बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिसामा ओभरस्टे रोक्ने तयारीमा अमेरिका, यी व्यक्तिहरूले दिनु पर्नेछ १५ हजार डलरसम्म जमानत बन्ड

मङ्गलबार, २० साउन २०८२, १२ : ५९
मङ्गलबार, २० साउन २०८२

सारांश

  • अमेरिकी प्रशासनले भिसा ओभरस्टे रोक्न नयाँ योजना ल्याएको छ, जसमा १५ हजार डलरसम्मको जमानत बन्ड जम्मा गर्नुपर्नेछ।
  • यो योजना बी-टू र बी-वन भिसामा अमेरिका आउने र ओभरस्टे गर्ने सम्भावना भएका देशका नागरिकहरूलाई लक्षित गरिएको छ।
  • यो योजना यसै महिनादेखि सुरु भई १२ महिनासम्म परीक्षणका रूपमा लागू हुनेछ र यसको मुख्य उद्देश्य भिसा ओभरस्टे रोक्नु हो।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले भिसामा ओभरस्टे रोक्न नयाँ योजना सुरु गर्दैछ । यस अन्तर्गत केही विदेशी नागरिकहरूले अमेरिका आउनुअघि १५ हजार अमेरिकी डलरसम्मको जमानत बन्ड जम्मा गर्नुपर्ने हुन सक्नेछ । यो योजना पर्यटक (बी–टू) वा बिजनेस (बी–१) भिसामा अमेरिकामा आउनेहरूलाई लागू हुनेछ । 

यो नियम भिसा ओभरस्टे अर्थात् भिसामा तोकिएको समयभन्दा बढी अमेरिकामा बस्ने मामिला धेरै भएको देशका नागरिकमा लागू हुनेछ । स्क्रिनिङ र अनुसन्धान प्रणाली कमजोर मानिएका देशका नागरिकलाई लक्षित गरेर यो योजना ल्याइएको हो । 

यस योजनामा कुन देशहरू समावेश हुनेछन् भनेर अमेरिकाले अझै स्पष्ट पारेको छैन । तर योजना लागू हुनुभन्दा कम्तीमा १५ दिन अघि देशहरूको सूची जारी गरिने बताइएको छ । 

जानकारी अनुसार, यो रकम अधिकतम १५ हजार डलरसम्म हुन सक्छ । तर व्यक्ति समयमै अमेरिकाबाट फर्कन्छ भने, यो रकम फिर्ता गरिनेछ । यो योजना यसै महिनादेखि सुरु हुँदैछ । यसको परीक्षण १२ महिनासम्म अर्थात् २०२६ को अगस्ट ५ सम्म लागू हुनेछ ।

यस योजनाको मुख्य उद्देश्य भिसा ओभरस्टे रोक्नु हो । अमेरिकाका अनुसार, हरेक वर्ष लाखौं मानिसहरू ओभरस्टे गर्छन्, जुन राष्ट्रिय सुरक्षा खतरा बन्दै गइरहेको छ । यो योजना मार्फत, अमेरिकाले विदेशी सरकारहरूलाईे आफ्ना नागरिकहरूलाई अमेरिकाको कानुन पालना गर्न प्रेरित गर भन्ने सन्देश पठाउन चाहेको बुझिएको छ ।

 अमेरिकी गृह सुरक्षा मन्त्रालयको रिपोर्ट अनुसार, २०२३ मा पाँच लाखभन्दा बढी मानिसहरू अमेरिकामा ओभरस्टे गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप