शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अर्थतन्त्र

उत्साहपूर्ण कारोबार, दरिलो प्रतिरोध : सेयर बजारको बाटो अब कता ?

शनिबार, १० साउन २०८२, ०७ : १०
शनिबार, १० साउन २०८२

सारांश

  • यस साता सेयर बजारले ११२.०१ अंकको वृद्धि हासिल गर्‍यो, बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब पुग्यो।
  • बजारमा खरिदकर्ताको प्रभुत्व, बलियो गति, र लगानीकर्ताको उच्च विश्वासले आगामी दिनमा बजार बढ्ने संकेत गर्छ।
  • विज्ञका अनुसार, तरलता, ब्याजदर, र मौद्रिक नीतिले बजारमा वृद्धि ल्याएको हो, साथै लगानीकर्ताको विश्वास बढेको छ।

काठमाडौँ । यो साताको सेयर बजार लगानीकर्ताका लागि निकै सुखद रह्यो । साताको सेयर बजारले केही ऐतिहासिक रेकर्ड बनायो भने केही अघिसम्म शिथिल अवस्थामा रहेको बजारमा गति दिने एउटा बलियो आशा समेत देखायो । 

यो साता सेयर बजारले ११२.०१ अंकको उचाइ लियो । अघिल्लो साता २८७०.६३ अंकमा बन्द भएको बजार परिसूचक यो साताको अन्तिम समयमा आइपुग्दा २९८२.६४ मा उक्लिएको छ । यो परिसूचकसँगै बजार पुँजीकरण बढेर ४९ खर्ब ७७ अर्ब पुगेको छ । 

यो साता बजार न्यूनतम २८५६.८८ र अधिकतम २९९२.२६ को विन्दुसम्म पुगेको देखिन्छ । यो १३५.३८ अंकको फरक हो । यी कारोबारसँगै बजारले सातामा ‘बुलिस मारुबोजु’सँग मिल्दोजुल्दो आकृति बनाएको छ, यो भनेको हरियो क्यान्डल तर एकदमै छोटो विक भएको क्यान्डल हो । 

यो क्यान्डलले आफैँमा चार कुराको संकेत गर्छ । पहिलो, खरिदकर्ताको प्रभुत्व, दोस्रो बलियो गति, तेस्रो बुलिस ट्रेन्डको निरन्तरता र चौथो, लगानीकर्ताको उच्च विश्वास । यी सबै कुराले आगामी दिनमा पनि बजार बढ्छ कि भन्ने संकेत देखाउँछ । 

यद्यपि बजारमा अवरोधका संकेत नभएका होइनन् । अहिलेको परिसूचकले ३००० देखि ३०४० को प्रतिरोध क्षेत्र बनाएको छ । भने २९०० देखि २९३० विन्दुको सपोर्ट रहेको देखिन्छ । तीन हजार आफैँमा दरिलो मनोवैज्ञानिक विन्दु भएकोले यो वरपर पुग्दा बजारमा सेलर हाबी हुनसक्ने र बजार तल आउने सम्भावना धेरै देखिन्छ । त्यसैले आशावादी क्यान्डलबीच प्रतिरोध विन्दुले रिभर्सलको काम गरेको देखिन्छ ।

यो साता आरएसआई (रिलेटिभ स्ट्रेन्थ इन्डेक्स) ८४.२३ छ, यो भनेको ‘ओभरबट’ जोनको अवस्था हो । यसको अर्थ सेयर बजारमा बिक्रीभन्दा खरिदको माग उच्च रहेको बुझ्न सकिन्छ । यो अवस्थामा प्रतिरोधले काम गर्यो भने यसले मन्दी ल्याउनसक्ने संकेत समेत देखाउँछ । यद्यपि बुलिस बजारमा आरएसआई लामो समयसम्म ओभरबट जोनमा बस्ने सम्भावना समेत रहन्छ ।

1111

मुभिङ एभरेजले भने बजारलाई सपोर्ट गरेको देखिन्छ । सात दिने मुभिङ एभरेज २१ दिने मुभिङ एभरेजभन्दा माथि छ । यसले तत्कालको बजारको ट्रेन्ड सकारात्मक दिशामा रहेको संकेत गर्छ । 

यो साता बजारको कारोबारले निकै सपोर्ट गरेको देखिन्छ । हप्ताभरिमा कुल ९५ अर्ब ९४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भयो । जबकी अघिल्लो हप्ताको ५९ अर्ब ६३ करोडको कारोबार भएको थियो । यो हप्ताको  औसत दैनिक कारोबार पनि १९ अर्ब १८ करोड रुपैयाँ रहेको छ जुन गत साताको तुलनामा ६०.८८ बढी हो ।

कुन समूहको प्रदर्शन कस्तो रह्यो? 

यो साता बजारका सबै समूहका सूचक सकारात्मक देखिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै वृद्धि अन्य समूहमा देखियो । नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पुनर्बीमा लगायतका ठूला कम्पनी रहेको यो समूहमा १०.१९ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै, जीवनबीमा समूहतर्फ ५.०८ प्रतिशतको वृद्धि रह्यो । माइक्रोफाइनान्स समूहमा ५.०४ प्रतिशत, जलविद्युत् समूहका ४.०९ प्रतिशत वृद्धि हुँदा बजारको सबैभन्दा ठूलो हिस्सा ओगटेको बैंकिङ परिसूचकमा भने यो साता ०.३० प्रतिशत मात्रैको वृद्धि देखिएको छ । 

यो साता सेयर बजारमा सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडले सबैभन्दा धेरै कमायो । साताभरमा दुवै कम्पनीले ६०.९७ प्रतिशतको वृद्धि हासिल गर्यो ।  कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डभेपलमेन्ट बैंक लगायतको प्रदर्शन यो साता निराशापूर्ण रह्यो । अघिल्लो साता मौद्रिक नीतिको प्रभावका कारण बैंकिङ क्षेत्रले बजारलाई सपोर्ट गरेकोमा यो साता बैंकिङ इतरका समूहको वृद्धि देखिनुले बजारले क्षेत्रगत सन्तुलन कायम गरिरहेको बुझ्न सकिन्छ ।

बजारमा उत्साहको कारणबारे विज्ञको धारणा

पछिल्लो सातामा सेयर बजारको वृद्धिलाई विश्लेषक बजारको तरलता, ब्याजदर र मौद्रिक तथा धितोपत्र नीतिको प्रभाव मान्छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालका अनुसार बजारमा पर्याप्त अवस्थामा रहेको तरलता घट्ने अवस्था नदेखिएको र बजारको ब्याजदरलाई मौद्रिक नीतिले अझै तल्लो स्तरमा झारिदिएकोले लगानीकर्ताहरूले बजारमा सम्भावना देख्न थालेको बताउँछन् । पछिल्लो समय बैंकमा ब्याज राखेर खानेहरू पनि बजारमा आउन थालेकोले बजारमा माग उच्च रुपमा बढेको उनको विश्लेषण छ । 

tulsiबैंक तथा वित्तीय संस्थाको लाभांश क्षमता बढ्नेगरी मौद्रिक नीतिमा व्यवस्था हुँदा बैंकिङ क्षेत्रमा समेत सकारात्मक अवस्था देखिएको उनको भनाइ छ । यो वर्ष सबैजसो बैंकले लाभांश दिनसक्ने अवस्था रहने र त्यो ५ देखि ३० प्रतिशतसम्म रहनसक्ने उनको भनाइ छ ।  

पछिल्लो समय बजार परिपक्व ढंगले करेक्सन हुँदै गएकोले यसले लगानीकर्ता समेत सम्हालिएर कारोबार गर्ने गरेको रुपमा बुझ्न सकिने उनको भनाइ छ । 

धितोपत्र बोर्डले ल्याएका इन्ट्रा–डे कारोबार जस्ता नयाँ नीतिगत व्यवस्थाले पनि बजार बढाउँन सहयोग गरेको हुनसक्ने उनी बताउँछन् । बजारले ३००० को विन्दुमा बलियो आधार बनाउँदै अघि बढेकाले थप सहज र सकारात्मक हुनसक्ने सम्भावना आफूले देखेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप