बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
लीलामणि पोखरेलसँग नरबहादुर कर्माचार्यबारे संवाद

‘पार्टी विधिमा चल्नुपर्छ भन्नेमा उहाँ एकदम कडा हुनुहुन्थ्यो’

शुक्रबार, ०९ साउन २०८२, १५ : ००
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • नरबहादुर कर्माचार्य नेपाली कम्युनिस्ट आन्दोलनका एक महत्वपूर्ण व्यक्ति थिए, जसको १२औँ स्मृति दिवस मनाइयो।
  • उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए र कम्युनिस्ट पार्टी विधि, पद्धति र अनुशासनमा चल्नुपर्छ भन्नेमा अडिग थिए।
  • अहिले कम्युनिस्ट आन्दोलनमा इथिक्सको अभाव भएको र कर्माचार्यको आदर्शलाई पछ्याउनुपर्ने कुरा अन्तर्वार्तामा उल्लेख छ।

काठमाडौँ । नरबहादुर कर्माचार्य नेपाली कम्युनिस्ट आन्दोलनको उपल्लो नाम हो । कम्युनिस्ट पार्टी सधैं विधि, पद्धति र अनुशासनमा चल्नुपर्छ भन्ने कुरामा उनी एकदमै ‘स्ट्रिक्ट’ थिए । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको शुक्रबार उनको १२ औँ स्मृति दिवस हो । १९८१ कात्तिक १४ गते ललितपुरको झपाटोलमा जन्मेका कर्माचार्यको २०७० साउन ९ गते निधन भएको थियो । नेकपा (चौम) हुँदै जीवनको उत्तरार्धमा उनी माओवादीको संरक्षक भूमिकामा थिए । उनको स्मृति दिवसमा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरी स्मरण गर्‍यो । 

कर्माचार्य २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्य थिए । उनी पार्टी स्थापनाकालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन सक्रिय रहे ।

कर्माचार्यलाई नैतिकवान्, विवादरहित, सादगी र वैचारिक नेताको रुपमा नेपाली राजनीतिमा चित्रण गरिन्छ । कर्माचार्यको स्मृति दिवसको सन्दर्भमा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलसँग रातोपार्टीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंशः

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यलाई कसरी स्मरण गर्न सकिन्छ ?

नेपाली कम्युनिस्ट आन्दोलनको सुरुवात गर्ने तत्कालीन युवाहरूमध्ये नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, पुष्पलाल र निरञ्जन गोविन्द वैद्य हुनुहुन्थ्यो । राणाकालमा उहाँहरूले राणाविरोधी अभियान भजनबाट सुरू गर्नुभएको थियो । भजनहरूबाट पनि त्यो सचेतना अभियान चलाउनुभएको थियो ।

राणाहरूले भजन गर्न नदिने, गिरफ्तार गर्ने देखिसकेपछि उहाँहरू भागेर बोर्डर क्रस गर्नुभयो । त्यतिबेला हिँडेरै जाने बाहेक अर्को विकल्प थिएन । झण्डै सात–आठ दिन लागेर उहाँहरू बोर्डर क्रस गरेर कलकत्ता (हाल कोलकाता) पुग्नुभएको थियो । त्यसमध्ये हाम्रो काइँला बा देवेन्द्रलाल श्रेष्ठ पनि हुनुहुन्थ्यो । तत्कालीन भारतीय कम्युनिस्ट पार्टीले गरेको तेलङ्गाना विद्रोहले उहाँहरूलाई कम्युनिस्ट पार्टी स्थापना गर्नुपर्छ भनेर अभिप्रेरित गर्‍यो । 

त्यहाँ भाइसाब भन्ने एक व्यक्ति तेलङ्गाना विद्रोहसँग जोडिएनुभएको थियो । उहाँको सम्पर्कले थप उत्प्रेरित हुनुभयो । एकातिर रुसी क्रान्ति, अर्कोतिर चीनमा भएको नयाँ जनवादी क्रान्तिको भर्खर सफलताले पनि उहाँहरूलाई उत्प्रेरित गरेको थियो । सन् १९४९ मा भारतीय कम्युनिस्ट पार्टीसँग एक किसिमको सम्बन्धले पार्टी निर्माणमा उत्प्रेरित हुनुभयो ।
अहिले एउटा पार्टी इतिहासमा संस्थापकहरू को–को थिए भन्ने कुरामा  विवाद भइरहेका छन् । मोतीदेवी पनि संस्थापक हुन् भन्नेमा विवाद छ । नेकपा स्थापना दिवस १५ सेप्टेम्बर भन्नेमा पनि विवाद छ । १५ सेप्टेम्बर  कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएको दिन हो । पार्टी स्थापना गरेको अप्रिल २२ मा हो ।

उहाँहरू चारजना बसेर कलकत्ताको बडाबजारमा पार्टी स्थापना गर्नुभयो । त्यहाँ त्यस दिन काइँला बा देवेन्द्रलाल श्रेष्ठ जाँच दिन जानुभएको थियो । मोतीदेवी त्यहाँ हुनुहुन्थेन । पुष्ललाल, कर्माचार्य, जोशी र वैद्य बसेर पार्टी स्थापनाको पहिलो माइन्युट तयार पार्नुभयो । पहिलो बैठक त्यहाँ नबसेर हुगली पारिपट्टि एउटा ठूलो बरको बोटमुनि बस्यो । त्यो बरको बोट अहिले पनि छ ।

स्थापना पछाडि उहाँहरूले विभिन्न क्षेत्रमा जिम्मेवारी लिएर नेपालै फर्किनुभयो । नेपालको सबभन्दा पुरानो जुटमिल विराटनगर जुटमिल र रघुपति जुटमिल हो । त्यहाँ जुटमिलका मजदुरहरू अर्गनाइज गर्नका निम्ति भनेर मजदुर संगठनको जिम्मेवारी नरबहादुर कर्माचार्यले लिनुभएको थियो । सुरूवातको ट्रेड युनियनको संस्थापकको रूपमा उहाँले काम गर्नुभयो ।

त्योभन्दा पछिल्लो चरणमा पार्टी निर्माणका क्रममा २००८ सालदेखि २०१७ सालसम्मको भूमिकामा निर्वाह गर्नुभयो । उहाँ एकपटक ललितपुरको कार्यकारिणीले निर्वाचित गर्ने मेयर पनि हुनुभएको थियो । पहिलो मेयर हुनुहुन्छ उहाँ । त्यतिबेला जनताले प्रत्यक्ष निर्वाचित गर्दैनथे । समिति निर्वाचित गर्ने, समिति सदस्यहरूमध्येबाट मेयर निर्वाचित गर्थे । 

मलाई लाग्छ, २०१८ सालतिर होला उहाँ मेयर पनि बन्नुभएको थियो । त्यसपछि उहाँ केही समय भूमिगत रहनुभयो । पछिल्लो चरणमा भूमिगत नभएर उही सामाजिक कार्यमा संलग्न हुनुभयो । पार्टीसँग सम्बद्ध त रह्यो, तर सामाजिक कार्यमा संलग्न हुनुभएको थियो । तेस्रो महाधिवेशनको बेलामा नेकपा छिन्नभिन्न भयो । पार्टी छिन्नभिन्न भइसके पछाडि उहाँ पाटनको एउटा समूहसँग सम्बद्ध हुनुहुन्थ्यो । 

२०३१ सालमा चौथो महाधिवेशनपछि उहाँ त्यसमा जोडिनुभयो । नेकपा चौम (चौथो महाधिवेशन)को धारबाट क्रियाशील हुँदै आउनुभयो । जनयुद्धकालमा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौम)मा रहनुभयो । तर नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न सुदृढ गर्नुपर्छ भन्ने कुरामा जहिले पनि रहनुहुन्थ्यो ।

जनयुद्धप्रति उहाँको मोरल सपोर्ट थियो । हामी पनि सबै जनयुद्धमा सहभागी नभए पनि मोरल सपोर्टमा थियौं । अहिले नै जनयुद्ध सुरू गर्ने कि जनआन्दोलन विकसित गरेर जनविद्रोहमा रूपान्तरण गर्ने भन्ने कुराको विवाद थियो । तत्कालीन चौथो महाधिवेशन पछाडि बनेको एकता केन्द्र हुँदाखेरि विवाद थियो । निर्मल लामाले नेतृत्वमा नेकपा (पुर्नगठन) भएपछि उहाँ लाग्नुभयो । अर्कोतिर जनयुद्धमा भएका बलिदानहरू, जनयुद्धप्रति सकारात्मक समर्थन छँदै थियो ।

स्वर्गीय नरबहादुर कर्माचार्य

नेकपाका संस्थापकमध्ये नारायणविलास जोशी र निरञ्जन गोविन्द वैद्य कता जानुभयो ?

उहाँ तेस्रो महाधिवेशनसम्म हुनुहुन्थ्यो । २०१७ सालमा पार्टी प्रतिबन्धित भइसकेपछि एकथरी राजाको वैधानिक नायकत्व स्वीकार गरेर गए । तत्कालीन राजा महेन्द्रको कदमलाई केशरजंग रायमाझीहरूले समर्थन गरे । त्यो खेमामा कृष्णराज बर्मा, मानन्धरजीहरू सँगै हुनुहुन्थ्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा रुस र चीनको विवाद आइसकेपछि एकथरी रुसी समर्थक बने । रायमाझी, बर्मा र मानन्धरजी लाग्नुभयो । अरु रुसी संशोधनवाद विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीले गरेको संघर्षलाई समर्थन गरे । त्यसले नेपालमा पनि विभाजनको स्थिति बन्यो । लिडरसिपमा आउने सन्दर्भमा पनि अलि गञ्जागोल हुने स्थिति थियो ।

जोशीजी पञ्चायती व्यवस्था लागु भइसकेपछि त्यता सामेल हुनुभयो । भूमिसुधार अधिकारी पनि हुनुभएको थियो उहाँ । त्यसपछि उहाँसँगको सम्बन्ध सबै टुट्ने भइहाल्यो । निरञ्जन गोविन्द वैद्य पार्टीको सांगठनिक संरचनाभित्र त रहनुभएन, तर उहाँले भोटाहिटीमा एउटा पुस्तक पसल राखेर बस्नुभयो । त्यो पसलमा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले सहयोगका निम्ति दिएका पुस्तक राख्नुभयो । पार्टी विभाजन भइसकेपछि त्यो कसको स्वामित्व भन्ने कुरा नै भएन । त्यतिबेला उहाँले प्रगतिशील पुस्तकहरू राखेर एउटा योगदान दिनुभयो । प्रगतिशील पुस्तकहरू खोज्न जानुपर्‍यो भने वैद्यकहाँ गएर हामीलाई देशव्यापी रुपमा पुस्तकको प्रचार गर्ने एउटा माध्यम पनि बनेको थियो ।

मोतीदेवी यतापट्टिको धारमा सम्पर्कमा रहनुभएन । उहाँ पुष्पलालसँग अलिकति नजिक हुनुभयो । पुष्पलालजी बितिसकेपछि पुष्पलाल समूह समेत विघटन भए ।

फाइल तस्बिर

नरबहादुर कर्माचार्यको आदर्शलाई कसरी बुझ्ने ?

उहाँले जीवनभर कम्युनिस्ट पार्टी, कम्युनिस्ट आन्दोलनका निम्ति आफूलाई समर्पित गर्नुभयो । जीवनभर विवाह पनि गर्नुभएन ।

खास कारण के थियो ?

उहाँको त्यतिबेला एक महिलासँग प्रेम थियो । तर पार्टीले उनीसँग विवाह नगर भनेपछि उहाँले त्याग्नुभयो ।

ती महिला पार्टीबाहिरको भएर हो ? 

पार्टी बाहिरको जस्तै हो । पार्टीमा त्यस्तो डेडिकेटेड होइन । पार्टी संस्थापकले पार्टीका डेडिकेटेड मात्रै बिहे गर्नुपर्छ अन्यथा गर्नु हुँदैन भन्ने मान्यता राखेका थिए ।

अहिले कम्युनिस्ट आन्दोलनका नेतृत्वप्रति वितृष्णा फैलिरहेको छ । पटक-पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्दा समेत भ्रष्टाचार बढिरहेको छ । नरबहादुर कर्माचार्यको अभावले कम्युनिस्ट आन्दोलनलाई कस्तो प्रभाव परेको छ ?

उहाँ पार्टीभित्र अनुशासन, विधि, पद्धति लागु गर्नुपर्छ भन्ने कुरामा एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो । पार्टीभित्र ‘चेन अफ कमान्ड’ भएन भने त्यो पार्टी रहँदैन, अराजक, एनार्किस्टहरूको झुण्ड बन्छ भन्ने कुरामा एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो । त्यसकारण पार्टीभित्रको मामलामा एकदम कडा हुनुहुन्थ्यो । तर पार्टीभित्र उहाँ सांगठनिक नियन्त्रणको भूमिकामा हुनुहुन्थेन, मानार्थ स्थितिमा मात्रै हुनुहुन्थ्यो । 

अहिले उहाँ नरहँदा धेरै खट्किने कुरा भने इथिक्सको अभाव हो । अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा यो कुराको अभाव छ । उहाँ निष्ठावान हुनुहुन्थ्यो, गलत इथिक्स, पैसाका निम्ति जे पनि गर्नुपर्छ भन्ने मान्यता नै थिएन । अहिले त पैसाका निम्ति जहाँ जे गरे पनि हुन्छ भन्ने छ । 

कुनै कम्युनिस्ट आचरण, अनुशासन केही पनि छैन । तर त्यस मामलामा उहाँ एकदम आदर्शवान् र व्यावहारिक हुनुहुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप