शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिशुलाई घ्यारघ्यार भए के गर्ने ?

बुधबार, ०७ साउन २०८२, १३ : ४६
बुधबार, ०७ साउन २०८२

सारांश

  • शिशुमा घ्यारघ्यारको समस्या वर्षायाममा बढ्ने र यसको समाधानका उपायहरू बारे जानकारी दिइएको छ।
  • नवजात शिशुमा देखिने पहेंलोपना र कोलिकको समस्या, तिनका कारण र समाधानका उपायहरू उल्लेख गरिएको छ।
  • शिशुलाई पाउडर लगाउँदा हुने समस्या र कुन अवस्थामा अस्पताल लैजानुपर्छ भन्नेबारे चिकित्सकको सल्लाह दिइएको छ।

घ्यारघ्यारको समस्याबाट नवजात शिशु धेरै प्रताडित भइरहेका हुन्छन् । अझ वर्षायाममा रुघाखोकी धेरै लाग्ने हुँदा घ्यारघ्यारको समस्या प्राय: शिशुलाई हुन्छ । 

नवजात शिशुको नाक र घाँटीको नली धेरै साँघुरो हुन्छ । त्यसमाथि सिंगान सुकेर नाकमा बसेको छ भने झनै साँघुरिन्छ । 

शिशुले राम्रोसँग थुक, र्‍याल निल्न नसक्दा त्यो मुख वा घाँटीमा जम्मा भएर पनि घ्यारघ्यार हुन्छ । यदि यस्तो भएमा सलाइन ड्रप नाकमा हालेर कपासले सफा गरिदिनुपर्छ । तब मात्र घ्यारघ्यार कम भएर जान्छ ।

यस्तै, यस्तो बेला बच्चालई काँधमा राखेर पिठ्युँमा थपथपाउने भने मुख र घाँटीमा जमेको र्‍याल पेटतिर जान्छ र घ्यारघ्यार कम हुन्छ । यति गर्दा सामान्य कारणले घ्यारघ्यार भएको रहेछ भने हराएर जान्छ । तर शिशुले छिटोछिटो सास फेरेको छ, कोखा हानेको छ, सास फेर्दा छाती वा घाँटीमा खाल्डो देखिएको छ भने र सँगै ज्वरो छ भने तत्कालै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।  

नवजात शिशु किन पहेंलो देखिन्छन् ?

जन्मेको २४ घण्टापछि नवजात शिशुहरु अलि–अलि पहेंलो देखिनु सामान्य हो, जसलाई फिजियोलोजिकल जण्डिस भनिन्छ । समय पुगेर जन्मिएको बच्चामा दुई हप्ताभित्र र समय नपुगी जन्मिएका बच्चामा यस्तो पहेंलो तीन हप्ताभित्र हराएर जान्छ । तर जन्मिएको २४ घण्टाभित्रै पहेंलो देखिएको छ र कुनै पनि बेला पैताला र हत्केला नै पहेंलो देखियो भने बच्चालाई नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । 

त्यसपछि बच्चाको शरीर पहेंलो गराउने तत्व बिलिरुविन मापन गरी फोटोथेरापीमार्फत् सजिलै निको पार्न सकिन्छ । तर हेलेचेक्र्याइँ गरी स्वास्थ्यकर्मीकहाँ लैजान ढिला गरियो वा लगिएन भने बिलिरुबिन मष्तिष्कसम्म पुगी हानि पुर्‍याउन सक्छ । जसले बच्चामा अपाङ्गताको समस्या निम्त्याउन सक्छ । 

शिशु स्वस्थ देखिए पनि बारम्बार रुने समस्या

शिशु सबै दृष्टिले स्वस्थ छ, दूध राम्रोसँग चुसेको छ, ज्वरो छैन, दिसापिसाब पनि सामान्य नै छ, तर अचानक फकाउनै नसक्ने गरी दिनको तीन घण्टाभन्दा बढी रुन थालेमा यो कोलिक पनि हुनसक्छ । यस्तो रुवाइ हप्ताको तीन दिनभन्दा बढी वा लगातार तीन हप्ताभन्दा बढी पनि हुनसक्छ । 

यस्तो समस्या शिशु जन्मिएको तीनदेखि चार हप्तादेखि सुरु हुन्छ भने ६ महिनापछि हराएर जान्छ । यस्तो समस्यामा बच्चा धेरैजसो साँझपख र राति बढी रुन्छ । यस्तो अवस्थामा बच्चाको पेट दह्रो भएर आउँछ, बच्चाले खुट्टा तन्काउँछ र अनुहार पनि रातो हुन्छ । यो समस्यामा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ ।

कोलिक हुनुको एउटा कारण बच्चाको पेटमा ग्यास हुनु हो । यस्तो नहोस् भनेर बच्चालाई दुध खुवाएपछि काँधमा राखेर उसको पिठ्युँमा थपथपाइदिनुपर्छ । आमाको दुध खुवाउँदा बच्चाको मुख आमाको स्तनमा राम्रोसँग टँसाउनुपर्छ, ताकि उसले दुध धेरै निल्न सकोस् । 
बच्चालाई धेरै र उसले खोजेभन्दा बढी खुवाउनुहुन्न । यदि पेटमा धेरै ग्यास जमेको छ भने उत्तानो पारेर उसको खुट्टालाई साइकल चलाएजस्तो गर्‍यो भने पनि ग्यास निस्किन मद्दत पुग्छ । 

कोलिकका कारण शिशु रोएमा के गर्ने ? 

बच्चालाई काँधमा राखेर उसको पिँठ्यु थपथपाउँदै खुला स्थानमा लैजानुपर्छ । आफ्नो हात उसको पेटमा राखेर गोलाकार घुमाइदिनुपर्छ, जसले गर्दा पेटको मसाज हुन्छ । यसलाई कोलिक मसाज भनिन्छ । यस्तै, बच्चालाई खाल्डाखुल्डी नभएको पक्की सडकमा एकछिन गाडीमा घुमाइदिन सकिन्छ । यस्तो गर्‍यो भने बच्चाको ध्यान अन्यत्रतिर गई रुवाइ कम हुन्छ । यसबाहेक झोलुङ्गामा हालेर हल्लाइदिने, हल्का संगीत बजाइदिनाले पनि बच्चाको ध्यान त्यतातिर गई रुन कम हुन्छ ।

पाउडर वा तेल लगाउन मिल्छ कि मिल्दैन ?

खासगरी बच्चालाई गर्मी मौसममा पाउडर दलिदिने चलन छ । तर तथ्यहरुले के देखाएका छन् भने बच्चालाई पाउडर दल्न मिल्दैन । किनभने शिशुहरुको छाला संवेदनशील हुन्छ, जसमा पाउडर दल्यो भने जलन अर्थात् इरिटेसन पैदा गर्न सक्छ । पाउडरले बच्चाहरुको पसिना आउने प्वाल टालिदिन सक्छ र पसिना निस्कँदैन । 

पसिना निस्केपछि गर्मीमा बच्चाको शरीर झन् तातो हुन्छ । यस्तो बेला पाउडर छर्किंदिने चलन छ, तर पाउडरको कण हावामा फैलिने हुँदा त्यो बच्चाको नाक र श्वासनली हुँदै फोक्सोमा पुग्छ । त्यसले शिशुको स्वास्थ्यमा थप समस्या ल्याउन सक्छ । 

तोरीको तेलले बच्चाको छालामा जलन उत्पन्न गर्ने भएकाले लगाउनै परे नरिवलको तेल लगाउन सकिन्छ ।

कस्तो अवस्थामा बच्चालाई अस्पताल पुर्‍याउने ?

-शिशुले आमाको दूध खान छाडेमा

-सुस्त भएमा अर्थात् स्वत:स्फूर्त रुपमा हातखुट्टा नचलाएमा

-आँखा सेतो पल्टाएर हात, खुट्टा या मुख असाधारण रुपमा चलाएमा

-अरु समयभन्दा छिटो–छिटो सास फेरेमा (मिनेटको ६० पटकभन्दा बढी सास फेरेमा)

-सास फेर्ने बेला कोखा हानेमा

-तापक्रम लिँदा ९६ भन्दा कम र ९९.५ डिग्री फरेनहाइटभन्दा बढी भएमा

-जन्मिएको  २४ घण्टाभित्रै शिशुको शरीर पहेंलो देखिएको छ र कुनै पनि बेला पैताला र हत्केला नै पहेंलो देखिएमा ।

(डा. मिश्र काठमाडौं थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट पेडियाट्रिसियन तथा नियोनाटोलोजिस्ट हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दीपक मिश्र
डा. दीपक मिश्र
लेखकबाट थप