‘स्काई ड्रिम’ले १० र १२ कक्षा अध्ययन सकेका बेरोजगार युवायुवतीलाई कसरी ठग्थ्यो ?
सारांश
- सुर्खेत प्रहरीले रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले स्काई ड्रिम इन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिको नाममा करोडौँ ठगी गरेको आरोप छ।
- प्रहरीले पीडितहरूलाई ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाएको थियो, र थप अनुसन्धान जारी छ।
सुर्खेत । बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले सोमबार ८ जनालाई पक्राउ ग¥यो ।
पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रबिन्द्र शाही छन् ।
त्यस्तै, कञ्चनपुरको महाकाली नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउँद र डोटी बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमालालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो ।
पक्राउ गरिएका नरेश बोहोरा ‘स्काई ड्रिम इन्टरपेनर्स प्रालि’का सञ्चालक हुन् भने बाँकी त्यही कम्पनीका व्यवस्थापक तथा कर्मचारी हुन् । उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा कार्यालय स्थापना गरी विभिन्न जिल्लाका युवायुवतीलाई ठगीको सिकार बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले रातोपाटीलाई बताए ।
उनीहरूले गाउँबाट आएका युवायुवतीसँग स्काई ड्रिम इन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका नाममा करोडौँ ठगी गरेको बुढथापा बताउँछन् । ‘उनीहरूले रोजगार दिलाइदिन्छु भनी नेटवर्क नै बनाएर ठगी धन्दा गर्दा रहेछन्,’ उनले भने, ‘कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सिप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको थियो ।’
कम्पनीको सदस्य बनेपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्य भित्र्याउन लगाइन्थ्यो । पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएबापत प्रतिव्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो ।
प्रहरीले यो धन्दाको पर्दाफास गर्न हप्तादिन भन्दा बढी नै लगाएको छ । अझै पनि गिरोहका बाँकी सदस्यको खोजी भइरहेको प्रहरी बताउँछ ।
ग्लोबल ओरियन्स नेपाल नामक कम्पनी नेटवर्किङ व्यवसायको नाममा देशका अन्य भागमा पनि विवादमा परेको देखिन्छ ।
- गाउँका युवाहरूलाई यसरी पारिन्थ्यो ठगीको जालोमा
प्रहरीका अनुसार ग्लोबल प्रालि इन्टरप्राइजेज प्रालिमार्फत स्काई ड्रिम नेटवर्क प्रालिले सुर्खेतको हकमा काम गर्ने गरी सम्झौता गरेको देखिन्छ ।
यहाँको सञ्चालकको रूपमा नरेश बोहरा रहेको र उनले यहाँ कारोबार गर्ने, कार्यालय राख्ने हिसाबले एग्रिमेन्ट गरेको प्रहरीको भनाइ छ । ग्लोबल नेटवर्कको कार्यालय काठमाडौँमा छ । काठमाडौँको कम्पनीले सुर्खेतमा काम गर्ने जिम्मा स्काई नेटवर्कलाई दिएको हो ।
त्यसपछि स्काई नेटवर्कले कर्णालीका पहाडी जिल्लाहरू दैलेख, कालिकोट, जुम्ला, बाजुरा, अछाम लगायतका ठाउँमा ‘कम्पनीमा बसेर जति मान्छे बढाउन सक्यो, त्यति रोजगारी पाइन्छ, राम्रो तलब हुन्छ’ भन्ने हिसाबले जागिरको आश्वासन देखाइन्थ्यो ।
‘सिप सिक्न र भाषा सिक्न पाइन्छ भनेर गाउँतिरका एसएलसी वा प्लस टु सकेका विद्यार्थीहरूलाई अनलाइनमार्फत, फेसबुकमार्फत वा साथीभाइमार्फत सम्पर्क गर्ने गरिन्थ्यो,’ ठगिएका युवाहरूले प्रहरीसमक्ष भनेका छन् ।
जागिर दिने प्रलोभनमा पारेर उनीहरूलाई गाउँबाट वीरेन्द्रनगरमा ल्याइन्थ्यो । प्रहरी प्रवक्ता बुढथापाका अनुसार यहाँ ल्याइसकेपछि होस्टेलजस्तो बनाएर, दुई–तीन वटा घरमा राखिँदो रहेछ ।
डीएसपी बुढथापाले भने, ‘त्यहाँ आएपछि सुरुमा विभिन्न लेबलका लागि निश्चित रकम तिर्न लगाइँदो रहेछ । पहिलो लेबलको लागि एउटा रकम, दोस्रोको लागि त्योभन्दा बढी र तेस्रो लेबलको लागि झनै ठुलो रकम तिर्नुपर्ने रहेछ । त्यो रकम तिरिसकेपछि उनीहरूले केही सामान पाए जस्तो गर्ने र क्लास तथा ओरिएन्टेसन दिने काम हुँदो रहेछ ।’
त्यसपछि उनीहरूको ब्रेनवास गर्न क्लास लिइन्थ्यो । हरेक दिन ‘यसरी मार्केटिङ गर्ने, मार्केटिङ भनेको यो हो, यसरी फाइदा हुन्छ, मान्छे यसरी तान्ने, कन्ट्याक्ट गर्ने’ भनेर क्लास दिने गरेको पाइएको डीएसपी बुढथापाले बताए । उनले भने, ‘त्यहाँ आबद्ध भइसकेपछि उनीहरूको काम भनेको अरू मान्छेलाई त्यसरी नै फसाउने हुन्थ्यो ।’
उनका अनुसार नेटवर्किङ संरचना अनुसार एउटाले अर्कोलाई र अर्कोले अर्कोलाई जोड्दै जाने प्रणाली बनाएर ठगी धन्दा चलाएको पाइएको छ । बुढथापाका अनुसार उनीहरूले त्यसलाई ‘चान्स दिने’ भन्दा रहेछन् ।
नयाँ जोडिएको व्यक्तिले पनि नयाँ मान्छे ल्याउँदा लेबलअनुसार कमिसन पाउँथ्यो । यही बहानामा अर्कोलाई फसाउन ‘राम्रो रोजगारी पाउँछस्, राम्रो जागिर छ, बसीबसी कमाइन्छ, विदेश घुम्न पाइन्छ, कार पाइन्छ’ भन्नेजस्ता सपना देखाएर फेरि उसले अर्को मान्छेलाई ठग्ने नेटवर्क बनाउँथ्यो ।
बुढथापाका अनुसार प्रहरीलाई यो सूचना आएपछि सुरुमा त पीडितहरू कोही पनि आफू ठगिएकोमा कन्भिन्स नै भएका थिएनन् । उनीहरू भन्थे, ‘हामी कहाँ ठगियौँ ? हामी त सदस्य भएका छौँ, रोजगारी पाउन लागेका छौँ, पढिराखेका छौँ, हामीले त सामान लिएको हो ।’
प्रहरीले पछि उपभोक्ता हकहित मञ्चका कर्मचारी र अरूलाई राखेर ‘कन्भिन्स’ ग¥यो । उनीहरूले पहिला पनि ‘हर्बो इन्टरनेसनल’ भन्नेले यसरी नै ठगेर गएको हो, यो पिरामिड शैलीमा नेटवर्किङ धन्दा गर्न पाइँदैन, तिमीहरूलाई माध्यम बनाएर गाउँभरिका सोझासाझा मान्छेलाई ठग्छ’ भनेर सम्झाएपछि केही दिनमा एक–दुई जना मान्छे प्रहरीमा जाहेरी दिन तयार भए ।
त्यसपछि बिस्तारै अरू पनि जाहेरी दिन तयार भए । ‘सुरुमा त कसैले निवेदन दिन मानेका थिएनन्,’ प्रहरी प्रवक्ता बुढथापाले भने, ‘केही पीडितहरूले जाहेरी दिएपछि हामीले अप्रेसन ग¥यौँ । यहाँको स्काई ड्रिमवाला सञ्चालक नरेश बोहरालगायत अफिसमा म्यानेज गर्ने, क्लास दिने, ब्रिफिङ र काउन्सिलिङ गर्ने, बैंकमा भौचर भर्ने, पैसा डिपोजिट गर्ने कर्मचारीहरू सबै अहिले नियन्त्रणमा छन् ।’
नरेश बिचमा विदेशतिर (थाइल्यान्ड) घुम्न गएका थिए । उनी वीरेन्द्रनगर फर्किने वेलासम्म प्रहरीले अन्य सूचनाहरू संकलन ग¥यो । उनी आइसकेपछि प्रहरीले कार्यालयमा छापा हान्यो ।
बुढथापाका अनुसार उनीहरूले फसाएर राखेका सबैलाई उद्धार गरेर निवेदन र डकुमेन्टहरू पनि पेस भएको छ । बाँकीको हकमा उनीहरूको आफन्तलाई खबर गरेर ठगी भएको जानकारी गराइएको छ । अझै पनि ठगिएका कतिपय मान्छे सम्पर्कमा आउन बाँकी रहेको उनले बताए । अहिलेसम्म कम्तीमा ५० जनाभन्दा बढी ठगिएको र उनीहरूबाट करोडौँ रकम उठाइसकेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
बुढथापाले भने, ‘उनीहरूले ठुलो रकम उठाइसकेका छन्, त्यो पैसा स्काई नेटवर्कमार्फत काठमाडौँको ग्लोबलमा पठाएको देखिन्छ । यो हरेक महिना ठुलो रकम उठाउँदै जाने योजना रहेछ ।’
नेटवर्कका मुख्य व्यक्तिहरूले आन्तरिक कुरा बाहिर जानसक्छ भनेर कम्पनीमा जोडिएका व्यक्तिहरूलाई एउटै ठाउँमा राख्ने गरेका थिए । दिनभरि त्यही काममा अग्रसर गराइरहन्थे ।
‘संलग्न व्यक्तिले फोन गर्ने, म्यासेज पठाउने, अनेक किसिमले अर्को मान्छेलाई कन्भिन्स गराउने काममा दिनभरिको समय लगाउँछ,’ बुढथापाले भने, ‘जो–जो अरू मान्छे भित्र्याउन सक्छन्, तिनीहरू त्यहाँ बस्छन् । नसक्नेलाई केही महिना पालेर उसलाई घर पठाइदिने र उसको पैसा डुब्ने रहेछ ।’
पैसा डुबेपछि बल्ल ‘म त ठगिएँछु’ भन्ने उसलाई फिल हुने डीएसपी बुढथापाको भनाइ छ । प्रहरीका अनुसार ठगिनेमा सुर्खेतको मान्छे एउटा पनि छैन । आफ्नै चिनेजानेको सर्कलमा नेटवर्क बनाउँदा भोलि गाउँघरमा समस्या पर्छ, हल्ला हुन्छ भन्ने डरले बाहिरको मान्छेलाई फसाउने गरिएको हुन सक्ने उनको अनुमान छ ।
यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण