बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेनले भने– हनुमानढोकाको प्रहरी भवन भत्काउँछौँ, प्रहरीले माग्यो बदलामा ७ रोपनी जग्गा

बुधबार, २१ साउन २०८२, १४ : २४
बुधबार, २१ साउन २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हनुमानढोकास्थित प्रहरी भवन भत्काएर पोखरी बनाउन प्रहरीलाई आग्रह गरेका छन्।
  • प्रहरी महानिरीक्षक थापाले भवन भत्काउन ट्राफिक कार्यालयसँगैको जग्गा दिनुपर्ने सर्त राखेका छन्।
  • यो योजनाअन्तर्गत मच्छिन्द्रनाथको रथ राख्न पोखरी पुनर्निर्माण र मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणबारे छलफल भएको थियो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले हनुमानढोकास्थित प्रहरीको भवन भत्काउनुपर्ने भन्दै  सहयोग गर्न प्रहरीलाई आग्रह गरेका छन् ।  

बालेनले मंगलबार आफ्नै कार्यकक्षमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नलराज अधिकारीसँग छलफल गरेर भवन भत्काउने कार्यमा महानगरलाई सहयोग गर्न आग्रह गरेका हुन् । 

 छलफलमा बालेनले प्रहरीको भवन भत्काएर पोखरी निर्माण गर्ने बताएका थिए । जवाफमा थापाले यसको सट्टामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगैको ७ रोपनी जग्गा दिनुपर्ने सर्त अघि सारेका छन् । 

यो बैठकमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (इन्जिनियर) रामकुमार चौधरी र  नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।

सो क्रममा बालेनले हनुमान ढोकाको प्रहरी भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएको र सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । ‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न यो पोखरी निर्माण आवश्यक छ,’  उनले भनेका थिए ।  

यो योजनालाई तत्काल अगाडि बढाउन प्रहरीका महानिरीक्षक थापा तयार भएपनि ट्राफिक कार्यालयसँगैको ७ रोपनी जग्गा दिइनुपर्ने सर्त राखेका हुन् । महानगरले  हनुमानढोका क्षेत्रमा २ रोपनी क्षेत्रफलमा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्न खोजेको छ । 

त्यसको बदलामा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उक्त ७ रोपनी जग्गा लिएर प्रहरीले ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्न चाहेको छ । प्रहरीको चाहनाअनुसार  यसका लागि आवश्यक लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको बताइएको छ । त्यसपछि थप सहमति गरेर अघि बढिने बताइएको छ । 

यस्तै मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो  । प्रहरी महानिरीक्षक दीपक थापाले सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक रहेको बताउँदै महानगरसँगको सहकार्यले प्रहरीका योजनाहरूलाई प्रभावकारी बनाउन सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप