चार वर्षपछि अँगालोमा बाँधिए माधव र बामदेव
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम चार वर्षपछि नेकपा एकीकृत समाजवादीमा विलय भएका छन् ।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको एकता सभामा गौतम एकीकृत समाजवादीमा विलय भएका हुन् । २०७५ साल जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले बदर गरेपछि गौतमले २०७८ सालमा नेकपा एकता राष्ट्रिय अभियान चलाएका थिए ।
नेकपा एकताका लागि उनले कहिले एमालेका अध्यक्ष केपी ओली, कहिले माओवादीका अध्यक्ष प्रचण्ड त कहिले माधव नेपालसँग छलफल गरेका थिए । विभाजित पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास असफल भएपछि गौतमले आफ्नै नेतृत्वमा पार्टी दर्ता गरे ।
एकता घोषणा सभामा उनलाई अध्यक्ष नेपालले दोसल्ला ओढाएर स्वागत गरे । चार वर्षपछिको एकतालाई दुई शीर्ष नेताले अँगालोमा निकैबेर कसिलोसँग बाँधेर एकता टुट्न नदिने सन्देश दिए । एकीकृत समाजवादीमा समाहित हुन पाउँदा निकै खुसी देखिएका गौतमले कम्युनिस्ट आन्दोलनको झण्डा आफूले चार वर्षको उमेरदेखि नै उचालेको र अझै झुक्न नदिने सङ्कल्प गरे । उनले आफ्नो पार्टी कार्यालय रहेको स्वयम्भू र एकीकृत समाजवादीको कार्यालयबिच भेट हुनका लागि चार वर्ष लागेको सुनाए ।
‘अहिले म ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु’, उनले भने, ‘दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पुरा भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ । तर नेकपा एकता धेरै दिन टिकेन । अझै हिम्मत हारेको छैन ।’
उनले अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुनेमा उनले आशङ्का व्यक्त गरे । अहिलेको स्थितिले समाजवाद आउने छाँटकाँट नदेखिएको गौतमले धारणा राखे ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गौतम कम्युनिस्ट आन्दोलनको एउटा ऊर्जा रहेकाले पार्टीभित्र उचित जिम्मेवारी दिने घोषणा गरे ।
‘चार वर्षपछि वामदेव हाम्रो पार्टीमा फर्किनुभएको छ । एकता गर्ने विषयमा निकै आरोह अवरोह भयो । एकता होला होला जस्तो हुन्छ फेरि भाँडिन्छ । आज पनि एकता हुन्छ भनेर मलाई धेरैले सोधेका थिए । एकताका लागि लिखितै हस्ताक्षर भएकाले कुनै शङ्का नगर्न आग्रह गरेँ’, नेपालले भने, ‘उहाँलाई जिम्मेवारी दिने विषयमा कुनै शङ्का नगरे हुन्छ । पार्टीभित्र छलफल गरेर उचित जिम्मेवारी दिन्छौँ । उहाँ व्यक्ति मात्र होइन, आन्दोलन हो । आन्तरिक पार्टीलाई बलियो बनाएर अन्य पार्टीसँग एकताको नेतृत्व गर्छौँ ।’
कम्युनिस्ट पार्टीभित्र सबैभन्दा ठुलो रोग व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र जड सुत्रवादी चरित्र भएको टिप्पणी गरे । यस्ता चरित्रले व्यक्तिमा अहङ्कार बढ्ने भन्दै उनले त्यसले अन्ततः सत्तामा पुगेपछि राजनीतिक सङ्कट देखिने धारणा राखे । कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सबैले आ–आफ्ना ठाउँबाट भूमिका खेल्न नेपालले आग्रह गरे ।
समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पनि एकताका लागि पहल भइरहेको भन्दै नेपालले अन्य पार्टीसँग एकता हुनुअगाडि पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउन भूमिका खेल्न आग्रह गरे ।
छिन्नभिन्न वामपन्थी ध्रुवीकरण गरी पार्टी निर्माण गर्न यो एकताले जबरजस्त सन्देश दिएको धारणा राखे ।२०७५ सालमा एमाले र माओवादी मिलेर कम्युनिस्ट आन्दोलन एकताबद्ध भएपनि दक्षिणपन्थी अवसरवाद हाबी भएका कारण मुलुकमा राजनीतिक सङ्कट गहिरिँदै गएको खनालले बताए ।
‘२०७५ सालमा नेकपा एकताबद्ध भयो । वामपन्थीले दुई तिहाइ मत प्राप्त गर्यो । तर वामपन्थी सरकारले क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, गरिबी निवारण बिर्सियो’, उनले भने, ‘देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत भयो । नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक सङ्कटमा फसेको छ ।’
राष्ट्रिय राजनीतिमा ढुलमुले र अस्थिर नेताका रूपमा परिचित रहेका गौतम हक्की स्वभावका मानिन्छन् । तत्कालीन एमालेभित्र ५० को दशकसम्म प्रभावशाली नेताको छवि बनाएका गौतमलाई बोलीको खास ठेगान नभएको नेताका रूपमा चिन्नेहरू पनि कम छैनन् । गत वर्ष पुसमा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने सहमति गरेका उनले एक महिना बिचमा एमालेका अध्यक्ष ओलीसँग एकता गर्ने गरी हिमचिम बढाए ।
नाटकीय ढङ्गले दुई पार्टी बिचको एकता प्रक्रिया ढिलाइ भयो । तर एकताका लागि ओलीले कुनै चासो नदिएपछि गौतम फेरि एकीकृत समाजवादीका नेताहरूसँग संवादमा रहे ।
नेपाल र गौतमबिच निरन्तर छलफल पश्चात् असार २७ गते दुई पार्टीबिच एकता सहमतिमा हस्ताक्षर भयो । गौतमलाई एकीकृत समाजवादीको तेस्रो वरियताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण