कलकत्ते काइँयो कलकत्तामा होइन, गीतमा मात्र 'पपुलर' रहेछ
सारांश
- लेखकको यात्राको क्रममा, उनले पोलेको मकै खाए, र आगराको एक स्थानीय व्यक्तिसँग ताजमहलको बारेमा कुराकानी गरे।
- यात्राको क्रममा, लेखकले एक नेपाली मूलका भारतीय व्यक्ति पवन खड्कासँग भेट्छन्, जसले उनलाई कलकत्ताको बारेमा जानकारी दिन्छन्।
- लेखकले यात्रामा विभिन्न अनुभवहरू सँगाले, जसमा सीमा पार गर्ने क्रममा भिसा समस्या र रक्सौलको गर्मी समावेश थियो।
‘अरे रोको, हमको भुट्टा खरिद्ना हे’, त्यसो भनेर एक जनाले गाडी रोक्न लगाएपछि हामीमध्ये प्रायले पोलेको मकै खायौँ ।
‘अरे देखो भाइ तित्लिया’, मकै खाँदै गर्दा सडक किनार पुतलीहरू उडिरहेका देखेर उसैले थप्यो ।
त्यसअघि मलाई हिन्दीमा तित्लिया भनेको पुतली र भुट्टा भनेको पोलेको हरियो मकै हो भन्ने थाहा थिएन ।
पन्ध्र वर्ष भयो रे नेपालमा कामधन्दा सुरु गरेको । आग्राको ऊ इलोक्ट्रेनिकको काम गर्दोरहेछ ।
‘यो यात्राको हिटलिस्टमा रहेको आग्राबारे ऊसँग केही बुझ्नुपर्ला’, सोच्दै थिएँ । छैमलेको छेउको पहिलो ब्रेकपछि ‘विन्दास टुर आफ्नै सुर’ भन्दै ड्राइभरले गाडी कुदायो ।
‘भाइजी, आग्राबारे बताइएना’, पछाडि सिटबाट अगाडि बसेको उसको कुम कोट्याउँदै मैले आग्रह गरेँ ।
‘आप काठमाडौंमे किदर रहेते हें ?’, म गर्छु आग्राको कुरा, आग्राकै भएर पनि ऊ गर्छ गाग्राको कुरा भने झैँ उत्तर दिनुको सट्टा उल्टो मलाई पो प्रश्न गर्न थाल्यो ।
‘म्हैपी’, उसलाई के थाहा होला र भन्ने ठान्दै भनेँ ।
‘मन्दिर से कित्ने दूर ?’, उसले सोध्यो ।
‘नज्दिकी हे’, मैले भनेँ ।
‘वो एक स्कुल हे ना, उसीके पासमे हे क्या ?’, ऊ मेरो घरै नजिक आइसक्या थियो । ऊ त रैथानेजस्तै रहेछ यताको ।
‘आपका घर कित्ना दूर हे ताजमेहेलसे ?’, यताको कुरा छलाउँदै विश्वका सातमध्ये एक महाआश्चर्य मानिने ताज महलको सहर आग्राको स्थानीयसँग त्यसैबारे बुझ्न चाहेँ ।
‘ताजमेहेल इज द मोस्ट व्युटिफुल विल्डिङ इन द होल वर्ल्ड, जो मेरे घरसे सिर्फ छे किलोमिटर दूर हे’, नजिकको तीर्थ हेंला भन्ने भनाइलाई चरितार्थ गरेन उसले ।
‘कित्ने बार आप उदर गये ?’
‘हिसाबही नहीँ ।’
‘हिसाब नहीँ तो किताब तो हे ना ?’ मैले ठट्टा गरेँ ।
‘मजाक मत करो भाइ’, उसले मजाक मजाकैमा भन्यो ।
‘आपको कैसे लगते हे उदर ?’, ताजमहलतिर तान्दै सोधेँ ।
‘क्या बताएँ ! धुपमे भी शुकुन मिल्ती हे उदर ! एयर कन्डिसन फेल खाती हेँ ।!
उसले बताए अनुसार ऊ अंग्रेजीमा स्नातक रहेछ । सुरुमा फटाफट अंग्रेजी डाइलग हान्दै थियो, शेक्सपियरदेखि विलियम वर्डस्वर्थसम्मको ।
चीसापानीमा खाना खाइसकेपछि एकछिन अंग्रेजीमा बोलौं न त भनेर केही प्रश्न गर्या थिएँ, सुरुको जस्तो सरर थिएन । मैले के अनुमान गरेँ भने, उसका अंंग्रेजी घोकन्ते रहेछ । स्नातक पनि गरेको हो कि होइन ? शंकै लाग्यो । शंका निवारणचाहिँ जरुरी थिएन । न म उसलाई जागिर दिने निकाय थिएँ, न त ‘अख्तियार’ नै । कति मान्छे यस्ता हुन्छन्, जसलाई ढाँट्दा आनन्द आउँछ, जसलाई बढाइचढाई गर्दा आनन्द आउँछ । कहिलेकाँही कसैलाई बिर्गान होइन, रमाइलोको लागि हल्का रंगरोगनचाहिँ म पनि गर्दिन्छु । सिरियस सन्दर्भमा होइन, फन्नी कुराहरुमा ।
केही दिनदेखि रातरातभर पानी परेकोले गर्मीयाममा पनि मौसम चीसो थियो । तर, हामी चालीस प्लसको तापक्रम एरिया जाँदै थियौँ ।
बल्खुमा बम्किरहेकी केटी शान्त तलाउ झैँ छे । ड्राइभरले गाना पनि लाएको छैन ।
‘ब्लुटुथ अन गर्न मिल्छ’, सोध्छु ।
‘अनै छ’, ऊ भन्छ ।
पटकपटक जोड्ने प्रयास गरे पनि मेरो मोबाइलमा कनेक्ट हुँदैन ।
‘एक पटक अफ गरेर फेरि अन गर्नु त’, म फेरि आग्रह गर्छु ।
फेरि पनि कनेक्ट हुँदैन ।
‘ल, भैगो !’, म भन्छु ।
गाडीकै स्पिकरमा गाना सुन्दै भीमफेदी झर्ने रहर रहरै रहन्छ, सट्टामा ड्राइभर सुझाव दिन्छ, ‘तपाईं इन्डिया जान लाग्या हो भने नचिनेको मान्छेले दिएको केही पनि नखानु ।’
ऊ सुझाव दिँदै छ तर मलाई सुझावभन्दा संगीत सुनौं लाग्यो । डाटा अन गरेर युट्युव खोल्दै मोबाइल कानमा जोत्छु । सुरज चापागाईं गाउन थाल्छन्ः
‘फूलहरू मुस्काउँछन्, तिमीले देख्छौ र !
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र !’
शब्द मिठो, संगीत झन्, स्वर त्यस्तै !
‘जुन हेर्नु तिमी माथिमाथि सागरको,
म हेर्छु मेरो जुन तिम्रो नजरको ।’
यस्ता गीतहरूले यात्रालाई ‘सत्यम्, शिवम् सुन्दरम्’ बनाइदिन्छन् ।
‘... तिमी बिहान साँझ मेरो, तिम्रै बाटो हेरौँला ।’
एक–एक शब्द अहा !
‘... नछोएर हरदम छुनु ।’
घुम्ती र मोडहरूमा नेटवर्कले राम्ररी काम गर्न छाडेपछि गीतका अन्तराहरू टुक्रिन थाले । तर ती टुक्राहरू पनि टलक्क, जसरी टल्कन्छन् कर्कलाको पातमा पानी थोपाहरू !
चिसापानी पुग्दा बिहानको सवा १० भइसक्या छ । बाक्लो जङ्गलबिच सडकछेउ भात होटेल रै'छ ।
‘सुन्दरीजल नज्दिकी हे ना, इदरसे’, तात्तातो मासुभात खाइरहँदा अघिकै आग्रावालाले सोध्यो । सोध्यो भन्नु कि बतायो भन्नु !
चिसापानी भनेको नागार्जुन–शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सुन्दरीजलमाथिको चिसापानी मात्र हो भन्ने परेको रहेछ उसलाई । नेपालमा जहाँतहीँ चिसापानी छ भन्ने उसलाई के थाहा !
नागढुंगा छेउको चिसापानी, कर्णालीको चिसापानी, हाम्रै गाउँको चिसापानी र यस्ता अनेक चिसापानी नाउँका ठाउँ प्रत्येक गाउँमा यता भनेर उताको उसलाई बुझाइरहने जाँगर गरिनँ । किनकि मेरो अगाडि मज्जाको मासुभात थियो, मज्जैको रससहित, अचार त्यस्तै ट्वाक्क ! केही दिनको लागि मेरो जिब्रोमात्र होइन, शरीरप्रिय यो अन्तिम नेपाली भात थियो । त्यसैले म चिसापानी चर्चामा होइन, मासुभात मस्तीमा । मिठो, सारै मिठो !
मासुभात उकालो लागेर घाँटीसम्म आएपछि ओरालो बाटो सुरु भयो ।
‘यो मकवानपुरको पुरानो सदरमुकाम हो, तलतिर देखिएको भीमफेदी देखाउँदै ड्राइभरले भन्यो, 'अहिले त हेटौँडा।' गुडेर होइन, बोकिएर भीमफेदी हुँदै काठमाडौँ भित्रिएको थियो पहिलो पटक नेपालमा गाडी । हामी त्यस्तो ऐतिहासिक भीमफेदीमा गुड्दै गरेको गाडीमा बोकिएर भैसे जाँदै थियौँ । पहिलो पटक त्यही बाटो मान्छेले गाडी बोकेका थिए र अहिलेचाहिँ हामीलाई गाडीले बोक्या छ ।
माओवादी सशस्त्र युद्धताका समाचारमा निकै सुनिने सुपारीटार व्यारेकछेउको राप्ती किनारैकिनार नजिकिँदै छौं, देशको राजधानीको प्रदेश राजधानी हेटौँडा ।
स्पिड ठिकै थियो, चौकीटोलमा एकजना अधवैँशेले एक्कासि हात दियो ।
‘ढोका खोल्नु न’, गाडी रोक्न नपाउँदै चर्केर उसले भन्यो ।
‘सिट छैन, अर्कोमा आउनु’, ड्राइभरले पनि च्याँठिएरै भन्यो ।
‘एकै छिन त हो, बुद्ध चोकसम्म । लैदिनु न’ उसले जिद्दी कस्यो । यताबाट जाँदा बुद्धचोक हेटौँडा बजारको सुरुमै पर्छ ।
गाडीका हामी सबैले हुन्छ भनिदियौँ । भनिदियौँ पनि के भन्नु, एकाधले हुन्छ भने, बाँकी अरूले चाहिँ अब्जेक्सन गरेनन् ।
ऊ ढोका छेउ आधा उभिएको र आधा बसेको अवस्थामा तर वाचाल ! एक छिन पनि नबोली बस्न नसक्ने रहेछ ऊ । कोही कोही यस्ता हुन्छन् सबैतिर, फतौरे टाइपको ।
गाडीमा हामी जो जति नेपाली थियौँ, सबैलाई उसको एउटै प्रश्न, ‘पहाडघर कहाँ ?’
‘नुवाकोट’, एउटाले भन्यो ।
‘गोरखा’, अर्कोले भन्यो ।
‘नुवाकोट कहाँ ? गोरखा कहाँ ?’, उसले प्रत्येकलाई एकमुष्ठ तर छुट्टाछुट्टै सोध्यो ?
पहाडीहरुको बसोबास भएको तराई–मधेस क्षेत्रको अनुभूति पहाडी मूलको उसको प्रश्नमा सुनिन्थ्यो । हेटौँडा, नारायणगढ, परासीतिरकाहरु पहाडी अनुहार देख्नेबित्तिकै यो वा यस्तै प्रश्न गरिहाल्छन् । खासमा भन्ने हो भने अपरिचितसँग कुराको सुरुवातै यहीँबाट हुन्छ । उसले पनि पारा ल्याइहाल्यो ।
बुद्ध चोकमा ‘वाचाल’लाई छाडेर अशाकैअशोकले हरित हेटौँडा हाइवे छिचोल्दै गाडी अमलेखगञ्ज पुग्नै लाग्या छ ।
अर्को राजधानी पुग्नु छ साँझ सकेसम्म, पटना । तर, बिहारको राजधानी पुगिएला कि नपुगिएला कुनै कन्फिडेन्स छैन किनभने यो यात्रामा कुनै निश्चित आइटेनरी छैन ।
‘रक्सी त पाइन्न क्यारे विहारमा’, ड्राइभरलाई सोध्छु ।
‘खाने हो भने वीरगन्जमै हान्नुस्’, ऊ सुझाव दिन्छ ।
‘विहार र गुजरात ड्राइस्टेट हो’, सँगैसिटका एकजना ‘नेपाली’ केटो भन्छ ।
ड्राइस्टेट सूचना दिने ‘नेपाली केटो’ खासमा नेपाली होइन रहेछ, जसरी यता काठमाडौँमा जुत्ता सिलाउने भाइ नेपाली मान्छी थियो, इन्डियन होइन ।
हेर्दा ठ्याक्कै नेपाली थियो तर ऊ नेपाली मुलको कलकत्ते पो रहेछ ।
‘नाम के हो तपाईंको ?’
‘पवन खड्का ।’
नेपाली मूलको इन्डियन पवन पेसाले चाइनिज सेफ रहेछ । उसको नेपाली हजुरबा रेलवे प्रोटेक्सन फोर्स् (आरपीएफ) मा जागिरे थिएछन् ।
जागिरकै सिलसिलामा 'लभस्टोरी' लम्बिएपछि उनको नेपाली नागरिकता इन्डियन आधार कार्डमा बदलिएछ । त्यसरी छोरा, नाति (पवन) र परिवारका सन्तान–दरसन्तान सबै इन्डियन भएछन् ।
तर, साइनो सबै यता अझै । थाकथलोतिर अथकित रहेछ ऊ ।
‘मेरो मामाघर दिक्तेल हो अनि हाम्रो घरचाहिँ रामेछाप’, ऊ भन्दै थियो, ‘३० वर्षको भएँ, रामेछाप घर पटकपटक र मामाघर दिक्तेल केही पटक गएको छु । पहिलो पटक सानैमा ४ दिन हिँडेर दिक्तेल गएको थिएँ । पछि सडक बनेपछि पनि गएँ ।’
ऊ कलकत्ता जाँदै थियो । तर ऊ यताको कुरा गर्दै थियो । म भने उसलाई उता कलकत्तै लैजाने कोशिस गर्दैछु ।
‘कलकत्ते काइँयो, केश मेरो बाङ्गो, टेबलमा ऐना छ
पिरती मैले नलाएको होइन, तकदीरमा रैनछ ।’
माथिको गीतको सन्दर्भ निकाल्दै सोध्छु, ‘कलकत्ता काइँयोको लागि 'पपुलर' छ ?’
‘छैन । कहाँ हुनु ! कलकत्ता त दुर्गा पूजाको लागि पपुलर छ’, यति भन्दै उसले सोध्यो, ‘तपाईं कलकत्ता पनि जानुहुन्छ यसपाली ?’
‘जाने–नजाने सोचिसक्या छैन’, मैले मेरो जे हो, त्यही भनेँ ।
‘अहिले नजानु’, मेरो अनिर्णयलाई निर्णय दिँदै कलकत्ता जाँदै गरेको ऊ भन्छ, ‘जाने हो भने दुर्गा पूजामा जानु । यहाँजस्तो कहीँ हुन्न, इन्डियामा मात्र होइन, पुरा दुनियाँमा, दश दिनसम्म लगातार ।’
‘पेरिस पुग्नै पर्दैन आइफेल टावर हेर्न, दुबई पुग्नै पर्दैन बुर्ज खलिफा हेर्न, वासिङ्टनडिसी पुग्नै पर्दैन ह्वाइट हाउस हेर्न, आग्रा पुग्नै पर्दैन, ताजमहल हेर्न’, उसको यो सिलसिला रोकिनेवाला थिएन ।
‘अनि !’
‘ती सब हेर्न दुर्गा पूजामा कलकत्ता आउनु’, उसले निम्ता गर्यो ।
‘एक सालको पूजा सकिएको एक महिनापछि नै अर्को सालको पूजाको तयारी सुरु भइहाल्छ । आर्टिफिसियल आइफेल टावर, बुर्ज खलिफा, ह्वाइट हाउस, ताजमहल बन्न सुरु भइहाल्छ’, ऊ सुनाउँदै थियो, ‘वाफरेवाफ ! एक साल त यति भीड भयो कि सरकारले पन्डाल नै बन्द गरिदियो !’
