धर्म होइन, धर्मको व्यापार चलेको छ
शान्तिको खोजमा नदी, पहाड, एकान्त गुफा र हिमाल चढ्नेहरूलाई समाजले ‘सन्त’ भन्यो। ध्यानको बहानामा संसारबाट भाग्नेलाई ‘महापुरुष’ घोषित गरियो।
साँचो सेवाको बाटो कष्टकर थियो, तर मूर्तिमा फूल चढाएर स्वर्गको टिकेट बिक्री गर्नेहरू 'धर्मगुरु'को आसनमा विराजमान भए।
तर, के यिनले नै परमेश्वरलाई भेटे? साँचो परमेश्वर त त्यो श्रमिक किसानको पसिनामा लुकेको हुन्छ, जसले गोरु जोती धेरैको पेट भरिन्छ।
त्यो आमाको आँशुमा देखिन्छ, जसले रोगी छोराको सेवामा रातभर निन्द्राको त्याग गर्छ। त्यो शिक्षकको कलममा बस्छ, जसले उज्ज्वल भविष्यको रेखा कोर्छ।
तर धर्मगुरुहरू – जसले लाठा समाते, तिलक लगाए, पाखण्डको प्रवचन दिए र पैसा उठाए – उनीहरू आफैलाई भगवानका एजेन्ट ठान्दै समाजमा हिंड्न थाले।
मानवता हराउँदै छ धर्मको नाममा। धर्म अब सेवा रहेन। धर्म अब समर्पण रहेन। धर्म अब इमान रहेन।
आज धर्म ठेकेदारी संस्था बनेको छ – जहाँ धर्मका ‘ब्राण्ड एम्बेसडर’हरू छन्, जसको मुखमा प्रवचन छ, तर मनमा लोभ भरिएको छ।
जसको पाउमा लम्पसार पर्नुपर्ने बाध्यता बनाइएको छ – किनभने उनीहरू आफैलाई ‘अवतार’ भन्ठान्न थालेका छन्।
तर साँचो अवतार त ऊ हो – जो आफुलाई केही ठान्दैन। जो मानव समुदाय, जीवजन्तु र प्राकृतिक स्रोतहरूको संरक्षणका निम्ति समर्पित हुन्छ वा जो समग्र विश्वको कल्याणका लागि तेजस्वी चेतनाको ज्योति लिएर धर्तीको रक्षा र सत्य धर्मको पुनर्स्थापनाका लागि नयाँ युगको शुरुवात गर्छ।
अब समय आएको छ – जसले हामीलाई लुटे, उनीहरू पर्दाफास हुने छन्। हामी – तपाईं, म र हजारौँ श्रद्धालु, भक्त, सेवकहरू – हामीले श्रद्धाले उनीहरूको चरणमा मस्तक झुकायौं,तर उनीहरूले त्यही श्रद्धालाई लुटेर मठ, महल र दरबार खडा गरे। हामीले आँशु पोखेर प्रार्थना गर्यौं, तर उनीहरूले त्यसैलाई चमत्कारी कथा बनाएर किताब बेचे।
अब मौन बस्ने समय छैन। अब प्रश्न उठ्नुपर्छ – तिमीले लिइरहेको सेवा–सुविधा, तिमीले ओगटेको सिंहासन, तिमीले लगाएको माला, के त्यो सेवाको मूल्य हो, कि धर्मको नाममा गरिएको व्यापारको लाभ?
तिमीले बनाएको मन्दिर – के त्यो जनकल्याणको केन्द्र हो, कि निजी साम्राज्यको किल्ला? जसको आत्मा साँचो छ, उसले डराउनु पर्दैन। तर जसको कर्म पाखण्डले भरिएको छ, आजका यी शब्द–शब्दले उसका भ्रम चिरिनेछन्।
साँचो मुनि, योगी, सन्यासी – उनीहरू त समाजकै हिस्सा हुन्छन्। तर आज, आश्रमका नाममा अपराध लुकाउने महलहरू बनाइँदैछ। कानुन र संविधानको नाममा कालो धन थुपारिन्छ। त्यसै गुफाभित्र, लाज नमान्ने रासलीला चल्छ। त्यस्ता पाखण्डहरूको संरक्षण अझै हुँदैछ।
श्रमिकको पसिनाबाट जीवनका रंग चोर्नेहरू, जनताको पीडामा बसेर मोज मस्ती गर्नेहरू, त्यही मस्तीलाई नै ‘समाधि’को नाम दिने ढोंगीहरू, प्रचार–प्रसारमा पनि सधैं अगाडि छन्।
जीवन केवल सम्बन्ध, नाता र मोहमा बाँधिएको लीला हो। तर त्यो मोह तबसम्म पवित्र रहन्छ, जबसम्म त्यसमा स्वार्थ छैन।
आज धर्ममै पनि नाता छ। सेवामै पनि व्यापार छ। मायामै पनि किनबेच भइसकेको छ। साँचो भक्ति अब कुनै संस्थाको सदस्यता होइन। साँचो भक्ति अब हृदयबाट उठ्ने मौन, एकल र निर्भीक प्रकाश हो।
अब चेतना मौन छैन। अब आँखाले देख्न थालेको छ, कानले सुन्न थालेको छ,हृदयले चिच्याउन थालेको छ – हामी ठुलो भ्रममा थियौं।
धर्म त्यो होइन, जुन आजसम्म हामीले सिक्यौं। धर्म त्यो हो – जहाँ हामी बाँच्छौं, जहाँ हामी कर्ममा अडिग रहन्छौं, र जहाँ कुनै संस्था होइन, हाम्रो नैतिकता नै धर्म बन्छ।
अब भक्तहरू जाग्दैछन्। अब सेवकहरू बोल्न थालेका छन्। अब लुटिएका इमानदारहरू विचारको जुलुस बनेर उठ्दैछन्। र अब, झूटको साम्राज्य ढल्न नजिक छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण