बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादीसँग एकता : माधव सकारात्मक, झलनाथ र वामदेव नकारात्मक !

शुक्रबार, १६ साउन २०८२, १८ : ३५
शुक्रबार, १६ साउन २०८२

सारांश

  • माओवादी केन्द्रको स्थायी समिति बैठकले आन्तरिक एकता सुदृढ गर्ने र समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गर्यो।
  • एकीकृत समाजवादीसँग पार्टी एकता सकारात्मक देखिए पनि झलनाथ खनाल र वामदेव गौतमको भूमिकाका कारण अवरोध आउन सक्ने संकेत देखा परेको छ।
  • विप्लव नेतृत्वको नेकपा लगायतसँग पार्टी एकताका लागि पहल भइरहेको छ भने समाजवादी मोर्चालाई थप सक्रिय बनाइने भएको छ।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को स्थायी समिति एक वर्षमा शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्यो । 

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा प्रस्तुत गरे । मुख्यतः पाँच वटा एजेण्डामध्ये आन्तरिक एकतालाई सुदृढ गर्ने र समाजवादी मोर्चालाई सक्रिय बनाउने थियो । 

सोही एजेण्डालाई विश्लेषण गर्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय पार्टीको आन्तरिक विवादलाई बाहिर रहेको विषयमा असन्तुष्टि पोखे । पार्टीभित्र स्वार्थ समूह हाबी भएको भन्दै विघटन गर्न प्रस्ताव गरे । 

उपमहासचिव शर्मालाई सचेत गराउँदै आगामी दिनमा आन्तरिक कुरा बाहिर नलैजान आग्रह गरे । ब्रिफिङ गर्ने क्रममा नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता सकारात्मक भएको जानकारी गराए । 

साउन ११ र १२ गते प्रचण्ड निवास खुमलटार र सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भएको छलफलबारे प्रचण्डले बैठकलाई जानकारी गराएका थिए ।

पार्टी एकताका लागि नेपाल सकारात्मक देखिए पनि सम्मानित नेता झलनाथ खनाल र पछिल्लो समय पार्टी प्रवेश गरेका वामदेवको भूमिकाका कारण एकताको पहलकदमीमा अवरोध आउन सक्ने सङ्केत गरे ।

खनालले एक टेलिभिजन अन्तर्वार्तामा एमाले विभाजन गर्नु गल्ती थियो । पार्टी विभाजनको औचित्य पुष्टि भएन भन्ने अभिव्यक्तिलाई प्रसङ्गको रूपमा उनले बैठकमा धारणा राखेको एक नेताले बताए । यस्तै साउन २ गते एकीकृत समाजवादीमा विलय भएका गौतमको भूमिका माओवादीसँग भन्दा पनि एमालेसँग एकता गर्नुपर्ने बढी जोड रहेको आशय व्यक्त गरेका थिए ।

‘अध्यक्षले समाजवादी मोर्चालाई थप सक्रिय बनाएर लैजाने विषय जानकारी गराउनुभयो । एकीकृत समाजवादीसँगको एकता सकारात्मक छ । तर झलनाथ र वामदेवको नाम नलिई एकता प्रक्रिया रोक्ने खालका गतिविधि र अभिव्यक्ति आइरहेका छन् । एक नेताले त एमाले विभाजन गर्नु गल्ती थियो भनेर अभिव्यक्ति आएको छ । केही नेताले माओवादीसँग भन्दा एमालेसँग एकता गर्नुपर्छ भनेको कुरा सुनेको छु । माधवजी सँगको छलफल सकारात्मक भएको छ । चाँडै प्रक्रिया अगाडि बढाउँछौँ’, प्रचण्डको भनाइ उदृ गर्दै ती नेताले रातोपाटीसँग भने ।

यता विप्लव नेतृत्वको नेकपा लगायतसँग पनि पार्टी एकतालाई अगाडी बढाउने विषयमा पहल भइरहेको प्रचण्डले बताएका थिए । समाजवादी मोर्चामार्फत विचार, सिद्धान्त, कार्यदिशा लगायत विषयमा बहस र छलफल गर्दै एकता गर्ने विषयमा सकारात्मक छलफल भएको प्रचण्डले ब्रिफिङ गरेको उपमहासचिव हरिबोल गजुरेलले बताए ।

‘समाजवादी मोर्चालाई थप सक्रिय बनाउने र एकीकृत समाजवादीसँग एकता सकारात्मक भएको जानकारी गराउनु भएको छ । पूर्वप्रधानमन्त्री माधव नेपालसँगको दुईशचरणको छलफल सकारात्मक भएको पनि जानकारी गराउनुभयो । विप्लवसँग पनि पार्टी एकताका विषयमा पहल भइरहेको जानकारी गराउनुभयो’, उनले भने ।

पतञ्जली योगपीठको जग्गा हिनामिनाको आरोपमा नेपालविरुद्ध अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीमा अन्तरविरोध चर्किएको छ । अध्यक्ष पद छाड्नु पर्नेमा खनाल, रामकुमारी झाँक्री लगायत नेताहरूले लगातार दबाब दिँदै आएका छन् । 

माओवादीसँग पार्टी एकता गर्ने विषयमा पनि एकीकृत समाजवादी दुई धारमा विभाजित भएका छन् । नेपाल कुनै हालतमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गर्ने पक्षमा देखिएका छैनन् । खनाल, गौतम लगायत नेताहरू एमाले सहितको एकताको पक्षमा देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप