बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोनाल्डोको ह्याट्रिक, अल-नासरको शानदार जित

शुक्रबार, २३ साउन २०८२, ०९ : ४२
शुक्रबार, २३ साउन २०८२

सारांश

  • क्रिस्टियानो रोनाल्डोले अल-नासरको प्रि-सिजन खेलमा ह्याट्रिक गरे, रियो एभलाई ४-० ले हराए।
  • साउदी प्रो लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोले खेलमा प्रभावशाली प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे।
  • खेलमा जोआओ फेलिक्सको राम्रो प्रदर्शन रह्यो, र अल-नासरले रोनाल्डोसँग नयाँ सम्झौता गर्ने सम्भावना बढेको छ।

काठमाडौँ । उमेर एउटा अङ्क मात्र हो भन्ने कुरा क्रिस्टियानो रोनाल्डोले एकपटक फेरि साबित गरेका छन्। उनले अल-नासरको प्रि-सिजन मैत्रीपूर्ण खेलमा रियो एभमाथि ४-० को जित हासिल गर्ने क्रममा ह्याट्रिक गरेका हुन्।

सन् २०२४-२५ सिजनमा २५ गोल गरेर साउदी प्रो लिगको सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले बिहीबार राति इस्टाडियो डो अल्गार्वेमा भएको खेलमा एकपटक फेरि आफ्नो जादु देखाए।

खेलको १५औँ मिनेटमा जोआओ फेलिक्सको हेड पासमा मोहम्मद सिमाकानले गोल गर्दै अल-नासरलाई अग्रता दिलाएका थिए। त्यसपछि रोनाल्डोले पहिलो हाफ सकिन एक मिनेटअघि जोआओ फेलिक्ससँग मिलेर शानदार तालमेल गर्दै अल-नासरको अग्रता दोब्बर पारे।

खेलको ६३औँ मिनेटमा नेल्सन एबीले बक्सभित्र ह्यान्डबल गरेपछि अल-नासरले पेनाल्टी पाएको थियो। रोनाल्डोले उक्त पेनाल्टी हान्ने अवसर साडियो मानेलाई दिए। तर, मानेको कमजोर प्रहारलाई रियो एभका गोलकिपर सेजारी मिज्टाले सजिलै बचाए। त्यसको १६ सेकेन्डपछि नै रोनाल्डोले हेडमार्फत गोल गर्दै अल-नासरका लागि तेस्रो गोल गरे।

त्यसको पाँच मिनेटपछि, जब जोआओ फेलिक्सलाई एबीले बक्सभित्र लडाए, रोनाल्डोले यसपटक ह्याट्रिक पूरा गर्ने अवसर गुमाएनन् । उनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

गत सिजनको अन्त्यसँगै रोनाल्डोको अल-नासरसँगको भविष्य अनिश्चित बनेको थियो। तर, यस प्रदर्शनपछि साउदी प्रो लिगको टोलीले पाँच पटकका बालोन डी’ओर विजेतालाई नयाँ सम्झौतामा बाँधेकोमा खुसी हुनेछ।

४० वर्षीय रोनाल्डोले खेलमा सर्वाधिक ६ सट र ५ अन-टार्गेट सट प्रहार गरे। नयाँ खेलाडी जोआओ फेलिक्सको प्रदर्शन पनि प्रभावशाली रह्यो। आफ्नो नयाँ टोलीका लागि दोस्रो खेल खेलेका उनले सर्वाधिक ३ अवसर सिर्जना गरे भने फाइनल थर्डमा सबैभन्दा धेरै २५ पास खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप