शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य बिमा

मन्त्रालयले किन सच्यायो स्वास्थ्य बिमा प्रथम सेवाबिन्दुको निर्णय ?

सोमबार, ०५ साउन २०८२, १८ : ३७
सोमबार, ०५ साउन २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयले विशिष्टिकृत अस्पताललाई रिफरल सेन्टर बनाउन निर्देशन दिएपछि स्वास्थ्यकर्मी र स्थानीय सरकारले विरोध जनाए।
  • स्वास्थ्य बिमा बोर्डले निर्णय सच्याउँदै १३ अस्पताललाई ३ महिनाका लागि प्रथम सेवाबिन्दुको रूपमा काम गर्न अनुमति दियो।
  • पूर्व स्वास्थ्य सचिवले विशिष्टिकृत अस्पताललाई प्रथम सेवाबिन्दु तोक्न नहुने र स्वास्थ्य बीमा कार्यक्रममा पुनर्विचार आवश्यक रहेको बताए।

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय विशिष्टीकृत सेवा दिने अस्पताललाई रिफरल सेन्टरको रूपमा काम गर्ने गरी निर्देशन दिन स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गर्‍यो ।

सोही आधारमा बोर्डले १ साउनदेखि प्रथम सेवाबिन्दुको रूपमा सेवा प्रवाह गरेका केन्द्रीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विशिष्टीकृत अस्पताल गरी २७ अस्पताललाई रिफरल सेवा दिन भनेको थियो । 

तर केही अस्पताल र प्रतिष्ठानलाई प्रथम सेवाबिन्दुबाट हटाइएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीले आपत्ति जनाएका छन् ।

संघीय सरकार मातहतको विराटनगरस्थित कोशी अस्पताललाई बोर्डले प्रथम सेवाबिन्दुबाट हटाउने निर्णय गरेपछि स्वास्थ्यकर्मी र कर्मचारीहरुले विरोध जनाए । उक्त निर्णय तत्काल सच्याउन माग गर्दै उनीहरुले मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झामार्फत स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाए । बोर्डको निर्णयले अस्पतालको सेवामाथि नागरिकको सर्वसुलभ पहुँचमाथि हस्तक्षेप भएको उनीहरुको दाबी छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवाबिन्दुबाट हटाएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आपत्ति जनाए । उनले बोर्डलाई पत्र लेख्दै धरानका जनतालाई प्रथम सेवाबिन्दुबाट वञ्चित नबनाउन माग गरे । मेयर साम्पाङले पत्र नै सामाजिक सञ्जालमा राख्दै लेखेका छन्- 'धराने जनतालाई नहेप है । फेरि थाम्न सक्दैनौँ ।'  

यसरी २७ अस्पताललाई प्रथम सेवाबिन्दुबाट हटाउँदा सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि मन्त्री पौडेल आफ्नो निर्णय सच्याउन बाध्य भए । उनले 'स्वास्थ्य बिमाको प्रथम सेवाबिन्दु हट्दा नागरिकलाई कठिनाइ परेको महसुस गरी अप्ठ्यारफ पर्ने स्थानहरुमा केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम सेवाबिन्दु कायमै रहने गरी व्यवस्था मिलाएको' सामाजिक सञ्जालमार्फत जनाए ।

स्वास्थ्य बिमा बोर्डले मन्त्रालयको पत्रअनुसार अघिल्लो निर्णय सच्याउँदै १३ अस्पताललाई प्रथम सेवाबिन्दुको रूपमा काम गर्न निर्देशन दिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार केन्द्रीय, प्रतिष्ठान र विशिष्टीकृत १३ अस्पतललाई तीन महिनाका लागि मात्रै प्रथम सेवाबिन्दुको रूपमा काम गर्न अनुमति दिएको बताए । 

काठमाडौं उपत्यकाबाहेक सात प्रदेशका १३ अस्पताललाई उक्त सेवा प्रवाह गर्ने अनुमति दिइएको हो । 

‘काठमाडौं महानगरमा मात्रै प्रथम सेवाबिन्दु पाँच स्थानबाट दिइन्छ । त्यसैले उपत्यका बाहिर केन्द्रीय अस्पतालबाट प्रथम सेवाबिन्दुको सेवा प्रवाह गर्न सुरु गरिएको हो,’ सूचना अधिकारी मल्लले भने । 

बोर्डले स्थानीय तहअन्तर्गत कुन-कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बिमाको प्रथम सेवाबिन्दु आवश्यक पर्ने र त्यसका लागि आवश्यक मापदण्ड कति समयमा पूरा गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी गराउन भनेको छ । यद्यपि, स्वास्थ्य सेवा ऐन २०७४ को प्रथम संशोधन-२०८२ को दफा ९ उपदफा ६ बमोजिम स्थानीय तहमा प्रथम सेवाबिन्दु दिइनुपर्ने व्यवस्था छ । 

यी हुन् प्रथम सेवाबिन्दु प्रवाह गर्ने १३ अस्पताल

कोशी प्रदेश :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर

मधेश प्रदेश : नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज

बागमती प्रदेश : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिवतन, भरतपुर अस्पताल चितवन

गण्डकी प्रदेश : पश्चिम क्षेत्रीय अस्पताल पोखरा, जीपी कोइराला एनसीआर अस्पताल तनहुँ

लुम्बिनी प्रदेश : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही

कर्णाली प्रदेश : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला

सुदूरपश्चिम प्रदेश : डडेलधुरा अस्पताल  

'हब अस्पताललाई प्रथम सेवाबिन्दु तोक्नै हुँदैन'  

विशिष्टीकृत सेवा दिने केन्द्रीय अस्पताललाई प्रथम सेवाबिन्दु तोक्न नहुने पूर्वस्वास्थ्य सचिव तथा स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष सेनेन्द्रराज उप्रेती बताउँछन् । बोर्डले राजनीतिक प्रभावमा केही व्यक्तिका फाइदाका लागि र अस्पताल चलाउनका लागि 'हब' अस्पताललाई प्रथम सेवाबिन्दु प्रवाह गराउन निर्देशन दिएको डा. उप्रेतीको आरोप छ । 

केही ठूला स्वास्थ्य संस्थाले प्रथम सेवाबिन्दु प्रवाहमा आर्थिक लाभका कारण विरोध गरे पनि व्यावहारिक  रूपमा सकारात्मक भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । प्रथम सेवाबिन्दु स्थानीय तहका स्वास्थ्य संस्थाबाट उपलब्ध गराउन सकिने उनको भनाइ छ । संघीय,  प्रदेश, जिल्ला र स्थानीय तहले प्रथम सेवाबिन्दुलाई गुणस्तरीय र व्यवस्थित बनाउन प्रयास नगरेको उनी बताउँछन् । 

‘वीर अस्पताल भनेको विशिष्टीकृत सेवा दिने स्थान हो । त्यहाँ प्रथम सेवाबिन्दु लिनेको लर्को लागेपछि  विशिष्टीकृत सेवा प्रभावित हुन्छ,' उनले भने, 'प्रथम सेवाबिन्दु दिनका लागि हब अस्पतालहरूमा अल्झिएर नै पित्तथैली लगायतका अन्यको अंगको शल्यक्रिया गर्न ६ महिना एक वर्ष कुर्नुपर्ने अवस्था आएको हो ।’ 

आधारभूत सेवा आवश्यक पर्ने बिरामी विशिष्टीकृत अस्पतालमा लाइनमा बस्दा समस्या आएको उनी बताउँछन् । विशिष्टीकृत अस्पतालमा आईसीयू राखेर उपचार गर्नुपर्ने, शल्यक्रिया गर्नुपर्ने बिरामी जानुपर्नेमा रुघाखोकी ज्वरो, पखाला जस्ता समस्या लिएर बिरामी पुग्दा समस्या भइरहेको उनको तर्क छ । 

विभिन्न अध्ययनले ८० प्रतिशतभन्दा बढी स्वास्थ्य समस्या प्रथम सेवाबिन्दुबाटै समाधान हुनुपर्ने औंल्याएका छन् । १५ प्रतिशत बिरामीको उपचार प्रदेश तहको अस्पतालमै समाधान हुन्छ भने पाँच प्रतिशतको मात्रै विशिष्टीकृत अस्पतालमा रिफर लिनुपर्ने हुन्छ । 

‘पहिला प्रथम सेवाबिन्दुबाट सेवा लिएर उपचार सम्भव नभएको खण्डमा रिफरल लिएर मात्रै ठुला अस्पतालमा जानुपर्छ,' पूर्वसचिव उप्रेती भन्छन्, 'प्रथम सेवाबिन्दु भनेको विशिष्टीकृत सेवा दिने अस्पतालहरूको भिडभाड हटाउनु पनि हो । मलाई सानो दाग भएको छ भने ठुलो अस्पताल आवश्यकता पर्दैन, स्थानीय स्वास्थ्य केन्द्रमै उपचार गर्न सकिन्छ ।’

बोर्डका सूचना अधिकारी मल्लका अनुसार स्वास्थ्य बिमा बोर्डबाट रिफरल सेन्टरको सेवा प्रवाह गर्न मात्रै बोर्डसँग सम्झौता गरिएको थियो । यद्यपि, ती अस्पतालहरूले प्रथम सेवाबिन्दुको सेवा प्रवाह गर्दै आएका थिए । हाल बोर्डबाट प्रथम सेवाबिन्दु प्रवाह गर्न देशभरका ३७७ वटा स्वास्थ्य संस्थाले स्वीकृति पाएका छन् । ९८ वटा रिफरल अस्पताल गरी ४७५ अस्पताल तथा स्वास्थ्य केन्द्र छन् । 

स्वास्थ्य बिमा कार्यक्रममा पुनर्विचार जरुरी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा कार्यक्रममा पुनर्विचारको आवश्यकता रहेको बताएका छन् । त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमाका नाममा दुरुपयोग हुने गरेको दाबी गरे । स्वास्थ्य बिमा कार्यक्रमको औचित्य पुष्टि गर्न पुनरावलोकन जरुरी रहेको प्रधानमन्त्री ओलीले बताए । 

उता स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष उप्रेती स्वास्थ्य बीमा कार्यक्रम ‘प्यारालाइसिस’को अवस्थामा सञ्चालन भइरहेको बताउँछन् । 

‘स्वास्थ्य बिमा बोर्डले यही गतिमा कार्यक्रम लागु गरे धान्न सकिँदैन,’ उनले भने, ‘बोर्ड धरासायी बनाउन केही व्यक्ति लागिपरेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप