संरक्षण नहुँदा भोजपुरको ‘टेम्केसिद्ध मन्दिर’ जीर्ण
सारांश
- भोजपुरको टेम्केडाँडामा रहेको टेम्केसिद्ध मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको छ।
- मन्दिरमा पशुचौपाया पस्ने र छानोबाट पानी चुहिने समस्या रहेको छ, स्थानीयवासीले मन्दिरको संरक्षणको माग गरेका छन्।
- स्थानीयवासी र जानकारहरूले यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताएका छन्।
भोजपुर । भोजपुरको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।
मन्दिर संरक्षण नहुँदा यहाँका संरचना भत्किन थालेका छन् भने मन्दिर परिसरमा पशुचौपाया पसेर फोहर गर्ने गरेका छन् । यहाँ रहेको मन्दिरमा सल्लाको काठलाई फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई घेराबारा गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।
प्राकृतिक सौन्दर्यता नियाल्न साथै मन्दिरमा दर्शनका लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडा क्षेत्रमा गोठपालन गर्दै आएका गणेश विष्टले बताए । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकाले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । मन्दिर संरक्षण अभावमा जीर्ण बनेको उनको भनाइ छ ।
“टेम्केसिद्ध मन्दिर संरक्षण नहुँदा जीर्ण बनेको छ”, विष्टले भने, “मन्दिर लथालिङ्ग हुँदा मन्दिरमा पशुचौपाया पस्ने गरेका छन् । खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेकोजस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिर संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”
यो स्थानलाई जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्नसके प्राकृतिकप्रेमीहरूका लागि यो उत्तम गन्तव्य बन्ने जानकारहरु बताउँछन् । मानिसहरूको धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको उक्त मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरन क्षेत्र भएकाले गाईवस्तुभित्र पसेर बस्दा मन्दिर फोहर बनेको स्थानीयवासीको भनाइ छ ।
ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने टेम्कमैयुङ–५ मझौलका स्थानीय शिवकुमार विष्टले बताए । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्तको प्रष्ट दृश्य पनि देख्न सकिन्छ ।
मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ पनि छ । भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यो मन्दिरको दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्ने गरेको छ । मानिसहरू आ–आफ्ना कूल, पितृको सम्झनामा सदबिज छर्नका लागि पुग्ने गरेका छन् ।
यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट पनि मानिसहरू आउने गरेका छन् । खास गरेर यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यावलोकन गर्न मानिसहरू पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमा पनि दर्शन तथा पञ्चबलि गर्नका लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण