शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

साउनको तेस्रो सोमबार : बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुला

सोमबार, १९ साउन २०८२, १० : १९
सोमबार, १९ साउन २०८२

सारांश

  • साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ मन्दिर र देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।
  • पशुपति क्षेत्र विकास कोषले भक्तजनको प्रवेशका लागि चार स्थानबाट लामको व्यवस्था गरेको छ, र सुरक्षाको प्रबन्ध मिलाएको छ।
  • साउने सोमबारमा महिला भक्तजनको भीड लाग्ने गर्छ, विवाहित महिलाले श्रीमानको दीर्घजीवन र अविवाहितले योग्य वरको कामना गर्छन्।

काठमाडौँ ।  साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ । 

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए । त्यस बेलादेखि नै पशुपतिनाथमा भक्तजनको घुइँचो छ ।  

 अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
 
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ । 
 
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्ष्यित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव जोशीले जानकारी दिए । 

 यस वर्षको साउनको पहिलो सोमबारदेखि कोषको अग्रसरतामा चक्रपथमा चार वटा बस भक्तजन ल्याउन चलाइएको छ । निःशुल्क चलाइएको यी बसमार्फत् भक्तजनले सहज रुपमा पशुपतिनाथमा आएर दर्शन गर्न पाएको प्रतिक्रिया दिएका छन् ।
 विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलालेयोग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमले भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताए । 
 
घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा चार वटा सोमबार परेकामा आज तेस्रो सोमबार विगतका दुई सोमबार भन्दाबढी भक्तजनको घुइँचो देखिन्छ । साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप