सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ
सारांश
- सुडानमा द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा बढी नागरिक घर फर्किएका छन्।
- संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई पुनर्स्थापनाका लागि सहयोगको अपिल गरेको छ।
- सुडानमा सेना र अर्धसैनिक समूहबीचको द्वन्द्वले गम्भीर मानवीय संकट निम्त्याएको छ।
जेनेभा । संयुक्त राष्ट्र सङ्घले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा बढी नागरिकहरू हालसम्म पुनः आफ्ना घर फर्किएको पुष्टि गरिएको छ । उनीहरूको पुनर्स्थापना र जीवन पुनर्निर्माणका लागि राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय समुदायलाई आवश्यक सहयोगको अपिल गरेको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गत आप्रवासन, शरणार्थी तथा विकाससम्बन्धी निकायहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै हालसम्म १० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित व्यक्ति सुडानभित्रै आफ्ना घर फर्किएको र थप करिब तीन लाख २० हजार व्यक्ति छिमेकी मुलुक इजिप्ट र दक्षिण सुडानबाट स्वदेश फर्किएको जानकारी दिएका छन् ।
हाल केही स्थानहरूमा द्वन्द्वको प्रभाव कम भए पनि समग्र अवस्था अझै पनि अति संवेदनशील रहेको राष्ट्र सङ्घले उल्लेख गरेको छ । सन् २०२३ सालको अप्रिल देखि सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल बुर्हान र प्रतिद्वन्द्वी अर्धसैनिक समूहका कमान्डर मोहम्मद हम्दान डाग्लोबीचको सत्ताका लागि सङ्घर्षले देशलाई गम्भीर मानवीय सङ्कटमा पारेको छ । यस हिंसात्मक द्वन्द्वका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।
राष्ट्रसंघका अनुसार, घर फर्किने व्यक्तिहरूमध्ये सबैभन्दा धेरै अल–जजीरा राज्यतर्फ गएका छन्, जुन खार्तुमको दक्षिणपूर्वमा अवस्थित छ । केही व्यक्तिहरू राजधानी खार्तुम र सन्नार राज्यतर्फ पनि फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको आप्रवासन निकायका क्षेत्रीय निर्देशक उस्मान बेलबेइसीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘सुडान हाल विश्वकै सबैभन्दा ठुलो मानवीय सङ्कटको सामना गरिरहेको मुलुक हो, तर यो अवस्था अन्तर्राष्ट्रिय दृष्टिमा अत्यन्तै उपेक्षित भइरहेको छ।’
उनले लडाइँमा संलग्न सबै पक्षलाई तत्काल हिंसा रोक्न र वार्ताको माध्यमबाट समाधान खोज्न अपिल गरे । ‘यो गृहयुद्धले करोडौँ निर्दोष नागरिकको जीवन अत्यन्त पीडादायक बनाएको छ । सुडान अहिले बाँचुन्जेलको दुःस्वप्न बनेको छ।’
संयुक्त राष्ट्रसङ्घले पुनर्निर्माण, आधारभूत सेवा पुनः स्थापना र दीर्घकालीन शान्तिका लागि विश्व समुदायबाट तात्कालिक तथा पर्याप्त सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण