शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चार स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ

आइतबार, ०४ साउन २०८२, १५ : १६
आइतबार, ०४ साउन २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयले एक महिना बितिसक्दा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गर्न सकेको छैन।
  • उपकुलपतिका लागि ५५ वटा आवेदन परेकोमा वास्तविक आवेदकको संख्या ४५ रहेको छ।
  • स्वास्थ्य मन्त्रीको संयोजकत्वमा गठित सर्च कमिटीले उपकुलपति छनोट गरिरहेको छ, र छिट्टै सिफारिस गर्ने बताएको छ।

काठमाडौँ । एक महिना बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गर्न सकेको छैन । 

नेतृत्वविहीन भएका चार वटा प्रष्तिठानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको संयोजकत्वमा जेठको दोस्रो साता सर्च कमिटी गठन गरेको थियो । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाअघि ४ असारमा उपकुलपतिका लागि आवेदन माग गरिएको थियो । 

प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि आवेदन माग गरेकोमा कुल ५५ वटा आवेदन परेका छन् । यद्यपि दोहोरो आवेदन पनि परेकाले वास्तविक आवेदकको संख्या भने ४५ छ । दुई जनाले चार वटै प्रतिष्ठानमा र अन्य चार जनाले दुई–दुई वटा प्रतिष्ठानमा आवेदन दिएका हुन् । 

मन्त्री पौडेलको संयोजकत्व रहेको सर्च कमिटीमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य रहेका छन् । 

निमित्तको भरमा चलिरहेको प्रतिठानलाई महिना दिन बितिसक्दा उपकुलपति नियुक्तिमा स्वास्थ्य मन्त्रालयले ढिलाइ गरेको छ । उपकुलपति सिफारिस समितिका सदस्य तथा स्वास्थ्य सचिव देवकोटाले आवेदकहरूको विवरण संकलन र छनोट भइरहेको बताएका छन् । उनले भने, ‘चाँडै चार प्रतिष्ठानका लागि उपकुलपति सिफारिस गछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप