मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

शनिबार, १० साउन २०८२, १४ : २७
शनिबार, १० साउन २०८२

सारांश

  • नवलपरासीकी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरी वार्षिक ८ लाख आम्दानी गर्छिन्।
  • उनले सुरुमा युट्युबबाट प्रभावित भएर तीन बिरुवाबाट खेती सुरु गरिन्, हाल १३५ गमलामा विस्तार गरिन्।
  • उनले फलसँगै बिरुवा बिक्री गरेर पनि आम्दानी गर्दै आएकी छिन्, र बजारमा कुनै समस्या छैन।

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन् ।  उनले तीनवटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरे । उहाँले बारीमा ४२४ वटा बोट रोप्नुभएको छ । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो । 

‘युट्युब’बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरुआत गरेकी थिइन् । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर उनले लगाएकी थिइन् । कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उनले बताइन् । उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएकी छन् । 

‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरै जना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ’, जिसीले  भनिन् । 

उनले गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छन् । असार महिनामा मात्रै साढे तीन क्विन्टल ड्रागन फल बिक्री गरिसकेकी छन् ।

बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उनले सो फल बिक्री गर्दै आएकी छन् । पानी ट्याङ्की राखेका फलामका डन्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप