बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुक्खाग्रस्त मधेस

काकाकुल वीरगञ्ज : घाँटी भिज्छ, प्यास मेटिँदैन

बुधबार, १४ साउन २०८२

वीरगञ्ज । चलायमान, दौडधुप, अलि कोलाहलपूर्ण पनि अनि जीवन्त सहर । यो हो देशको आर्थिक राजधानी वीरगञ्जको पहिचान । तर आर्थिक गतिविधिका लागि तीव्र गतिमा दौडिने यो सहरको ठुलो हिस्सामा अहिले जीवनको लय नै बदलिएको छ ।  

वीरगञ्जका धेरै नागरिकका अनुहारमा अहिले मुस्कानभन्दा बढी तिर्खाको छटपटी देखिन्छ । आशाको उज्यालोको ठाउँमा निराशाको बादल मडारिएको छ । 

मनसुन त्यसमाथि मध्य साउन, पानीको अभावमा काकाकुल बनेको छ वीरगञ्ज । हरेक घरका आँगनमा रहेका चापाकल (ह्याण्डपम्प) अब पानीका स्रोत होइन, सम्झनाका प्रतीकजस्ता बनेका छन् । किनकि त्यहाँबाट पानी होइन, तातो हावा मात्रै आउँछ ।  

रातोपाटी टिम केही दिनअघि स्थलगत रिपोर्टिङका लागि वीरगञ्ज पुग्दा हरेक परिवारको दिन पानीको चिन्ताबाट सुरु भएको पाइयो । 

‘पानी बिना त यो बेला अहिले नहाइल, धोवाइल सब बन्द भजाता । एउटा गाइ भी आ, ओकरा भी समस्या बा पानी पियेके,’ वीरगञ्ज महानगरपालिका रामगढवाकी सीतादेवी सुनाउँछिन् । 
सीतादेवीको यो दु:खेसो सिंगो टोलको सामूहिक क्रन्दन हो । उनको घरको आँगनमा वर्षौंदेखि पानी दिइरहेको चापाकल अहिले मौन छ । जतिसुकै बल लगाएर ह्यान्डल चलाए पनि त्यसबाट पानीको सट्टा केवल हावा निस्किन्छ । एक महिना भयो, यहाँको जमिनले पानी दिन छोडेको छ । 

Sitadevi Birgunj

सीतादेवी, वीरगञ्ज

सीतादेवीको दैनिकी भन्नु नै अब ट्याङ्कर आउने बाटो हेर्नु हो । ‘उहे ओटो (ट्याङ्कर) वाला बाल त दिया जाला त दू डोल, एक डोल ले आ देवेला लोग उपर से,’ उनी भन्छिन् ।

ट्याङ्कर आयो भने पनि दयाले दिएको एक–दुई बाल्टी पानी नै उनीहरुका लागि अमृत समान हुन्छ । त्यही पानीले भोक मेटाउने खाना पकाउनुपर्छ । तर त्यो ट्याङ्कर पनि सधैँ आउँछ भन्ने कुनै ग्यारेन्टी छैन । 

पानीको अभाव हुनु भनेको तिर्खा संकट मात्र पनि होइन, यसले मानिसको आत्मसम्मानमाथि पनि प्रहार गर्छ । ज्योतिनगरकै शिवशंकर यादवले यो गर्मीमा तीन-चार दिनदेखि आफ्नो सर्ट धुन पाएका छैनन् । त्यही मैलो सर्ट लगाएर बस्न बाध्य छन् । 

‘यो मेरो सर्ट हेर्नु त, यो कस्तो छ ? तीन–चार दिनदेखि मैले यो लगाएको छु । धुन पाएको छैन,’ उनी भन्छन् । मैलो लुगा लगाएर हिँड्दा आत्मसम्मानमा कस्तो ठेस पुग्छ त्यो शिवशंकरलाई जति कसलाई थाहा होला र ? 

सफासुग्घर हुनु, सफा लुगा लगाउनु र स्वच्छ वातावरणमा रहनु मानिसको आधारभूत अधिकार हो, तर यहाँका बासिन्दाका लागि यो विलासिताजस्तो पो बनेको छ । नुहाउनु त उनीहरुका लागि सपना जस्तै भएको छ । उनीहरु भन्छन्, ‘नुहाएको त एक हप्ता जति भयो ।’  

Shirt Birgunj

शिवशंकर यादव, वीरगञ्ज

सोचौं त, एउटा घरमा जहाँ चार बाल्टी पानी मुस्किलले जुट्छ, त्यहाँकी गृहिणीले कस्तो मानसिक द्वन्द्वबाट गुज्रिनुपर्छ होला ? त्यो पानीले बालबच्चाको तिर्खा मेटाउने कि, खाना पकाउने कि, जुठा भाँडा माझ्ने ? 
‘चार बाल्टी पानी से कति होइ ?’  वीरगञ्जकी लक्ष्मीदेवी मल्होत्राको यो प्रश्नले अभावको भयावह अवस्था चित्रण गर्छ । यहाँका बालबालिका मैलो कपडामा, ननुहाइकनै विद्यालय जान बाध्य छन् । गर्भवती महिला, वृद्धवृद्धा र बिरामीहरुको अवस्था झनै दयनीय छ ।  

वीरगञ्जका यी बासिन्दाको पीडा दोहोरो छ । एकातिर प्रकृति क्रूर बनेको छ भने अर्कोतिर सरकार र सम्बन्धित निकायको उदासीनता देखिन्छ । वीरगञ्जमा कतै कतै उनीहरु आफूलाई आफ्नै सहरमा दोस्रो दर्जाको नागरिक भएको महसुस गर्छन् । 

‘अपनेके रानीघाट मे दुवारे दुवारे मतलब कि धारा लागल बाटे । आ हमनीके हई वार्डमे, हई नया बस्तीमे एको धारा कही खोजला से ना मिली,’  रोशन कुशवाहा आक्रोश पोख्छन् । 

उनको आक्रोशमा विभेदको पीडा प्रष्ट झल्किन्छ । उनीहरुको टोलभन्दा केही परका क्षेत्रमा घर–घरमा धारा छन्, तर उनीहरुको ‘नयाँ बस्ती’ मा एउटा बोरिङसम्म छैन । 

सरकारप्रतिको अविश्वास र आक्रोश यति चुलिएको छ कि लालबाबु साह जस्ता नागरिक खुलेरै भन्छन्, ‘हाम्रो नेपाल गभर्मेन्टको कुरा छोड्नु, केही कुनै यहाँ व्यवस्था छैन । सरकार भन्ने मात्रै, मात्र लुट्ने जनतालाई, ब्लड चुस्ने, पसिना चुस्ने यहाँको नेताहरु, सरकारहरु, तर जनतालाई केही सुविधा छैन ।’ 

Lalbabu Shah-Video Last

लालबाबु साह, वीरगञ्ज

नागरिकलाई चाहिएको छ स्थायी समाधान, सरकार दिन्छ राहत मात्रै

अहिले वीरगञ्ज महानगरपालिका, प्रदेश सरकार, नेपाली सेना र स्थानीय प्रशासनले ट्याङ्करमार्फत पानी वितरण गरिरहेका छन् । तर यसले केही राहत दिए पनि स्थायी समाधान खोजिरहेका छन् स्थानीयवासी ।

पानी वितरण प्रणालीमा पनि समस्या छ । कतै दिनमा दुई पटक पानी पुग्छ, कतै हप्तामा एक पटक पनि पुग्दैन । महानगरपालिकाले दमकल र ट्यांकर मार्फत दैनिक ४ लाख लिटरसम्म पानी वितरण गरिरहेको छ भने जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा प्रदेश सरकार, नेपाली सेना मार्फत १० वटासम्म ट्यांकर गुडेका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल वीरगञ्जमा खानेपानीको दिगो समाधान नभएसम्म यो संकट आइरहने बताउँछन् । 

‘हामीले खानेपानी अभाव जहाँ हुन्छ, त्यहीँ ट्यांकर पठाएर अस्थायी रुपमा तत्काल समस्या समाधान गर्न प्रयास गरिरहेका छौं । सकेसम्म खानेपानीको अभाव नहोस् भन्ने प्रयास छ,’ रातोपाटीसँग अर्याल भन्छन् । 

स्थानीयवासी दिगो र स्थायी समाधान चाहिरहेका छन् । उनीहरुको माग सरल छ- अरु टोलको जस्तै आफ्नो टोलमा पनि पानी उपलब्ध होस् । बोरिङ गरियोस् र घर–घरमा धारा जडान गरियोस् ।
वीरगञ्जको यो क्षेत्रमा पानी संकटले धेरैवटा कथा भन्छ- सरकारी उपेक्षा, असमान विकास र मानवीय संवेदनाको खडेरी । 

प्रश्न उठ्छ, आर्थिक राजधानीको मुटुमै नागरिकहरु यसरी तिर्खाएर बाँच्न विवश हुँदा सरकारले दिगो समाधानको प्रयास गरिरहेकै छैन त ? 

खानेपानीमन्त्री प्रदीप यादव वीरगञ्जको खानेपानीको दिगो समाधानका लागि हेटौंडाबाट राप्ती खोला मार्फत पानी ल्याउने योजना सुनाउँछन् । ‘वीरगञ्जका लागि हामीले राप्ती–वीरगञ्ज डाइभर्सनको योजना बनाएका छौं । हेटौंडाको राप्ती खोलाको पानी खेर गइरहेको छ । त्यो पानीलाई वीरगञ्ज र समग्र पर्सा जिल्लामा ल्याउने योजना छ । यसको डिजाइनका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ ।‘ रातोपाटीसँग मन्त्री यादव भन्छन् ।  

उनका अनुसार अर्को योजना एसियाली विकास बैंक (एडीबी)को लगानीमा भूमिगत पानीको स्रोतबाट व्यवस्थापन गर्नेछ । वीरगञ्ज महानगरका लागि एडीबीको सहयोगमा ४ अर्ब ५० करोड रुपैयाँको परियोजना स्वीकृत भएको छ । अर्को योजना भनेको सुनकोशी–मरिन डाइभर्सनबाट पानीको व्यवस्था गर्ने हो । 

‘सिरहादेखि पर्सासम्म हामीले ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग एमओयू गरिसकेका छौँ । सुनकोशी–मरिन डाइभर्सनबाट सिँचाइका लागि लगिने पानीको १० प्रतिशत हिस्सा खानेपानीका लागि छुट्याउने र त्यसलाई प्रशोधन गरेर वितरण गर्ने सहमति भएको छ । यसका लागि पनि डिजाइनको टेन्डर यसै वर्ष हुँदैछ,’ मन्त्री यादव भन्छन् । 

फोटो/भिडियो : सुवास श्रेष्ठ/रातोपाटी 

यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया