बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

आइतबार, ०४ साउन २०८२, २१ : २३
आइतबार, ०४ साउन २०८२

सारांश

  • यस वर्षको साउने सोमबारमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई निःशुल्क बस सेवा उपलब्ध गराइने भएको छ।
  • साउन ५ गते पहिलो सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन्।
  • पशुपति क्षेत्रमा साउने सोमबारको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, पानी र प्रसाद वितरणको व्यवस्था मिलाइने भएको छ।

काठमाडौँ । यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज यहाँ भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताएका हुन् । धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन ५ गते पहिलो सोमबारदेखि यस्तो सुविधा दिन लागिएको उनले जानकारी दिए ।

सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको सदस्य सचिव जोशीले बताए ।  

‘पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइनेछ । साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन्’, उनले भने ।   

मूल मन्दिरमा भीड नहुने गरी कोषले यस वर्षको साउने सोमबारको दर्शनको व्यवस्था मिलाइने जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ राख्ने छ । 

साउने सोमबारको सुव्यवस्थाका लागि कोषले सञ्चालक परिषद् सदस्यलाई पनि बिहान ३ः०० बजेदेखि नै परिचालन गर्नेछ । त्यस अवसरमा कोषले पशुपतिनाथ मन्दिरमा रु सात हजार ५०० भन्दा माथिका मात्र विशेष पूजा गर्ने जनाएको छ । 

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, पानी एवं प्रसाद वितरणको व्यवस्था मिलाइएको छ । यहाँ सुरक्षाका लागि प्रहरी वृत्त गौशालालाई जिम्मा दिइएको छ । 

छलफलमा समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले साउने सोमबारलगायत ठूला पर्वमा पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकारलाई सहज रूपमा सूचना दिने र  पशुपति क्षेत्रमा ‘मिडिया सेन्टर’ को व्यवस्था गर्न माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप