पूर्वराष्ट्रपति दलगत राजनीतिमा फर्कनु गणतन्त्रको संस्कार र पद्धति होइन : नीरज आचार्य
सारांश
- एमाले नेता नीरज आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने विषयलाई कानुनी, राजनीतिक र नैतिक प्रश्नको रूपमा उठाए।
- आचार्यले गणतन्त्रमा राष्ट्रपतिको पदको गरिमा र पूर्वराष्ट्रपतिले दलगत राजनीतिमा फर्किनुलाई संस्कार र पद्धतिको विपरित भएको बताए।
- उनले विधान संशोधनबारे धारणा राख्दै गैर-भौगोलिक क्षेत्रको कामको तरिकामा परिवर्तन र पार्टीलाई नयाँ उचाइमा पुर्याउने नेतृत्वलाई रोक्न नहुने विचार व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य नीरज आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने विषय कानुनीमात्र नभएर राजनीतिक र नैतिक प्रश्न भएको बताएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा विधान संशोधनमाथि छलफलका क्रममा नेता आचार्यले पूर्वराष्ट्रपति राजनीतिक दल विशेषको सक्रिय भूमिकामा फर्कने विषय बहसको केन्द्रमा रहेको भन्दै उक्त विषय कानुनी रूपमा हेर्दा, अरू कुनै नागरिक जस्तै राजनीति गर्ने अधिकार देखिए पनि त्यो केवल कानुनी प्रश्न मात्र नभएको बताए ।
‘हामीले अवलम्बन गरेको गणतन्त्रमा राष्ट्रपतिको पद केवल कर्मकाण्डी औपचारिकता मात्र होइन—यो गणतन्त्रको गौरवको प्रतीक हो, सिङ्गो राजनीतिक प्रणालीको गजुर हो’, आचार्यले भनेका छन्, ‘कुनै पनि व्यक्ति त्यस शिखरमा पुगी फेरी ओर्लिएर पुनः दलगत राजनीतिमा फर्कनु गणतन्त्रको संस्कार र पद्धति हैन ।’
जर्मनी, भारत वा इटाली जस्ता देशमा पनि पूर्व राष्ट्रपतिहरूले प्रायः निष्कलङ्क, तटस्थ र गरिमामय सार्वजनिक जीवन रोज्ने गरेको उदाहरण दिँदै आचार्यले एमाले जस्तो जिम्मेवार दलले यसबारे स्पष्ट निर्णय लिनुपर्ने बताएका छन् ।
‘प्रणाली बलियो बनाउने हो भने यस्तो विषयमा अलमल होइन, स्पष्ट किटानीका साथ निर्णय गरेर अगाडी बढ्नु पर्छ’, आचार्यको भनाइ छ ।
उनले पार्टी विधानको धारा ६४ को सन्दर्भमा उमेरले क्रान्ति नगर्ने भन्दै सहि विचार, दृष्टिकोण, पहलकदमी र सक्रियताले क्रान्ति सम्भव रहेको बताएका छन् ।
‘राजनीतिमा उमेर हद यो कुनै सिद्धान्तको विषय हैन । राजनीतिलाई अगाडि बढाउन विधान बनाएर आवश्यक प्रबन्ध गरिन्छ । विधानमा के राख्ने के नराख्ने कुरा तत्कालीन राजनीतिक अवस्थाले निर्धारण गर्दछ’, आचार्यको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हिजो एउटा सन्दर्भमा राखियो आजको अवस्थामा हाम्रो पार्टीमा उमेर हद लगाउनु पर्ने कुनै बस्तुगत कारण र आवश्यकता छैन । ’
उनले जसको नेतृत्वमा पार्टीलाई नयाँ उचाइमा पुर्याउने सोच राखिएको हो त्यही नेतृत्वलाई विधानको प्रपञ्चले रोक्न खोज्नु जायज नहुने बताएका छन् ।
विधान संशोधनका सवालमा आचार्यले गैर–भौगोलिक क्षेत्रको कामको तरिकामा परिवर्तन आवश्यक ठान्दै माथिबाट सम्पर्क कमिटी नबनाएर तलबाटै बनाउनुपर्ने धारणा राखेका छन् ।
‘प्रदेश, जिल्ला र पालिकाले सम्पर्क कमिटी बनाउने र तत् तत् कमिटीले इन्चार्ज तोक्ने र इन्चार्जहरूले सम्बन्धित पार्टी कमिटीमा रिपोट गर्ने सुल्टो तरिका हुन्छ । सम्बन्धित भूगोलका कमिटीहरूले सहरमा सम्पर्क कमिटी बनाउने, आफ्ना मतदाताको सुची बनाउने र निर्वाचनमा समेत परिचालनको योजना बनाउनु पर्दछ’, आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारामा यसरी समेटियो बागमती सरकारको बजेट
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, बल्ल सुरु भयो मन्त्रिपरिषद् बैठक
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण