शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षकको पेसागत नैतिकता र दायित्व

बिहीबार, १५ साउन २०८२, १३ : ११
बिहीबार, १५ साउन २०८२

नैतिकता र इमानदारीले शिक्षण पेसामा विश्वास र वैधताको आधार तयार गर्छ । शिक्षकको निर्णय र आचरणमा सामाजिक मूल्य–मान्यता प्रतिविम्बित हुन्छ, जसले विद्यालय प्रणालीमाथि आम जनविश्वास जगाउँछ । नेपालको बहुभाषिक र विविधतापूर्ण परिवेशमा शिक्षकहरूको निष्पक्षता, आदर र करुणाले छुट्टै आदर्श मात्र स्थापित गर्दैन समग्रमा शिक्षा प्रणालीको इमानदारीलाई पनि मजबुत बनाउँछ ।

अन्तर्राष्ट्रिय स्तरमा ओईसीडी (अर्गानाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट) र ‘उनेस्को’जस्ता संस्थाले शिक्षकहरूलाई उच्च नैतिकताको वाहक र गुणस्तरको संरक्षकका रूपमा हेर्छन् । उदाहरणका लागि यी संस्थाले शिक्षक र शिक्षण पेसालाई ‘नैतिकताको रक्षक’ भनेर व्याख्या गरेका छन् । फिनल्यान्ड, सिङ्गापुर र क्यानडामा शिक्षक प्रशिक्षण र मूल्याङ्कन प्रक्रियाले यी सिद्धान्तलाई व्यावहारिक बनाएको पाइन्छ, जहाँ प्रतिविम्बी अभ्यास (रिफलेक्टिभ प्राक्टिस) र सहकार्यात्मक शिक्षणले शिक्षकलाई निरन्तर सुधारतर्फ प्रेरित गर्छ । नेपालका लागि यस्ता कानुनी र व्यवस्थागत मोडलहरू सिधै लागु नगरे पनि ती सिद्धान्तबाट प्रेरणा लिएर स्थानीय शैलीमा परिमार्जन गर्न सकिन्छ ।

नेपालले यी अन्तर्राष्ट्रिय सिद्धान्तहरू नक्कल गर्नुको सट्टा अनिवार्य आत्म–मूल्याङ्कन, समावेशी शिक्षण र निरन्तर व्यावसायिक विकासजस्ता उपाय अपनाउन सक्छ । उदाहरणका लागि, विश्वव्यापी रूपमा ‘युनिभर्सल डिजाइन फर् लर्निङ’ (यूडीएल) फ्रेमवर्क सबै विद्यार्थीलाई समावेश गर्ने उपाय मानिन्छ र यसले भेदभावलाई चिर्न मद्दत गर्छ । साथै शिक्षकले आफ्नो आत्मशिक्षण र अनुभवबाट आफ्नो पठनपाठन पद्धति सुधारिरहने संस्कार बनाउनुपर्छ । यसरी नेपालले स्थानीय सांस्कृतिक र भाषिक सन्दर्भलाई आत्मसात् गरी आधुनिक पेसागत अभ्यासलाई अपनाउन सक्नेछ ।

नेपालमा नीति र अभ्यासबिच गहिरो असमानता देखिन्छ । राष्ट्रिय शिक्षा नीति र हालको विद्यालय क्षेत्र विकास योजनामा विद्यार्थी केन्द्रित र क्षमतामा आधारित शिक्षालाई प्राथमिकता दिइएको छ तर व्यवहारमा बहुसंख्यक विद्यालय अझै परीक्षा केन्द्रित र अध्यापक केन्द्रित शैलीमा सञ्चालन भइरहेकै छन् । पढाइलाई मात्र अंक र रटानमा सीमित गर्ने दृष्टिकोणले विद्यार्थीमा डर र तनाव उत्पन्न गर्छ, जसले सिकाइ प्रक्रियालाई नकारात्मक असर गर्छ । यसै गरी राजनीतिक हस्तक्षेपका कारण शिक्षक सरुवा–बढुवामा पारदर्शिता घटेको छ, लगातार तालिमको अभावले पुरानो पद्धति दोहोर्‍याएको छ र कमजोर पूर्वाधारले प्रविधिमैत्री शिक्षणलाई चुनौती दिएको छ । यी खाडलले विशेष गरी दलित, आदिवासी, महिला, ग्रामीण क्षेत्रका पिछडिएका वर्गलाई बढी प्रभावित गर्छन् र यसलाई केवल प्रशासनिक समस्या मान्नुभन्दा न्याय र समानतासँग जोडिएको नैतिक मुद्दा हो ।

शिक्षक स्वयंले सुधारतर्फ अघि बढ्नुपर्छ भन्ने विचारलाई आत्मनियमन भनिन्छ । जापानको ‘लेसन स्टडी’ र फिनल्यान्डको ‘पिअर कोचिङ’ जस्ता अभ्यासले देखाउँछन् कि जब शिक्षक आफ्नै कक्षामा अनुसन्धानमा संलग्न हुन्छन्, तब सुधार स्वाभाविक रूपमा हुन्छ । 

नेपालमा नीति र अभ्यासबिच गहिरो असमानता देखिन्छ । राष्ट्रिय शिक्षा नीति र हालको विद्यालय क्षेत्र विकास योजनामा विद्यार्थी केन्द्रित र क्षमतामा आधारित शिक्षालाई प्राथमिकता दिइएको छ तर व्यवहारमा बहुसंख्यक विद्यालय अझै परीक्षा केन्द्रित र अध्यापक केन्द्रित शैलीमा सञ्चालन भइरहेकै छन् ।

नेपालको शिक्षक पेसागत विकास (टीपीडी) तालिममा पनि शिक्षकहरूले प्रत्येक चरणमा कक्षा आधारित अनुसन्धान परियोजना सम्पन्न गर्नुपर्छ । यस्ता परियोजनाले वास्तविक कक्षा गतिविधिमा आधारित सुधारको वातावरण दिन्छ । यद्यपि नेपालमा अहिलेसम्म ती प्रोजेक्टमा आवश्यक प्रतिक्रिया नदिइएको गुनासो सुनिएको छ, आगामी दिनमा यसलाई अभिप्रायपूर्ण रूपमा उपयोग गरिन्छ भने ‘सुधारकर्मी’ प्रवृत्ति विकास हुनेछ । 
योजनाबद्ध शिक्षण पनि नैतिकताको महत्त्वपूर्ण पक्ष हो । कक्षामा प्रभावकारी शिक्षणका लागि ‘ब्याकवार्ड डिजाइन्’ विधि अपनाएर सुरुमा पाठ्य–उद्देश्य तय गरी मूल्याङ्कन र क्रियाकलाप तय गर्न सकिन्छ । नेपालको राष्ट्रिय विद्यालय सुधार योजनामा विद्यार्थी प्रोफाइल, निदानात्मक उपकरण र सजीव संकेतक समावेश गरी डिजिटल बनाइयो भने शिक्षक र व्यवस्थापनले स्रोतको योजनाबद्ध प्रयोग गर्न सजिलो हुनेछ । स्पष्ट र उद्देश्यकेन्द्रित पाठ योजना बनाएर विविध विद्यार्थीको आवश्यकतालाई पहिचान गरी सम्बोधन गर्नु नै नैतिक योजना बनाउने लक्ष्य हो ।

पाठ योजनालाई कक्षामा कार्यान्वयन गर्दा संवादात्मक शिक्षण अनिवार्य हुन्छ । बहुभाषिक कक्षामा एकपक्षीय व्याख्यानले धेरै विद्यार्थीलाई मौन बनाउँछ । यसको सट्टा ‘थिङ्क पेयर सेयर’, मातृभाषामा समूह चर्चा, स्थानीय स्रोत व्यक्तिको सहभागीजस्ता सजिला तरिकाले सबै विद्यार्थीको आवाज सुनेर समावेश गर्न सकिन्छ । ‘उनेस्को’ले पनि मातृभाषामा आधारित बहुभाषी शिक्षाले पहुँच र समावेशीकरण बढाउने बताएको छ । यसले नेपालको संविधानलाई व्यवहारमा उतार्न समेत सहयोग गर्छ ।

‘शिक्षणमा निरन्तर मूल्याङ्कन’ नैतिकताका लागि अति आवश्यक छ । एसईई लगायत उच्च स्तरका परीक्षाहरू हाम्रो समाजमा प्रतिष्ठाका विषय हुन् तर परीक्षा केन्द्रित प्रणालीले सामान्यतः भय र रटान बढाउँछ । यसको साटो शिक्षकले विद्यार्थीलाई छोटो क्विज, पोर्टफोलियो तथा प्रतिविम्बी लेखनमार्फत तुरुन्त प्रतिक्रिया दिनुपर्छ । यसरी सिकाइ प्रगतिमा आधारित हुन्छ । हाल नेपालमा ‘निरन्तर मूल्याङ्कन प्रणाली’ अव्यवस्थित छ; यसलाई पुनर्जीवित गर्न विद्यालय स्तरीय शिक्षक समूहलाई विद्यार्थीको काम विश्लेषण, गल्ती–शैली पहिचान र सुधारात्मक रणनीति साझा गर्ने मञ्च बनाउन आवश्यक छ ।

शिक्षक अलग–थलग हुने कि सहकार्यमा बस्ने भन्ने प्रश्न पनि व्यावहारिक र नैतिक दुवै हो । अलग–अलग शिक्षक सूचना अपडेटबाट वञ्चित रहन्छन् र निगरानी बाहिर परेर अनैतिकतामा झुकाव हुन सक्छ । अध्ययनहरूले देखाएका छन् कि विद्यालयमूलक र क्लस्टरमूलक व्यावसायिक विकासमा शिक्षकले विचार आदान–प्रदान गरी सहकार्य गर्न र एकअर्कालाई निरन्तर प्रतिक्रिया दिन सक्छन् । नेपालका शिक्षक समूह भेटघाटलाई पाठ भिडियो समीक्षा, सूक्ष्मपाठ अभ्यास र साझा कार्ययोजना केन्द्रित बनाइयो भने पारस्परिक जवाफदेहिता बढ्छ र नोट बेच्ने, पक्षपातपूर्ण मूल्याङ्कनजस्ता अनैतिक व्यवहार स्वाभाविक रूपमा घट्छ ।
समावेशी अभ्यास नैतिक शिक्षणको स्पष्ट सूचक हो । जातीय, लैंगिक, क्षेत्रीय वा अशक्तताका आधारमा विद्यार्थीलाई अलग गर्नु मात्र अन्याय होइन, संविधानविरोधी व्यवहार हो । ‘यूडीएल’ ढाँचाले सबै प्रकारका सिक्ने विद्यार्थीलाई ध्यानमा राख्दै शैक्षिक सामग्री तथा विधि तयार गर्न सुझाव दिन्छ । उदाहरणका लागि साना विद्यालयमा छुने सामग्री, विपरीत लिङ्गका शिक्षकको सामेल हुनुले प्रत्येक विद्यार्थीलाई शिक्षण–अनुभव पहुँचयोग्य बनाउँछ । यस्तो समावेशी वातावरण विद्यालयलाई ‘समाज–समभाव प्रयोगशाला’ जस्तै बदल्न सहयोगी हुन्छ ।

ज्ञान साझा गर्नु पनि गुणस्तरीय शिक्षणको महत्त्वपूर्ण आयाम हो । उनेस्कोका अनुसार ‘ओपन एजुकेसनल रिसोर्सेज’ (ओईआर) वा खुला शैक्षिक सामग्रीले सबैलाई निःशुल्क पहुँच र सामग्रीको पुनः प्रयोग गर्ने अवसर दिन्छ । डिजिटल पुस्तकालयमा पाठ योजना र मूल्याङ्कन मापदण्डहरू राखेपछि ग्रामीण विद्यालयले समेत तुरुन्त लाभ पाउँछन् । साथै शिक्षक स्थानान्तरण र पदोन्नतिका मापदण्डमा साझा गरिएको सामग्रीलाई अंक दिने व्यवस्था लागु गरेमा उदारता र सहकार्यलाई नैतिक पुरस्कार मिल्छ ।

द्रूत परिवर्तनशील विश्वमा शिक्षकका लागि आजीवन सिकाइ नै नैतिक दायित्व हो । शिक्षण प्रविधि र विधि निरन्तर परिवर्तन भइरहने हुँदा अनवरत अध्ययनविना शिक्षक ‘सीमित ज्ञानको जाल’मा फस्न सक्छन् । उनेस्कोले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न हरेक विद्यार्थीको योग्य शिक्षकको पहुँच चाहिएको र शिक्षकलाई निरन्तर व्यावसायिक विकासमा संलग्न हुनुपर्ने बताएको छ । यसैकारण मुक्स, माइक्रो–प्रमाणपत्र र समुदाय–आधारित कार्यशालालाई शिक्षक विकासको मान्यता मानचित्रमा जोड्न सकिने विषयमा छलफल भइरहेछ । यसले राष्ट्रको दिगो विकास लक्ष्यमा शिक्षकलाई संलग्न बनाउँछ ।
शिक्षण विधिको छनोट पनि नैतिक निर्णय हो । बालबालिकालाई संरचित शिक्षाशास्त्र (पेडागोगी) चाहिन्छ भने वयस्कलाई आत्म निर्देशित ‘एन्ड्रागोगी’ उपयुक्त हुन्छ । विद्यार्थीको उमेर, पृष्ठभूमि र आवश्यकता हेरेर सिकाइका विभिन्न मिश्रित विधिहरू प्रयोग गर्नु नै असरदार हुन्छ । 

सिर्जनात्मक रूपान्तरण शिक्षणको उच्चतम शिखर हो । सीमित स्रोत भएका कक्षा र विद्यालयले पनि स्थानीय समस्या समाधान गर्ने सिर्जनशील परियोजनामा विद्यार्थीलाई संलग्न गराउन सक्छन् । जस्तो ः मुगुका ग्रामीण विद्यालयमा किफायती पानी फिल्टर निर्माण वा मोबाइल आधारित ट्युटोरियल जस्ता कार्यक्रमले विद्यार्थीलाई ‘प्राप्तकर्ता’ होइन ‘स्रष्टा’ बनाउँछ  । यस्तो अनुभवले उनीहरूमा समस्या समाधान गर्ने क्षमताको विकास गर्छ र यसैमा नैतिक विजय लुकेको हुन्छ ।

शिक्षालयलाई पूर्ण रूपमा ‘लर्निङ अर्गनाइजेसन’ बनाउन सक्नुपर्छ । साझा दृष्टि, प्रणालीगत सोच र कौशल विकासलाई समर्थन गर्ने विद्यालय संस्कृति आवश्यक छ । राजनीतिक हस्तक्षेप कम गर्न पारदर्शी विद्यालय व्यवस्थापन समिति, तथ्याङ्कमा आधारित वार्षिक सिकाइ प्रतिवेदन तथा शिक्षक नेतृत्वमा सूक्ष्म नवप्रवर्तन कोष स्थापना गर्दा सहकार्य र नवप्रवर्तनको वातावरण विकास हुन सक्छ । यसरी विद्यालयले सिक्ने संस्थाको रूपमा काम गर्दा शिक्षकको सूक्ष्म प्रयास मात्रै नभई संस्था नै बलियो बनाउँछ ।

दैनिक व्यवहारमा देखिने साना–साना अभ्यासहरूले दीर्घकालीन संस्कार बनाउँछन् । उदाहरणका लागि विद्यार्थीलाई नामले सम्बोधन गर्नु, व्यवहार नियम स्पष्ट हुनु, दोस्रो मौका प्रदान गर्नु र सबैलाई समान सहभागिताको अवसर दिनुजस्ता कामले विद्यार्थीमा सम्मान र न्यायको भावना जगाउँछ । 

दक्षिण कोरियाको मेरिटमा आधारित शिक्षक नियुक्ति, न्युजिल्यान्डको सन्तुलित मूल्याङ्कन प्रणाली र चिलीको ग्रामीण क्षतिपूर्ति कार्यक्रम आदि लागु छन् । नेपालले आफ्नो स्थानीय सन्दर्भ अनुसार यस्ता मिस्रित मोडल अपनाएर चुनौतीलाई अवसरमा बदल्न सक्छ ।

शिक्षकको पेसागत नैतिकता र असल चरित्रले लोकतन्त्र सुदृढीकरण र दिगो राष्ट्रिय विकासमा समेत योगदान पुर्‍याउँछ । यसतर्फ नेतृत्वकर्ताले ध्यान दिन जरुरी छ ।
(साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर सिंह साउद
डम्मर सिंह साउद
लेखकबाट थप