काठमाडौँ । प्रसवको असह्य पीडाले छटपटाइरहेकी मीना तामाङ (नाम परिवर्तन) को हात श्रीमानले बलियोसँग समातिरहेका थिए । वेलावेला कम्मरमा उठ्ने पीडा कम गर्न मसाज गरिदिन्थे, हिँड्न खोज्दा सहारा दिन्थे । यो कुनै चलचित्रको दृश्य होइन, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मिडवाइफरी नेतृत्वको बर्थिङ सेन्टरभित्रको यथार्थ हो, जहाँ प्रसवलाई महिलाको एक्लो र कष्टकर यात्रा बन्न दिइँदैन ।

यस्तै, सुरुमा बर्थिङ सेन्टरभित्र पस्न डराइरहेका सर्लाहीका पुरन यादव (नाम परिवर्तन) पनि पछि श्रीमतीको पीडामा साथ दिन पाउँदा खुसी देखिन्थे । ‘सुरुमा त डर लागेको थियो, तर आफ्नै श्रीमतीको छेउमा बसेर उनको पीडामा साथ दिन पाउँदा धेरै खुसी लाग्यो,‘ उनले भने । गाउँघरतिर प्रसव व्यथा लागेका महिलाको अगाडि पुरुषलाई बस्न नदिइने बताउने उनी अस्पतालको यस्तो व्यवस्था देखेर दङ्ग थिए । तीन छोरीपछि चौथो सन्तानका रूपमा छोरा जन्मँदा उनी हर्षित थिए ।
मीना र पुरनजस्ता दम्पतीहरू यहाँ मिडवाइफरी प्रसूति सेवा लिएर फेरिएको अनुभव सँगाल्ने प्रतिनिधि पात्र हुन् ।

यस अस्पतालको बर्थिङ सेन्टरमा दैनिक १२ देखि १४ जनाले प्राकृतिक प्रक्रिया अर्थात् सामान्य डेलिभरीबाट बच्चा जन्माउने गरेका छन् । यो आँकडाअनुसार वार्षिक ४ हजारदेखि ४ हजार ५ सय शिशुले यहीँ जन्म लिन्छन् । प्रसवलाई महिलाको एक्लो र कष्टकर यात्रा मान्ने समाजमा यस सेन्टरले सम्मानजनक प्रसूति सेवामार्फत नयाँ भाष्य स्थापित गरिरहेको सेन्टरकी इन्चार्ज ललिता श्रेष्ठ बताउँछिन् ।
‘सुरुमा श्रीमतीसँग बस्न आग्रह गर्दा श्रीमानहरू केही हिचकिचाए पनि अहिले भने उहाँहरू आफैँ बस्न आउनुहुन्छ, ‘श्रेष्ठले भनिन्, ‘एक पटक सेवा लिएका महिलाहरू दोस्रो पटक पनि यहीँ आउनुहुन्छ ।’
सेन्टर अन्य सामान्य प्रसूति वार्डभन्दा फरक भएको उनले सुनाइन् । गर्भवती महिलालाई बिरामीका रूपमा नभई एक प्राकृतिक प्रक्रियाबाट गुज्रिरहेको व्यक्तिका रूपमा सम्मानजनक व्यवहार गरी प्रसूति गराइने उनको दाबी छ ।
‘हामी महिलालाई सुतिराख्न मात्रै बाध्य पार्दैनौँ, प्रसवको पीडा कम गर्न विभिन्न विधि अपनाउँछौँ,’ उनले भनिन्, ‘हिँड्न लगाउने, बर्थिङ बलमा बसाएर व्यायाम गराउने, ढाड र कम्मरमा मसाज गर्नेजस्ता तरिकाले प्रसव पीडामा रहेकालाई सहज बनाइन्छ ।’

यसका साथै औषधिको प्रयोगविना पीडा व्यवस्थापनमा जोड दिइने उनले बताइन् । प्रसव पीडा हुँदा कम गर्न झुन्डिनका लागि बार र भुइँमै पनि प्रसूति गराउन मिल्ने गरी म्याट्रेस राखेर शरीरलाई सहज हुने वातावरण बनाइएको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले परम्परागत लेबर रुमभन्दा बर्थिङ युनिट फरक र प्रभावकारी भएको दाबी गरे । ‘बर्थिङ युनिटको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको प्रसव पीडामा रहेकी महिलाले आफ्नो श्रीमान् वा आफन्तलाई साथमा राख्न पाउनु हो,’ उनले भने ।
सामान्य वार्डमा आफन्तलाई भित्र प्रवेश नदिइँदा बाहिर बस्नेलाई ‘भित्र के भयो होला’ भन्ने चिन्ता हुने उनी बताउँछन् । ‘भित्र रहेकी महिला पनि मेरो मान्छे कोही छैन, बच्चालाई केही भयो कि भन्ने तनावमा हुन्छिन्, तर यो तनाव बर्थिङ युनिटमा हुँदैन,’ उनले प्रस्ट पारे ।
डेलिभरी प्रक्रियामा परिवारका सदस्य सँगै हुँदा स्वास्थ्यकर्मीले गरेको मिहिनेत, दौडधुप र सावधानी प्रत्यक्ष देख्न सक्ने भएकाले स्वास्थ्यकर्मी र आफन्तबिच सम्बन्ध सुमधुर हुने उनको तर्क छ । ‘डेलिभरीका क्रममा कहिलेकाहीँ आउन सक्ने जटिलता, जस्तैः बच्चाको काँध अड्किने वा बच्चा जन्मिएपछि नरुने जस्ता अवस्थामा स्वास्थ्यकर्मीले गर्ने प्रयास परिवारले आफ्नै आँखाले देख्न पाउँछन्,’ उनले भने, ‘यसले भित्र लगेर केही गरिदियो कि भन्नेजस्ता गलत शंका हट्छन् । बच्चालाई आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्दा पनि परिवारले प्रक्रिया बुझ्ने हुँदा गुनासो र विवादको ठाउँ रहँदैन ।’

प्रसूति अस्पतालको आकस्मिक कक्षमा व्यथा लागेर आएकाहरूलाई सुरुमा गर्भवती वार्डमा राखिन्छ । स्वास्थ्य परीक्षणपछि आफन्तको इच्छाअनुसार बर्थिङ युनिटमा सारिने इन्चार्ज श्रेष्ठ बताउँछिन् । उच्च रक्तचाप, मुटु रोग, मधुमेहजस्ता जटिल समस्या भएका वा बच्चालाई जोखिम हुन सक्ने अवस्थाका महिलालाई भने चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा गर्भवती वार्डमै राखिने निर्देशक डा. अधिकारी स्पष्ट पार्छन् । सामान्यतया पाठेघरको मुख २ देखि ४ सेन्टिमिटर खुलेपछि सेन्टरमा भर्ना गरी मिडवाइफको निरन्तर निगरानीमा राखिन्छ र अवस्था जटिल देखिए तुरुन्तै विशेषज्ञ डाक्टरलाई बोलाएर उपचार गरिन्छ ।
इन्चार्ज श्रेष्ठका अनुसार हरेक १५–१५ मिनेटमा बच्चा र आमाको स्वास्थ्य अवस्था निगरानी गरिन्छ । ‘बच्चा जन्मिएपछि पनि कम्तीमा एक घण्टा आमाको छातीमा राख्न लगाइन्छ, जसकारण स्तनपान गराउन सहज हुन्छ,’ उनी भन्छिन् ।

डा. लक्ष्मी तामाङ मिडवाइफ र नर्सको भूमिका फरक रहेको बताउँछिन् । नर्सहरूले समग्र स्वास्थ्य प्रणालीमा काम गर्छन् भने मिडवाइफहरू विशेषगरी सामान्य गर्भावस्था, प्रसूति र सुत्केरी स्याहारमा केन्द्रित हुन्छन् । उनीहरूले यसै विषयमा तीनवर्षे विशेष कोर्स गरेका हुन्छन् ।
मिडवाइफरीले ‘सामाजिक मोडल’मा काम गर्ने डा. तामाङको भनाइ छ । यस मोडलमा प्रसव पीडामा महिलाको सम्मान, परिवारको सहभागिता र घरायसी वातावरणलाई प्राथमिकता दिइन्छ । ‘कानुनले नै सम्मानजनक प्रसूति सेवाको अधिकार सुनिश्चित गरेको छ,’ उनी भन्छिन्, ‘यसका लागि सबैभन्दा दक्ष जनशक्ति नै मिडवाइफ हो ।’
सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमार्फत सम्मानजनक प्रसूति सेवाका लागि मिडवाइफ (दक्ष प्रसूतिकर्मी) को भूमिकालाई कानुनी मान्यता दिएको छ । तर, प्रमुख अस्पतालहरूमा ‘मेडिकल मोडल’ हाबी हुँदा गर्भावस्थालाई रोगका रूपमा हेर्ने प्रवृत्तिले मिडवाइफहरूको भूमिका खुम्चिएको डा. तामाङ बताउँछिन् । ‘अनावश्यक शल्यक्रियाबाट हुने प्रसूति दर डरलाग्दो रूपमा बढेको छ,’ उनी भन्छिन्, ‘प्रसूति गराउने देशको सबैभन्दा ठुलो अस्पतालमा नै शल्यक्रियाबाट हुने जन्मदर झन्डै ५० प्रतिशत छ ।’
ठुला अस्पतालहरूले गर्भावस्थालाई प्राकृतिक प्रक्रियाभन्दा जटिल स्वास्थ्य समस्याका रूपमा हेर्दा अनावश्यक शल्यक्रियाले प्रश्रय पाएको उनको जिकिर छ । नर्मल डेलिभरीका लागि मिडवाइफ नेतृत्वको बर्थिङ सेन्टरमा पठाउन डाक्टरहरू नै हिचकिचाउने गरेको अनुभव मिडवाइफहरूको छ ।
सरकारले मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा २० मा झार्ने लक्ष्य राखेको छ, जबकि हाल यो दर १५१ छ । विश्व स्वास्थ्य संगठनले भने १४२ मा झार्ने प्रक्षेपण गरेको छ । यो लक्ष्य हासिल गर्न मिडवाइफहरूको सहभागिताविना असम्भव हुने डा. तामाङ बताउँछिन् ।
‘जबसम्म गर्भावस्थालाई प्राकृतिक प्रक्रियाका रूपमा स्वीकार गरिँदैन र महिलाको शरीरलाई सिक्ने वा पैसा कमाउने माध्यमका रूपमा हेरिन्छ, तबसम्म यो समस्या समाधान हुँदैन,’ उनी भन्छिन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १३३ जना स्नातक तहका मिडवाइफ उत्पादन भइसकेका छन् भने पीसीएल (प्रवीणता प्रमाणपत्र) तहमा १२० जना अध्ययनरत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमा मिडवाइफरी नर्सको जम्मा ३९ वटा नयाँ दरबन्दी सिर्जना गरेको छ ।
प्रतिक्रिया