‘पन्डाल भन्या के हो ?’
‘काँठ र बासले बनाएको भगवान् राख्ने ठाउँ ।’
‘अरू के के छन् खास, त्यता ?, म अझ उत्सुक हुन्छु ।
‘हावडाब्रिज, भिक्टोरिया मेमोरियल, अन्डरवाटर मेट्रो’, गाडीकै गतिमा थप्दै छ ऊ कलकत्ता बयान, ‘इन्डियाकै पहिलो हो, गंगानदी क्रस गर्ने पानीमुनिको यो रेल पाँच मिनेट दुरीको छ ।
‘दीगा वीच अर्को छुटाउन नहुने ठाउँ । अक्टोपस पनि पाइन्छ त्यहाँ । कलकत्ताबाट ४ घण्टा । १ सय २० भारु पर्छ भाडा’, ऊ निरन्तर जानकारी दिँदैछ ।
‘हाउडा स्टेसन पनि नछुटाउनु’, के के न हो झैँ गरेर उसले भन्यो, ‘यो इन्डियाकै सबभन्दा ठुलो ट्रेन स्टेसन हो, महाराष्ट्रको छत्रपति शिवाजी टर्मिनलचाहिँ सेकेन्ड विग्गेस्ट ।’
वेस्ट बंगालको राजधानी कलकत्ता जसलाई कोलकत्ता पनि भनिन्छ, जसलाई झन्डै डेढ दशकदेखि त्रिणमूल कंग्रेसकी ममता वेनर्जीले लिड गरिरहेकी छन् ।
‘ममता 'पपुलर' छिन् है ?’, म भन्छु ।
‘अर्को वर्ष चुनाव छ’, ऊ भन्छ । यसबाट थाहा हुन्छ उसकै शब्दमा ‘दिदी’को पपुलारिटी पहिलेको जस्तो अलि छैन । नत्र किन ऊ चुनाव चाँडै आउँदै गरेको प्रसङ्ग निकाल्थ्यो !
ममता वेनर्जीको राजनीतिक उत्थान, सत्तायात्रा र पछिल्लो समय केन्द्र सरकारसँग उनको सम्बन्ध आदिबारे हामीले निकै बेर थप चर्चा गर्यौँ ।
दार्जिलिङ पनि वेस्ट बंगालमै पर्छ भन्दै पवनले गोर्खाल्यान्डको प्रसङ्ग पनि निकाल्यो । तर, हामीले त्यसबारे थप छलफल गरेनौं । बरु विषयलाई अरू आयामतिर मोड्यौं ।
‘बलिउडलाई कलाकार दिन सुरु गर्या नै कलकत्ताबाट बंगालीहरुले हो सुरुमा’, त्यति भन्दै उसले कलाकारहरूको नामक्रम सुरु गर्यो, ‘मोहम्मद रफी, मन्नाडे, हेमन्त दा, मोहम्मद अजीज, किशोर कुमार, उत्तम कुँवर, कुमार सानु, अरजीव सिंह, काजल, विपाशा वशु ... ।’
सुभाषचन्द्र बोस पनि वेस्ट बंगालकै हो भन्दै उसले स्वर उँचो पार्यो, ‘बोस इज रियल बोस अफ इन्डिया ।’
‘यु गिभ मी ब्लड, आइ गिभ यु फ्रिडम !’, बोसलाई उद्धृत गर्दै उसले थप्यो, ‘फुटबलमा पनि सुनिल क्षेत्री, भाइचन भुटियाहरुले राम्रै गरे ।’
‘यता नेपालीहरू चाहिँ डिफेन्समा जान चाहन्छन्’, उसले सायद आफ्नो हजुरबुवाको कलकत्ता कनेक्सन सम्झेर भन्यो ।
पर्सा राष्ट्रिय निकुञ्जनजिक पथलैया क्रस गरेर वीरगन्ज नजिक पुगेपछि उसले एक्कासि डिस्टेन्स डाटा दियो, ‘वीरगन्ज –कोलकत्ता ६९७ किमी ।’ ऊ रक्सौलबाट रातभरमा त्यो यात्रा पूरा गर्दै जन्मथलो कलकत्ता पुग्नेछ ।
उसकै शब्दमा ‘सानो’ कामले जोरपाटी बस्ने सानीमाकहाँ आमासँग आएर आमासँगै काठमाडौँबाट कलकत्ता फर्किँदै गरेको उसले केही सम्झे झैँ गरी भन्यो, ‘कलकत्ता गएको बेला कालीघाट पनि जानु है ।’
‘किन जानै पर्ने ठाउँ हो घाट ?’, यो मैले उसलाई सोधिनँ । तर, यो प्रश्न यी पङ्क्ति पढिरहने तपाईँलाई !
कागजले इन्डियन, खासमा ‘नेपाली’ ऊ काठमाडौँ बस्दा नजिकका पहाडतिर हाइकिङ पनि गएको रहेछ ।
‘यहाँ त ‘त्यो’ लाउँदो रहेछ, उता हामी त साग लाउँछौँ करेसामा । पहाडतिर जताततै गाँजा पाइने रहेछ’, उसले उपत्यकाको अमुक गाउँतिर हिँड्दा देखेको सुनायो ।
वीरगन्ज आइसक्यो । वीरगन्जका ताल देखेर खुसी लाग्यो । दुई–तीनवटै ताल देखेर आँखालाई शीतल भयो । तिनलाई ताल भन्ने कि पोखरी ?
हल्ला नगरी हल्लवाली ओर्ली । चाइचुईं सुनिएन पुरै यात्रामा उसको । म पनि गाडी छाडेर नजिकैको बियर दुकान गएँ । हल्ला नगरी एक बोतल स्ट्रोङ फुच्चे टुबोर्ग हान्दिएँ । सारै नमिठो ! न चिसो न स्वादिलो ! मुड खराब ! बेकारमा खाइछु जस्तो लाग्यो । बियर खाँदा कहिलेकाहीँ मलाई यस्तो हुन्छ ।
गाडी छाडेर म घडीघर क्रस गर्दै बोर्डरतिर लम्केँ । दिउँसोको दुई बजेको छ ।
लिवाइज कट्टु, ट्रेकिङ व्याग, वेस्टर्न क्याप, लेदर चप्पलमा म पैदल रक्सोल जाँदै थिएँ । दशगजा पार गरेर इन्डियन साइडको चेकप्वाइन्ट पुग्दा मलाई भिषा देखाउन भनियो ।
‘हम तो नेपाली हे भाइ, काठमाडौँ से आया इन्डिया घुम्ने के लिए’, पासपोर्ट देखाउँदै मैले भनेँ ।
त्यहाँ मैले पासपोर्ट देखाउनै पर्दैन थियो । नागरिकताले काम चलिहाल्थ्यो । र, सजिलोसँग काम चलिहाल्थ्यो । बरु पासपोर्ट देखाउँदा झन्झट !
सेक्युरिटीमा रहेका एकजना, होइन, दुई जना होइन, तीन जनाले पटक पटक मेरो पासपोर्ट हेरे ।
र, अन्तिममा आएकी ‘अफिसर्नी’ले पासपोर्ट मेरो हातमा थमाउँदै भनी, ‘भाइजी शुभयात्रा !’
बोर्डर क्रस नहुँदैदेखि अटोवालाको आतंक अनेकन् । क्रस भएपछि अझ बढी । आएका आयै छन् । हमारेमे चलो भनेको भन्यै छन् । तर, म वास्ता नगरी रक्सौले रेल स्टेसनको लोकेसन पछ्यारहेको थिएँ ।
गर्मी थियो, तर सोचे जत्तिचाहिँ होइन । तैपनि पसिना तरररर ... । फोहोरचाहिँ अचाक्ली नै ।
पाँचौँ च्याप्टरको लागि रातोपाटी हेर्दै गर्नुहोला ।
(घुम्ने–घुमाउने, लेख्ने–लेखाउने र पढ्ने–पढाउने स्वतन्त्र पत्रकार अशोक सिलवाल लाङटाङ सद्भावनादूत तथा अप्प दीपो भवः, श्रीलंका स्मृति, लेखक दुनियाँ र कलमका सर्जक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण