पोखरामा कोटीहोमका लागि रुख काटेका ७ जनाविरुद्ध ४ महिनापछि अदालतमा मुद्दा दायर
सारांश
- पोखरामा कोटीहोम महायज्ञका नाममा रुख काटिएपछि विवाद हुँदा मुद्दा दायर गरिएको छ।
- वन कार्यालयले रुख काट्ने ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
- फागुनमा ३३ वटा रुख काटिएको र प्रचलित वन ऐनअनुसार प्रक्रिया पूरा नभएको पाइएको छ।
पोखरा । केही समयअघि पोखरामा ‘कोटीहोम’ महायज्ञका नाममा सयौँ वर्ष पुराना ऐतिहासिक रुखहरू गैरकानुनी रूपमा काटेपछि त्यसाको चर्को विवाद भयो । धेरैले आलोचना गरे । सोही कारण लेकसाइडमा हुने भनिएको कोटीहोमको ठाउँ सारेर बिरौटा पुर्याइयो । कोटीहोम सकियो पनि । रुख काटेको आरोपमा डिभिजन वन कार्यालय, कास्कीले ७ जनाविरुद्ध अहिले आएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका रुखहरू काटिएको घटनामा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो ।
मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।
वन कार्यालयका अनुसार, गत फागुनमा मानवसेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोम महायज्ञका लागि दाउरा (समिधा) संकलन गर्ने भन्दै पोखराका विभिन्न ठाउँमा रहेका ३३ वटा पुराना रुखहरू काटिएको थियो । अनुसन्धानका क्रममा रुख कटान गर्दा प्रचलित वन ऐन, २०७६ र वन नियमावली, २०७९ मा तोकिएको प्रक्रिया पूरा नगरिएको वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार, रुखका हाँगाहरू प्रक्रिया नपुर्याई काट्ने र बेच्ने कामसमेत भएको अनुसन्धानबाट खुलेको छ ।
रुख काट्नेलाई बिगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार मुद्दा दायर गरिएको काफ्लेले बताए । घटना सार्वजनिक भएपछि पोखरामा नागरिक स्तरबाट व्यापक विरोध भएको थियो । पोखरा पंक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा समेत उजुरी परेको थियो । यसअघि पोखरा महानगरपालिकाले काटिएका रुखका दाउरा जफत गरेको थियो । महिनौँको अनुसन्धानपछि वन कार्यालयले अन्ततः अदालतमा मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण