शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लेटर फ्रम जेल’ मार्फत जब बिजुक्छेले सम्झिए जेल जीवन

शनिबार, ०३ साउन २०८२, २२ : ०७
शनिबार, ०३ साउन २०८२

सारांश

  • नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको जेल जीवनमा लेखिएका चिठीहरूको अङ्ग्रेजी संस्करणबारे समीक्षा गरिएको छ।
  • २०४५ सालमा १८ महिना जेल परेका बिजुक्छेले लेखेका चिठीहरू १० वर्षअघि प्रकाशित भएका थिए, जसको अंग्रेजी संस्करण हालै सार्वजनिक भयो।
  • कार्यक्रममा बिजुक्छेले साहित्य समाजको ऐना भएको बताउँदै प्रगतिशील साहित्य लेखनलाई पछिल्लो पुस्ताले अँगाल्नुपर्ने कुरामा जोड दिए।

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा आफ्नो जेल जीवनमा लिखित चिठीहरूको सँगालोको अङ्ग्रेजी संस्करण ‘लेटर फ्रम जेल’माथि वरिष्ठ साहित्यकार, लेखक एवं राजनीतिज्ञहरूले तत्कालीन राजनीतिक परिदृश्यको बारेमा समीक्षा गरेका छन् । 

पञ्चायतकालमा २०४५ सालदेखि १८ महिना जेल परेका बिजुक्छेले पत्नी शोभालाई लेख्नुभएको दुई दर्जन चिठीको सङ्गालो ‘जेलका चिठ्ठीहरू’ पुस्तक १० वर्षअघि प्रकाशित भएको थियो । सोही पुस्तकलाई अङ्ग्रेजी संस्करणमा ‘लेटर फ्रम जेल’ प्रकाशित गरिएको छ । 

कार्यक्रममा अध्यक्ष बिजुक्छेले साहित्य समाजको ऐना भएको बताउँदै देश र जनताको हितका लागि प्रगतिशील साहित्य लेखनलाई पछिल्लो पुस्ताले अङ्गाल्नुपर्ने बताए । उनले देश र समाजका लागि काम गर्ने मानिसलाई दुःख दिने प्रयास धेरै ठाउँबाट हुने भएकाले त्यसबाट आत्तिन नहुने बताउँदै २०४५ सालमा भक्तपुर काण्डपछि पञ्चायती व्यवस्थाका शासकले पक्राउ गरेर यातना दिएको स्मरण गरे ।

तत्कालीन व्यवस्थाले दिएका यातनालाई स्मरण गर्दै बिजुक्छेले भने, ‘म लगायत दर्जनौँ कार्यकर्तालाई तत्कालीन शासकले जेलमा हाले । धेरै साथी भाग्नु पर्दा भक्तपुरका घरघरमा केटाकेटी र बुढाबुढी बाहेक कोही बस्न सक्ने अवस्था थिएन । मैले जेल जीवन बिताइरहँदा मेरो घरको हालचाल बुझ्न दुई जना गएका थिए, उनीहरूले पनि प्रशासनबाट सास्ती व्यहोर्नुपर्यो ।”

जेलमा बस्दा आफ्नो घरपरिवार, पार्टी र समाजसँग जोडेर श्रीमतीका नाममा लेखेको चिठ्ठीहरूले देश र समाजको हितमा लाग्ने युवापुस्तालाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे । बिजुक्छे २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा रिहा भएका थिए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, योगेन्द्रमान बिजुक्छे, बिजुक्छेका जेठा छोरा डा.सुवेगमान बिजुक्छेले ‘जेलका चिठ्ठीहरू’ अध्यक्ष बिजुक्छेले जेलमा रहँदा पनि जनता, पार्टी, कार्यकर्ता र परिवारप्रति देखाएको प्रेम, समर्पण र मार्गनिर्देशनलाई यथार्थपरक ढङ्गले पस्किएको चर्चा गरे ।

वरिष्ठ कवि नरेन्द्र प्रसाइँ, वरिष्ठ कवियत्री इन्दिरा प्रसाइँ, समीक्षक अभय श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्र, ख्वप अस्पतालका निमित्त निर्देशक डा.मनोजप्रताप मल्ल, सहप्राध्यापक शशी कसपाल, सहप्राध्यापक नवराज बुढाथोकीलगायतले बिजुक्छेको पुस्तकमा जेलभित्र गरेको सङ्घर्षसँगै जीवन, समाज, भक्तपुरको कला संस्कृति, राजनीति, दर्शनलगायत सन्दर्भको चर्चा गरिएको बताए ।

अनुवादक अनुराज जोशीले नेपालीमा प्रकाशित भएको उक्त पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए । श्रीमती शोभाको निधन भएको तीन वर्षपछि बिजुक्छेले अङ्ग्रेजी संस्करणमा पुस्तक सार्वजनिक गरेका छन् । पुस्तकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने लक्ष्य रहेको प्रकाशकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप