बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सम्भाव्यता अध्ययन रिपोर्ट

६ अर्ब ५४ करोड लागतमा यस्तो बन्नेछ आयल निगमको एयरपोर्ट डिपो

बिहीबार, ०८ साउन २०८२, २२ : ००
बिहीबार, ०८ साउन २०८२

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि नयाँ फ्युल डिपोको डीपीआर तयार भएको छ, जसले गौचरमा निर्माण हुने डिपोको लागि विस्तृत योजना प्रदान गर्दछ।
  • नयाँ डिपोमा अत्याधुनिक प्रविधि, ठूला भण्डारण ट्याङ्क, र आपत्कालीन अवस्थाका लागि पानी ट्याङ्कहरू हुनेछन्, जसले हवाई इन्धनको आपूर्तिलाई सुरक्षित बनाउनेछ।
  • नयाँ डिपो निर्माणको लागत ६ अर्ब ५४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ, र यसले हवाई चाप धान्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न योगदान पुर्याउनेछ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण हुने नयाँ फ्युल डिपोको डीपीआर तयार भएको छ । सिनामंगलमा डिपो सार्ने प्रक्रियामा रहेको नेपाल आयल निगमले गौचरणमा बन्ने डिपोको निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन रिपोर्ट तयार गरेको हो । 

निगमले उक्त डीपीआर तयार गर्ने जिम्मा इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेस पुल्चोकलाई दिएको थियो । डीपीआर प्रतिवेदन आज सिनामंगल हवाई इन्धन डिपोमा आयोजित एक कार्यक्रमबिच हस्तान्तरण गरिएको हो । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डाक्टर सुरज लामिछानेले उक्त डीआरपी प्रतिवेदन सिनामंगल डिपोको प्रमुख यादवलाई हस्तान्तरण गरेका छन् ।

रिपोर्ट अनुसार डिजाइनअनुसार यो डिपो काठमाडौँको गौचरस्थित बागमती नदी किनारमा रहेको जग्गाको १४४ रोपनीमा निर्माण हुनेछ । यसको लागत करिब ६ अर्ब ५४ करोड रुपैयाँ रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम अगाडि बढाएको छ । चालु आव २०८२/८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार बोलपत्र आह्वान गर्ने र २ महिनाभित्रमा बोलपत्र मूल्याङ्कन लगायतका प्रक्रिया टुङ्ग्याई मङ्सिर महिनामा निर्माण कार्य सुरु गर्ने निगमका हवाई डिपो कार्यालय प्रमुख यादवले जानकारी दिए । उक्त डिपोको निर्माण दुई वर्षमा सम्पन्न हुनेछ । 

यस्तो छ नयाँ डिपोको विशेषता

नयाँ डिपोमा हवाई इन्धन भण्डारणका लागि अत्याधुनिक प्रविधियुक्त ट्याङ्कहरू निर्माण गरिनेछ। सुरुवाती चरणमा ३ हजार ८१७ किलोलिटर क्षमताका ५ वटा ठुला भण्डारण ट्याङ्क निर्माण हुनेछन् ।  यसले कुल १९ हजार ८५ किलोलिटर अर्थात् करिब १ करोड ९० लाख लिटर इन्धन भण्डारण गर्ने क्षमता राख्नेछ। भविष्यमा थप ३ वटा ट्याङ्क निर्माण गर्न मिल्ने गरी पूर्वाधार तयार पारिनेछ।

डिपोमा आगलागी जस्ता आपत्कालीन अवस्थाका लागि ३ हजार १६ किलोलिटर क्षमताका दुई वटा पानी ट्याङ्क रहनेछन् । यी ट्याङ्कले ठुलो आगलागीको अवस्थामा समेत ४ घण्टासम्म लगातार पानी आपूर्ति गर्न सक्नेछन् जनाइएको छ । 

डिपोमा इन्धन भर्ने र खन्याउने छुट्टाछुट्टै अत्याधुनिक ग्यान्ट्री, ३.५ तले प्रशासनिक भवन, प्रयोगशाला (ल्याब) भवन, सुरक्षाका लागि सैनिक बस्ने २.५ तले भवन, मर्मत सम्भार ब्लक, र ट्याङ्कर चालकहरूका लागि आराम कक्ष जस्ता सुविधाहरू हुनेछन्।

इन्धन डिपो अत्यन्त संवेदनशील हुने भएकाले सुरक्षा प्रणालीलाई उच्च प्राथमिकतामा राखिने गरी डिजाइन तयार गरिएको निगमले जनाएको छ। डिजाइनअनुसार डिपोमा अन्तर्राष्ट्रिय स्तरको ओआईएसडी र एनएफपीए मापदण्डअनुसारको सुरक्षा प्रणाली जडान हुनेछ।

520157519_1829269067629322_5139471303711538242_n

स्वचालित फोम र पानी प्रणाली 

हरेक इन्धन ट्याङ्कमा र लोडिङ अनलोडिङ क्षेत्रमा आगलागी नियन्त्रणका लागि स्वचालित फोम स्प्रे र पानीको फोहोराको प्रणाली जडान गरिनेछ । डिपोमा नियमित विद्युत् आपूर्तिका लागि २००० केभीएको ट्रान्सफर्मर रहनेछ भने विद्युत् अवरुद्ध भएको अवस्थामा तत्काल सञ्चालनका लागि १०५० केभीएको डिजेल जेनेरेटरको ब्याक अप प्रणाली रहनेछ।

यो नयाँ डिपोको निर्माण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको आपूर्ति थप सहज, सुरक्षित र भरपर्दो हुनेछ।  यसले बढ्दो हवाई चापलाई धान्न र राष्ट्रिय गौरवको विमानस्थलको सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

अहिले निगमको अन्तर्राष्ट्रिय डिपो सिनामंगलममा रहेको छ । उक्त डिपोका कारण विमानस्थलको रनवे र ट्याक्सी–वे बिच कायम गर्नुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा नभएको तथा अहिलेको स्थानमा रहेको डिपो हवाई सुरक्षाको हिसाबले समेत असुरक्षित भएको भन्दै वर्षौं अघिदेखि सार्नुपर्ने माग हुँदै आएको थियो । 

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले गौचरणमा जग्गा उपलब्ध गराएपछि नयाँ डिपो निर्माणको प्रक्रियाले गति लिएको थियो । यद्यपि स्थान तोकिए पनि जग्गा प्राप्तिको प्रक्रिया टुंगिन अझै बाँकी छ । प्राधिकरणले निगमलाई सो क्षेत्रको रुख कटान, सैनिकको सुरक्षा भवनको स्थानान्तरण तथा चार किल्ला कायम गरिदिन बाँकी रहेको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप