विन्दुको विरासत धान्दै सौगात, ७० करोडको लगानीमा रिसोर्ट
सारांश
- गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको समूहले पोखरामा 'बगैंचा रिसोर्ट एण्ड स्पा' सञ्चालनमा ल्याएको छ।
- रिसोर्टको उद्घाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरिन्, र युवा पुस्ताको व्यवसायप्रतिको लगावको प्रशंसा गरिन्।
- रिसोर्टले स्थानीय उत्पादन र संस्कृतिको संरक्षणमा जोड दिँदै, वातावरणमैत्री उपायहरू अवलम्बन गरेको छ।
पोखरा । गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा राजनीतिमा मात्र होइन, व्यापार–व्यवसायमा पनि उत्तिकै सफल छन् । उनी अध्यक्ष रहेको अंशुभरा ग्रुपले पोखराको लेकसाइडमा झन्डै पौने अर्ब लगानी गरेर ‘बगैंचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याएको छ ।
यो रिसोर्टको पूरा नेतृत्व सम्हालेका छन् मन्त्री थापाका छोरा सौगातले । परराष्ट्रमन्त्री आरजु राणा देउवाले यो रिसोर्ट उदघाटन गर्दै युवाको जोसमा समर्थन जनाउन आफू उदघाटनका लागि राजी भएको बताइन् ।
‘अहिलेका युवाहरू बिदेसिने लहर छ । सौगातसँग पनि विश्वका हरेक देशमा बिक्न सक्ने क्षमता छ,’ मन्त्री राणाले भनिन्, ‘तर उनले नेपाल रोजे । यो प्रशंसनीय काम हो ।’
सौगात पोखरामा दोस्रो पुस्ताका चर्चित व्यवसायीमध्ये एक हुन् । उनकै चाहनामा बगैंचाले नयाँ स्वरुप पाएको हो ।
‘हामीले यसलाई होटलका रूपमा मात्रै ठड्याएका छैनौँ । यसमा नेपाली माटोको सुगन्ध छ, आफ्नोपन झल्किन्छ,’ सौगातले भने, ‘हाम्रो पुस्ताको उदाहरण बन्ने चाहनाले म बाबाको विरासतमा हिडेको हुँ ।’
होटलमा आउने हरेक पाहुनाका नाममा बगैंचाले एउटा बिरुवा रोप्ने योजना बनाएको छ । यसबाट प्रकृतिप्रति सबैको अपनत्व बढ्ने उनले सुनाए ।
‘हरेक पाहुनाको नाममा एउटा बिरुवा रोपिदिन्छौँ । यसबाट प्रकृतिप्रति उहाँहरूको प्रेम बढ्छ,’ सौगातले भने, ‘जलवायु संकटले हाम्रो देशलाई यो अवस्थामा पुर्याएको छ भने यसबाट मुक्ति पाउन हाम्रै पुस्ताले कुनै उदाहरणीय काम गरेर देखाउनुपर्छ । हाम्रो होटलले त्यसमा थोरै भए पनि योगदान दिने सोचेको छ ।’
रिसोर्टमा बासका लागि १ सय ५० डलरदेखि ३ सय ५० डलरसम्म तिर्नुपर्छ । पूरा होटलभरि ३२ वटा कोठा छन् । रिसोर्टभित्र रहेको ‘टारो पुलसाइड बार’ र ‘मरिच इन्डो–चाइनिज रेष्टुरेण्ट’ तथा ‘उमामी प्यान–एसियन रेष्टुरेण्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने उनले दावी गरे । रिसोर्टमा प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्ग्यानिक फार्मबाट ल्याइनेछ भने प्लाष्टिकलाई निषेध गरिएको उनको भनाइ छ ।
‘काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ । एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोग रिसोर्टमा गरिएको छ,’ सौगातले थपे, ‘यसबाट स्थानीय उत्पादनले बजार पाउँछ भने हाम्रो मौलिक संस्कृतिको संरक्षणमा पनि योगदान पुग्छ ।’
अंशुभरा ग्रुपका अध्यक्ष विन्दुकुमार थापाले वातावरणीय संरक्षणको दृष्टिकोणबाट रिसोर्टको परिकल्पना गरिएको बताए ।
‘बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण हो । यहाँ जलवायु सचेतता अनुरूप वर्षाको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ,’ उनले भने ।
रिसोर्टमा ७० करोडभन्दा बढी लगानी रहेको ग्रुपले जनाएको छ । रिसोर्ट ४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण