । 

अझै पनि यस बुँदाले डोनाल्ड ट्रम्पलाई तेस्रो कार्यकालमा राष्ट्रपतिका लागि उम्मेदवारी दिनबाट रोके पनि उपराष्ट्रपतिका लागि बाटो छेकिँदैन भन्ने विचार पनि व्यक्त भएका छन् तर यस विचारका खिलाफमा अमेरिकी मिडियामा तीन हजारभन्दा बढी विचार स्तम्भ लेखिएका छन् । 

योभन्दा पनि असल विषय त के छ भने अमेरिकामा कानुनी लिखतबाहेक पत्रकारिता र सामान्य बोलचालमा पूर्वराष्ट्रपतिलाई ‘प्रेजिडेन्ट फलाना’ (प्रेजिडेन्ट ओबामाजस्तै) भन्ने प्रचलन छ । उनीहरू पूर्व वा तत्कालीन शब्दको प्रयोग गर्दैनन् । 

ठिकै हो, राज्यले सम्मान गरेर लालनपालन गरेका मानिसलाई किन निवृत्त भन्ने ? त्यसो त महाभियोग वा अन्य कुनै कानुनी अभियोग लागेर पदमुक्त भएकाबाहेक सबै राष्ट्रपतिले ‘क्याबिनेट सेक्रेटरी’ सरह आजीवन भत्ता पाउँछन् । यो भत्ता हाल वार्षिक दुई लाख ३५ हजार डलर छ ।

यतातिर बेलाबेला बाराक ओबामा पदमुक्त भएपछि परिवार पाल्न फलानो सपिङ मलमा काम गर्दै छन् भन्ने गरेको सुनिन्छ । सत्य यही हो कि खान नपुगेर होइन काम गर्नुपर्छ भन्ने मान्यताका आधारमा उनले काम गरेका हुन् । सामान्य जीवनयापन गर्न अमेरिकामा एउटा परिवारलाई वर्षमा ७५ हजार डलर भए पुग्छ । यसबाहेक राष्ट्रपतिले पदमुक्त भएपछि कार्यालय भवन, गुप्तचर सुविधा आदि पनि पाउँछन् । 

हाम्रा वरिपरि नै यस्ता घटना छन्, जहाँ लामो समय सत्तामा बसेर पनि मानिस फेरि राजनीतिमा फर्किन्छन् । यसको सबैभन्दा गतिलो उदाहरण महाथिर मोहमद हुन् । मलेसियाका शक्तिशाली प्रधानमन्त्री महाथिर सन् १९८१ देखि सन् २००३ सम्म लगातार प्रधानमन्त्री बने । १५ वर्ष विपक्षी बनेर सन् २०१८ मा ९२ वर्षको उमेरमा फेरि प्रधानमन्त्री बने । 

यसै गरी भारतकी शक्तिशाली प्रधानमन्त्री तथा कांग्रेस आईकी संस्थापक इन्दिरा गान्धी सधैँ खुला दिलले काम गर्नुपर्छ भन्नेमा अडिग थिइन् । बन्द मुठीले हात मिलाउन सकिँदैन भन्ने उनको लोकप्रिय भनाइ थियो । पाकिस्तानबाट बंगलादेश अलग पार्नु, जनमतमार्फत सिक्किम भारतमा विलय गर्नु र रुससँग दीर्घकालीन सन्धि गर्नु उनको कार्यकालमा भएका केही ठुला निर्णय थिए । 

इन्दिराजस्तै अर्की कडा नेत्री हुन्, तत्कालीन पाकिस्तानी प्रधानमन्त्री बेन्जिर भुट्टो । उनी विश्वकै पहिलो मुस्लिम प्रधानमन्त्री हुन् । उनी पनि पटक–पटक सत्तामा फर्किइन् । 

त्यस्तै कोटिमा पर्छन्, बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिना र खालेदा जिया । हसिना बंगलादेश मुक्ति आन्दोलनका नायक मुजिबर रहमानकी छोरी हुन् । यही आडमा उनी सन् १९९६ देखि २००१ सम्म र २००९ देखि सन् २०२४ मा जनताले नलखेटुन्जेल प्रधानमन्त्री पदमै रहिन् ।

विषयतान्तर अलि बढी नै भयो । अब भने हाम्रै कुरा गरौँ । हामीकहाँ पूर्वराष्ट्रपति भण्डारीले प्राप्त सुविधा त्यागेर राजनीतिमा फर्केकी छन् । उनको आगमन प्रश्न सिर्जना गरेको छ, एमालेमा नेतृत्वको खडेरी परेकै हो त ? नत्र राजनीतिबाट अगल रहेर शान्तिपूर्वक जीवन बिताउन सुरु गरेको मानिसलाई किन राजनीतिमा तानियो ? राजनीति गर्नुको अर्थ हो प्रधानमन्त्री बन्नु, राष्ट्रपति बनेर देशको सेवा गर्नु । सामान्य नेता मात्र हुन त पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा–सुविधा र मानसम्मान परित्याग गरेको होइन होला ! दुईपटक राष्ट्रपति भइसकेको मान्छे प्रधानमन्त्री हुँदा कस्तो अवस्था आउला ? यसले गणतन्त्र र राष्ट्रपति पदलाई कुन धरातल देला ?

पूर्वराष्ट्रपतिको राजनीति प्रवेशलाई सामान्य मानिएला तर कुनै दिन एमाले बहुमतमा पुग्यो भने प्रधानमन्त्री पार्टी अध्यक्ष नै हुने होला । भारतमा जस्तो पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक पार्नका लागि यत्रो बलिदान त होइन होला ! कथंकदाचित् विद्यादेवी भण्डारीलाई नै प्रधानमन्त्री बनाउनुपरे मिल्छ कि मिल्दैन ? किनभने तपाईं त पूर्वराष्ट्रपति हो, स्वभावतः राष्ट्रको संरक्षक हो ।  जेहोस्, नेपालको राजनीतिमा त्यसमा पनि वामपन्थी राजनीतिमा योगेश तथा रामकुमारी पुस्ताले सत्ता पाउन नाति–नातिना खेलाउनैपर्ने देखियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप