लुम्बिनी मन्त्रिपरिषद्ले पायो पूर्णता, अवसर कुरेर बसेका पाण्डे चौथो पटक मन्त्री
सारांश
- लुम्बिनी प्रदेशमा एमाले-कांग्रेससहितको गठबन्धन सरकारले एक वर्षपछि मन्त्रिपरिषद्लाई पूर्णता दियो।
- लोसपाका सन्तोष पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ, जसले गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
- पाण्डे यसअघि पनि मन्त्री भइसकेका थिए र उनले चौथो पटक मन्त्री बन्ने अवसर पाएका हुन्।
बुटवल । लुम्बिनी प्रदेशमा एमाले-कांग्रेससहित बनेको गठबन्धन सरकारको मन्त्रिपरिषद्ले एक वर्षपछि पूर्णता पाएको छ ।
साउन ९ गते एमाले संसदीय दलका नेता चेतनारायण आचार्यको नेतृत्वमा गठन भएको सरकारले लोसपाका सन्तोष पाण्डेलाई खाली रहेको युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएको हो ।
अब लुम्बिनी प्रदेशमा रहेका मुख्य सबै मन्त्रालयहरूले मन्त्री पाएसँगै सरकारको कामकारबाहीले थप तीव्रता पाउने अपेक्षा रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं पूर्वमन्त्री डिल्लीबहादुर चौधरीले बताए । एमाले र कांग्रेसलाई बाँडफाँड गरिएका मन्त्रालयहरूमा यसअघि नै मन्त्रीहरू नियुक्त भए पनि सहमतिमा साना दलको भागमा परेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाण्डेले पाएको उनले खुलाए ।
नवनियुक्त पाण्डेले आज(सोमबार) लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यसअघि एमालेबाट प्रदेशमा मुख्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । जसमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि तथा सहकारी विकास मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा हुन् । यस्तै नेपाली कांग्रेसबाट सहरी विकास मन्त्री सरोज थापा, अर्थमन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलावार छन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्रालय छन् । साउनमा सत्ता गठबन्धन दलहरूबिच एमालेलाई मुख्यमन्त्रीसहित पाँच, कांग्रेसलाई पनि पाँच र साना दलहरूलाई दुई मन्त्रालय भागबन्डा गरिएको थियो । अब भने सबै मन्त्रालयहरू पूरा भएका छन् ।
सत्तामा रहेको जनता समाजवादी पार्टीबाट आदेश अग्रवालले यसअघि साउनमै आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी पाएका थिए भने अर्को मन्त्रालय १ वर्षसम्म मुख्यमन्त्री आचार्यले आफैँसँग राखेका थिए ।
अवसर कुरेर बसेका पाण्डे चौथो पटक मन्त्री
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि साना दलहरूः नागरिक उन्मुक्ति, जनमत, लोसपामध्ये कुन दललाई सरकारमा सहभागी गराउने भन्नेबारे एमाले र कांग्रेस अन्योल थिए । केन्द्रको गठबन्धनअनुसार नै प्रदेशमा मन्त्री नियुक्त गर्ने प्रचलनअनुसार ती दलहरूले सरकारलाई समर्थन गरे पनि कुनै नियुक्ति र मन्त्री नपाएका दलहरूको मसिनो स्वरमा विरोध रहेको थियो ।
यसैबिच असारमा लुम्बिनी प्रदेशको बजेट पारित गर्दा प्रमुख प्रतिपक्षी दल माओवादी, राप्रपासहित सबै विपक्षी दलहरूले सदन बहिष्कार गर्ने घोषणा गरेका थिए । एक पटक बसेको सदन बहिष्कारमा परेपछि त्यो मौकामा सरकारको समर्थन फिर्ता लिएर लोसपा एकाएक प्रतिपक्षको कुर्सीमा बस्यो ।
अनि कांग्रेस-एमालेलाई त्यही गुन लगाएकाले पनि पाण्डेले मन्त्री बन्ने अवसर पाएका कांग्रेसका एक सांसदले रातोपाटीलाई बताए । रुपन्देहीको क्षेत्र नम्बर ३ (क) बाट दुई पटक चुनाव जितेका पाण्डेले मन्त्री बन्न अनेक प्रयास गरेका थिए ।

हालै लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारलाई समर्थन गरेका साना दलमध्ये जनमत र लोसपाबिच आन्तरिक प्रतिस्पर्धा भइरहेको थियो । यही वेला सन्तोष पाण्डेले आफ्नो पार्टीका केन्द्रीय संयोजक महन्थ ठाकुरलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई फोन गराएर मन्त्री बन्ने वातावरण तयार पारेको सत्तामा रहेका एक सांसदले रातोपाटीलाई बताए ।किनकि केन्द्रमा लोसपाको मन्त्री परिवर्तन गर्ने तयारी भइरहेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् विस्तार गरेसँगै पाण्डेले चौथो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । यसअघि २०७८ मा एमालेका शङ्कर पोखरेल र २०७९ मा माओवादीका कुलप्रसाद केसी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री र २०८० मा कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।
अहिले उनलाई मुख्यमन्त्री आचार्यले खेलकुद मन्त्री बनाएका हुन् । उक्त पार्टीको लुम्बिनी प्रदेशमा ३ जना सांसद रहे पनि पटक-पटक पाण्डे आफैँ मन्त्री बन्ने गरेका छन् । अन्य सांसदलाई अवसर नदिएकोमा भने पार्टीभित्र असन्तुष्टि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण