हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयकबारे सांसद - ‘विधेयक उस्तै उस्तै देखिन्छ, विज्ञ राखेर छलफल गरौँ’
सारांश
- सांसदहरूले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयकबारे सरकारको ध्यानाकर्षण गराएका छन्, किनभने ती एक अर्कासँग बाझिन सक्छन्।
- विधेयकहरूमा दोहोरोपन र अस्पष्टता रहेको भन्दै सांसदहरूले कार्यक्षेत्र स्पष्ट पार्न माग गरे, जसले भद्रगोल निम्त्याउन सक्ने बताए।
- मन्त्री पाण्डेले दुवै विधेयक सँगै छलफल गर्नुपर्ने र यसले थप स्पष्टता ल्याउने बताए, तर सांसदहरूले भने यस विषयमा फरक मत राखे।
काठमाडौँ । हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग बाझिनु नहुने सरकार सचेत रहनुपर्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयकको विषय गन्जागोल बनेको स्पष्ट हुन जरुरी रहेको बताएका हुन् ।
दुई वटै विधेयक एकै पटक समितिमा छलफल हुँदा यसले भद्रगोल बनाएको उनीहरूको भनाइ छ । सरकारले दुई विधेयक र प्राधिकरणकै कार्यक्षेत्र स्पष्ट गर्न जरुरी रहेको उनीहरूको माग छ । सांसदहरूले विधेयक पढ्दा उस्तै उस्तै देखिएको र प्राधिकरणबिच डुप्लिकेसन, रिपिटेसन, ओभरल्यापिङ हुन नहुनेमा सचेत गराए ।
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद नारायणप्रकाश साउदले मन्त्रालय र समिति दुई वटै विधेयक र कार्यक्षेत्रका बारेमा स्पष्ट हुन जरुरी रहेको बताए । विधेयक पढ्दा उस्तै उस्तै देखिएको भन्दै त्यसबारेमा पोजिसन स्पष्ट पार्न मन्त्रालयलाई आग्रह गरे । एउटा ऐनलाई विस्थापन गर्न दुई विधेयक दर्ता भएकाले अस्पष्टता नहुने गरी बनाउन आग्रह गरे ।
सांसद साउदले भने, ‘संशोधनहरूको डुप्लिकेसन, रिपिटेसन, ओभरल्यापिङ, जस्ता कुराहरूमा पनि एउटा दृष्टिकोण निर्माण गर्नका लागि मन्त्रालय र समिति दुई वटै विधेयक र कार्यक्षेत्रका बारेमा स्पष्ट हुन जरुरी छ । किन सेप्रेट हो । सेप्रेट हुँदा कुन कुरा कसको हातमा जान जरुरी छ । कुन क्षेत्रमा जान जरुरी छ त्यो स्पष्ट हुनुपर्छ । विधेयक पढ्दा उस्तै उस्तै देखिएको भन्ने आएको छ । त्यसको बारेमा एउटा पोजिसन क्लियर गरेर अघि बढ्न जरुरी हुन्छ । एउटा ऐनलाई विस्थापन गर्न दुई विधेयक दर्ता भएका छन् । कन्फ्युजन नहुने गरेर एउटा थिति बसाल्न जरुरी छ ।’
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले एउटै संस्थालाई दुई वटा प्राधिकरण बनाएर टुक्राउन खोजिएको र यसमा थुप्रै ओभरल्यापिङ रहेको बताए । यसबारे एकै ठाउँमा बसेर स्पष्ट हुन जरुरी रहेको उनको भनाई छ ।
उनले भने, ‘एउटै संस्थालाई दुई विधेयकमा टुक्राउन खोजेको छ । यसमा थुप्रै ओभरल्यापिङ छन् । यसको एकै ठाउँमा डिस्कशन गर्नुपर्छ । यसको समस्या पछि आउन सक्छ । केही विषयहरू अहिले पनि बाझिने खालका छन् । प्राविधिक विषय भएकाले यसमा अझै सचिवालयले अझ बढी सहयोग गर्नुपर्छ ।’
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद एकनाथ ढकालले दुई वटै विधेयकहरू सँगै छलफल झनै समस्या हुने बताए । यसबारे सैद्धान्तिक छलफल गर्न सकिने तर विधेयकहरू एकै पटक छलफल नगर्न उनले आग्रह गरे । सर्भिस प्रोभाइडर र रेगुलेटरीको कार्यक्षेत्रबारे पहिला नै स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सँगै लैजाने भन्ने विषय हुँदैन । नागरिक उड्डयन र प्राधिकरणमा फरक विषयहरू हुन्छन् । सैद्धान्तिक छलफल गरौँ । हामी सर्भिस प्रोभाइडर र रेगुलेटरीको कार्यक्षेत्रबारे पहिला नै स्पष्ट हौँ ।’
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद भीमप्रसाद आचार्यले विधेयकहरू छिटो छलफल गरेर टुङ्ग्याउनुपर्ने बताए । कानुन बनाउन ढिलो भइरहेको भन्दै छिटो टुङ्ग्याउनुपर्ने तर छिटोको नाममा अपरिपक्व बन्नु नहुने उनको भनाई छ । मन्त्रालयले विज्ञहरूलाई राखेर विगतको व्यवस्था र अहिले गर्न लागेको व्यवस्थाबारे जानकारी दिनुपर्ने माग गरे ।
उहाँले भने, ‘छलफल गरेर छिटो टुङ्ग्याउने अत्यन्तै जरुरी हो । कानुन बनाउन ढिलो भइरहेको छ । तर छिटो गर्ने नाममा यो अपरिपक्व नबनोस् भन्ने हो । यो त अन्तर्राष्ट्रिय स्तरको कुरा हो । हाम्रो ल्याकत र क्षमताले पूर्ण रूपमा काम गर्नुपर्छ । यो गन्जागोल जस्तो लागेको छ । मन्त्रालयले विज्ञहरूलाई राखेर विगतको व्यवस्था के थियो, अहिले कसलाई कता राखेका छौँ भन्ने जानकारी गराउन जरुरी छ ।’
समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ऐन, नीति र कानुन बनाउने काम संसद्कै भएको बताए । सरकारले आवश्यकताअनुसार कानुनको प्रस्ताव गर्ने र संसद्ले त्यसलाई कानुन बनाएर पठाउने बताए ।
मन्त्री पाण्डेले भने, ‘ऐन, नीति, कानुन बनाउने काम संसद्कै हो । हाम्रै हो । त्यो कार्यान्वयन गर्न आवश्यकताअनुसार बनाउँछौँ । नागरिक उड्डयन महाशाखाले पनि प्राविधिक काम नै गर्ने हो ।’
समितिको बैठकमा मन्त्री पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरू सँगै राखेर छलफल गर्न सके थप परिपक्व बन्ने प्रस्ताव गरे। सँगै छलफल गर्दा दोहोरिने र बाझिने कुराहरू पनि स्पष्ट हुने र त्यसलाई हटाउन सकिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण