मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हेडलाई हटाउँदै अभिषेक शर्मा टी-२० ब्याटिङको शीर्ष स्थानमा

बुधबार, १४ साउन २०८२, २० : ४६
बुधबार, १४ साउन २०८२

सारांश

  • अभिषेक शर्मा टी-२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिए, हेडलाई पछि पार्दै पहिलो स्थान हासिल गरे।
  • विराट कोहली र सूर्यकुमार यादवपछि शर्मा टी-२० ब्याटिङ वरीयताको शिखर चुम्ने तेस्रो भारतीय खेलाडी बने।
  • बेन स्टोक्स टेस्ट अलराउण्डर वरीयतामा तेस्रो स्थानमा उक्लिए, जबकि वासिङ्टन सुन्दरले टेस्टमा शतक बनाए।

काठमाडौँ । भारतका युवा ब्याट्सम्यान अभिषेक शर्मा टी-२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्। उनले आफ्नो सनराइजर्स हैदरावादका जोडी ट्राभिस हेडलाई पछि पार्दै नम्बर १ स्थानमा कब्जा जमाएका हुन्।

ट्राभिस हेडले गत वर्ष जुनदेखि सूर्यकुमार यादवलाई पछाडि पारेर नम्बर एक स्थान कायम राखेका थिए। तर उनले सेप्टेम्बर २०२४ यता कुनै टी-२० खेल खेलेका छैनन् । पछिल्लो पाँच खेलको वेस्ट इन्डिज भ्रमणमा पनि उनी अनुपस्थित रहे। यसकै कारण उनले स्थान गुमाएका हुन्।

यससँगै अभिषेक शर्मा विराट कोहली र सूर्यकुमार यादवपछि टी-२० ब्याटिङ वरीयताको शिखर चुम्ने तेस्रो भारतीय खेलाडी बनेका छन्। 

अभिषेकले पछिल्लो पटक फेब्रुअरीमा इंग्ल्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजमा भारतको प्रतिनिधित्व गरेका थिए, जहाँ उनले अन्तिम खेलमा ५४ बलमा १३५ रनको विस्फोटक पारी खेलेका थिए।

अस्ट्रेलियाका जोश इंग्लिस वेस्ट इन्डिजविरुद्धको पाँच खेलमा १७२ रन बनाएर सिरिजका तेस्रो सर्वाधिक रन बनाउने खेलाडी भए। उनी ६ स्थान उक्लिएर ९ औँ स्थानमा पुगे। वेस्ट इन्डिजका शाई होपले शतकसहित दोस्रो स्थानमा रन बनाए पनि १० औँ स्थानमै रहे।

टिम डेभिडले अस्ट्रेलियाका लागि सबैभन्दा छिटो टी-२० शतक बनाएपछि १२ स्थान उक्लिएर १८ औँ स्थानमा पुगे।

ब्रान्डन किङ ९ स्थान उक्लिए भने क्यामरुन ग्रिन टी-२० सिरिजको सबैभन्दा ठुलो उक्लाइ गर्ने खेलाडी भए । उनी ६४ स्थान उक्लिएर २४ औँ स्थानमा पुगे।

बलिङतर्फ अस्ट्रेलियाका तीव्र बलर नाथन एलिस ९ स्थान उक्लिएर संयुक्त आठौँ स्थानमा पुगे।

टेस्ट क्रिकेटतर्फ इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ओल्ड ट्राफोर्डमा शतक र पाँच विकेट लिँदै तीन स्थान उक्लिएर टेस्ट अलराउण्डर वीरयतामा तेस्रो स्थानमा पुगे। उक्त सूचीको शीर्ष स्थानमा भने अझै पनि रवीन्द्र जडेजा यथावत् छन्।

भारतका वासिङ्टन सुन्दरले म्यानचेस्टरमा आफ्नो पहिलो टेस्ट शतक बनाएर ८ स्थान उक्लिएर संयुक्त १३ औँ स्थानमा पुगे। उनीसँग हालसम्मको उच्चतम १९३ रेटिङ अङ्क पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप