शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मितेरी सहकारी प्रकरण

ज्योति भण्डारीसँग कनेक्सन देखिएपछि थप दुई जना पक्राउ, संगठित अपराध पनि जोडियो

शुक्रबार, ०२ साउन २०८२, १६ : ३०
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • ललितपुरको मितेरी बचतको रकम अपचलन आरोपमा ज्योति बहादुर भण्डारी पक्राउ परेका छन्।
  • भण्डारीसँग मिलेर ठगी गरेको आरोपमा सुरेश अधिकारी र सुवास खत्री पनि पक्राउ परेका छन्।
  • भण्डारीले नागरिकता र पासपोर्ट किर्ते गरेको र ३ करोड ४४ लाख ठगी गरेको आरोप छ।

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा ज्योति बहादुर भण्डारी थुनामा छन् । बर्दिया घर भएका ज्योतिलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याएको हो । 

भण्डारीसँग कनेक्सन देखिएपछि थप दुई जना पक्राउ परेका छन् । बर्दिया घर भएका सुरेश अधिकारी र धादिङ घर भएका सुवास खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

विदेशमा बस्ने भण्डारीलाई अधिकारी र खत्रीले ठगीको रकम हुण्डीबाट पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुरुमा सुवास खत्रीले र पछिल्लो समय अधिकारले हुण्डीमार्फत उनलाई रकम पठाउने गरेको भेटिएको सीआईबीका प्रवक्ता (एसपी) युवराज खड्काले रातोपाटीलाई बताए । सुरेश र ज्योति पारिवारिक सदस्य हुन् ।

सीआईबीले उनीहरू विरुद्ध संगठित अपराधमा पनि अनुसन्धान शुरु गरेको छ । एसपी खड्का भन्छन्, ‘संगठित तवरले सहकारी ठगेको देखिएपछि मुद्दालाई संगठितमा रूपान्तरण गरेर म्याद लिएका छौँ ।’

भण्डारी विरुद्ध प्रहरीले नागरिकता र पासपोर्ट किर्ते गरेको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका भण्डारीले लिएको दुईवटा पासपोर्टमा फरक नागरिकता नम्बर उल्लेख गरेको भेटिएको छ । भण्डारीको नाममा जारी भएको १०५४८६८८ नम्बरको पासपोर्टमा नागरिकता नम्बर १५८८३ र जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको छ । अर्को पासपोर्ट नम्बर ११३६४६९१ मा नागरिकता नम्बर १४८०३ र जन्मस्थान बर्दिया उल्लेख गरेको भेटिएको छ ।

आरोपीले अन्य व्यक्तिहरूको राहदानी र नागरिकताको विवरण परिवर्तन गरेर काल्पनिक व्यक्तिहरूको विवरण राख्दै किर्ते गरेको नागरिकता र पासपोर्ट ठगीमा प्रयोग गरेको सीआईबीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । भण्डारीले फरक नामबाट फेसबुक र ह्वाट्स एप चलाएर ‘ठगीधन्दा’ चलाउने गरेको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।

मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ उनले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङसँग पनि प्रहरीले बयान लिएको छ । सो प्रकरणमा गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ फरार छिन् ।

सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले भण्डारीलाई सहकारीका पदाधिकारीहरूसँग सम्पर्क गराएकी थिइन् । त्यसबेला थाइल्याण्डमा बस्ने भण्डारीले सहकारीका सचिव कृष्ण रानाले खाता सञ्चालन गरेको ग्लोबल आइएमई बैंकको इन्द्रचोक शाखामा ३३ करोड ११ लाख पार्सल पठाएको छु भनेर ह्वाट्स एपमा टोकन पठाएका थिए । त्यसपछि पार्सल रकम लिन कमिसन तिर्नुपर्छ भनेर ३ करोड ४४ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप