बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नियात्रा

हाइटीको जिउँदो संस्कृति र लाबादी बिचको सौन्दर्य

शनिबार, २४ साउन २०८२, १२ : ००
शनिबार, २४ साउन २०८२

हाइटी एउटा देश, जहाँ पीडाले पहिचान बनाएको छ; जहाँ मृत्युलाई पनि रङ्गीन फूलले सजाएको छ; जहाँ रङको प्रतीक गहिरो छ । हाइटीको संस्कृति, पोसाक, खाना, उत्सव र अन्त्येष्टिले एउटा–एउटा कथा बोकेका छन् । ती कथा केवल हाइसियन (हाइटीवासी) को मात्र होइन ती कथा सम्पूर्ण मानवको सङ्घर्षका कथा हुन्, अस्तित्वका कथा हुन् ।

समुद्रको मधुरिमा सुनिँदै गर्दा एउटा सानो टापु राष्ट्रले आफ्नो आत्मकथा भनिरहेको जस्तो लाग्छ । अफ्रिकी मूलका दासहरूको विद्रोहबाट स्वतन्त्र बनेको यो राष्ट्रले इतिहासमा एउटा उदाहरण बनायो, जहाँ पीडाले स्वतन्त्रताको गीत गाएको छ । दासता र उत्पीडनको सन्दर्भलाई भोगेका मानिसले निर्माण गरेको स्वतन्त्र राष्ट्रको हरेक धड्कनमा सङ्घर्षको आवाज सुनिन्छ । यो केवल देश मात्रै होइन एक जिउँदो दस्ताबेज हो; जसले स्वतन्त्रता, घाउ र बाँच्ने आशाको गहिरो कथा बोकेको छ ।

सम्भावनाले भरिएको हाइटीको सामुद्रिक दृश्य, जैविक विविधता, प्राकृतिक सम्पदा अनि ऐतिहासिक धरोहरले पहिलो नजरमै जो–कसैलाई मोहित बनाउँछन् । लाफेरियरको सिटेडेल (गढ), सान्स–सुसी प्यालेस, नोट्रे–डेम क्याथेड्रल वा लाबादी बिच — सबैले एउटा जीवन्त इतिहास सुनाउँछन् । यद्यपि यिनै सुन्दरताका पछाडि लुकेको छ अभाव, दुःख र आँसुको कथा । 

हाइटीका परिकारहरू केवल स्वाद होइनन् ती सङ्घर्ष र संस्कृतिका परम्परागत प्रतिनिधि हुन् । ‘सुप जुमोउ’ जुन स्वतन्त्रता दिवसमा पकाइन्छ, त्यो झोल मात्र होइन स्वतन्त्रताको सम्झना हो । त्यस्तै अर्को परिकार छ ‘ग्रियोट’, जो सुँगुरको काँधको मासु, रातो सिमी र भातको मिश्रण हो । हाम्रो देशको खिचडीझैँ देखिए पनि त्यसमा रहेको सुगन्ध र स्वाद फरक लाग्यो । मलाई त्यो खासै मन नपरे पनि अन्य साथी त्यसैको स्वादमा रमाए । खाद्य संस्कृतिको विविधता यही हो — एउटालाई स्वादिलो लाग्ने कुरा अरुका लागि स्वादिलो नलाग्न पनि सक्छ ।

विभिन्न देशको आ–आफ्नै वेशभूषा र रहनसहन हुन्छन् । हाइटीमा हाइसियन महिलाले लगाउने परम्परागत पोसाकलाई ‘काराबेला’ भनिन्छ, जुन निलो कपास र लिनेनबाट बनेको हुन्छ । साथै त्यसमा सुन्तला, पहेँलो र हरियो रङको पनि प्रयोग गरिएको हुन्छ । यस्तो पोसाक महिलाहरू कुनै सभा, समारोह र चाडबाडमा जाँदा लगाउँथे । अचम्मको कुरा त हाइसियनहरू कसैको अन्त्येष्टिमा जाँदा कालो, सेतो र बैजनी रङका लुगा प्रयोग गर्थे । कसैकसैले गाढा वा तटस्थ रङहरू पनि लगाएका हुन्थे । यस विषयमा मलाई एकजना स्थानीयले बताए, ‘यस्तो काजकिरियामा कहिल्यै रातो रङ प्रयोग गर्नुहुन्न । रातो रङ भनेको हिंसा वा हत्यासँग सम्बन्धित हुन्छ ।’

एकपल्टको कुरा हो । म, मेरो साथी शंकर दवाडी र हाम्रा सहकर्मीहरू घुमघाम गर्दै क्यापाहाइसियन बेसक्याम्पबाट केही दूरीमा रहेको डेड बडीपार्कमा पुगेका थियौँ । त्यही बेला हामीले प्रत्यक्ष देखेको हाइसियनहरूको अन्त्येष्टि निकै अनौठो र विचित्रको थियो । बाजागाजासहित चिल्ला र लामा गाडीमा लासलाई राखेर लैजाँदै थिए; दायाँबायाँ महिला–पुरुषको लामबद्घ ताँती थियो । सबै पुरुषले कालो कोट र सेतो सर्ट लगाएका थिए भने महिलाले सेतो स्कार्फ र सेतो नै पोसाक लगाएका थिए । 

haiti (3)

सुरुमा झट्ट हेर्दा त मलाई यो कुनै विवाहको जन्तीको लावालस्करझै लागेको थियो । बिस्तारै त्यो हाइसियन अन्त्येष्टिमा भाग लिनेहरूको समूह डेडबडी पार्कभित्र प्रवेश ग¥यो । अन्त्येष्टिको त्यो संस्कार देखेर म लगायत सबै चकित परेर हेरिरह्यौँ । हाम्रो संस्कारभन्दा फरक त्यो बिदाइमा पनि जीवनको पूर्णता देखिन्थ्यो तर गहिरिएर बुझ्दा थाहा भयो — यो प्रक्रिया सबैका लागि समान छैन । अन्त्येष्टिको लागत ४५०० डलरसम्म पर्न सक्छ, जुन धेरै हाइसियनहरूले त्यो खर्च गर्न नसक्ने रहेछन् । केही परिवार अन्त्येष्टिको खर्च गर्दा ऋणमा डुब्दा रहेछन् । हाइटीका मानिसहरू शरीर र मृत्युपछिको जीवनमा गहिरो विश्वास राख्छन् । शवलाई सम्मानजनक रूपमा बिदा गर्नुलाई धर्म मान्छन् । यही कारणले अन्त्येष्टि खर्चिलो हुन्छ । मैले बुझेँ — मृत्युलाई पनि रमाइलो बनाउने, दुःखलाई पनि गीतमा पगाल्ने, त्यो सामर्थ्य केवल सांस्कृतिक गहिराइबाटै आउँछ । हामी पनि त्यहाँ पुगेर त्यहीँको भावनाको एक हिस्सा बनेका थियौँ । त्यो भिडमा इतिहास, परम्परा र विद्रोहको स्वर मिसिएको थियो ।

हाइटीको कार्निभल फेस्टिभल एक जीवन्त र सांस्कृतिक उत्सव रहेछ । जुन विभिन्न सङ्गीत, परेड, नृत्य, लाइभ कन्सर्ट, विभिन्न पोसाकसहितको आनन्दमय पर्व हो । यसले विभिन्न अफ्रिकी, युरोपेली, आदिवासी परम्पराको मिश्रणलाई झल्काउँछ । ठुलो आवाजमा सङ्गीत बजाउँदै सबैजना एकापसमा रमाइलो र मनोरञ्जन गर्छन् । साउन्ड सिस्टमका उपकरण पनि ठुला–ठुला गाडीमा राखेर सहर परिक्रमा गर्छन् । हाइटीको कार्निभल फेस्टिभल मलाई नेपालमा मनाइने गाईजात्राजस्तै लाग्यो । खाने–पिउने, एक आपसमा रमाइलो गर्ने, नाच्ने–गाउने गरेर मनाउने रहेछन् । हाइटीमा मैले केही आत्मीयता महसुस गरेँ । सायद त्यो हाम्रो नेपालीपनले ल्याएको सहानुभूति थियो — किनभने हामी पनि कहिले सामन्ती शासनबाट, कहिले राजतन्त्रबाट र कहिले भ्रष्टतन्त्रबाट गुज्रिएका छौँ ।

अब लाबादी बिच (समुद्रतट) को अलिकति कुरा । 

हाइटी देशको एक अत्यन्तै प्रसिद्घ र मनमोहक समुद्री तटीय क्षेत्र हो, लाबादी बिच । यो समुद्रतटलाई स्वर्गको एक टुक्राको रूपमा पनि लिने गरिन्छ । त्यहाँको प्राकृतिक सौन्दर्य, न्यानो बालुवा र निलो रङको समुद्रले जो–कोहीको मन मोहित र आकर्षित पारिदिन्छ । संसारका धेरै मुलुकका पर्यटक प्रकृति, मनोरञ्जन र विश्रामको अनुभव लिन आउँछन् । त्यो समुद्रको छाल वा ज्वारभाटामा कुनै परिवर्तन हुन सक्छ, तर सामुद्रिक तट सदा उस्तै रहन्छ । बलिउडका नायक अभिषेक बच्चन र नायिका एवं विश्वसुन्दरी ऐश्वर्य राय बच्चनले पनि आफ्नो पहिलो हनिमुन मनाउन यसै लाबादी बिच आएका थिए भनेर मलाई त्यहाँको एक स्थानीय बासिन्दाले सुनाए । त्यति मात्र होइन त्यहाँ धेरै प्रतिष्ठित व्यक्ति, कलाकार, लेखक, साहित्यकार लगायत अन्य भ्रमण गर्न आउँदा रहेछन् ।

हाइटी देशको एक अत्यन्तै प्रसिद्घ र मनमोहक समुद्री तटीय क्षेत्र हो, लाबादी बिच । यो समुद्रतटलाई स्वर्गको एक टुक्राको रूपमा पनि लिने गरिन्छ । त्यहाँको प्राकृतिक सौन्दर्य, न्यानो बालुवा र निलो रङको समुद्रले जो–कोहीको मन मोहित र आकर्षित पारिदिन्छ ।

हरियाली वातावरण अनि सेतो कपडाजस्तो सफा र चम्किलो बालुवा हेर्दै आकर्षक देखिन्छ । टन्टलापुर घाममा आँखा टल्केर हेर्नै कठिन हुन्छ । बालुवामा खुट्टा टेक्दा सुरुमै तातो अनुभूति हुन्छ । जब बालुवा खोतलेर तलसम्स पुगिन्छ तब निकै चिसो महसुस हुन्छ । त्यहाँका मानिस समुद्रमा पौडी खेलेर आएपछि त्यही बालुवामा पल्टिने गर्छन् ताकि शरीरले तातो र आराम अनुभूति पाउँछ । म पनि आफ्नो काम र ड्युटी सकेर क्यापाहाइसियन एफपीयू बेसक्याम्पबाट लाबादी बिचमा पौडी खेल्न निकै उत्साहित भएर गएँ । 

निकै भिडभाड र चहलपहल थियो । प्रचण्ड गर्मी छल्न तुरुन्तै समुद्रमा हाम फालेँ मैले । केहीबेर पौडी खेलेपछि शरीर थाक्यो । किनारामा रहेको सेतो बालुवालाई मैले हातले खनेर खाल्डो पारेँ । त्यो खाल्डोमा शरीरलाई पुरेर छोपेर टाउको मात्र बाहिर निकालेँ । छुट्टै शीतल, चिसो र अनौठो अनुभूति भयो । त्यहाँको वातावरण यति स्वतन्त्र र खुला छ कि सबैजना आ–आफ्नो दुनियाँमा रमाइरहेका देखिन्छन् । खुला पोसाक र रङ्गीन दुनियाँमा झुमिरहेका हुन्छन् । कोही कसैलाई वास्ता गर्दैनन्, कसैलाई अर्काको कुरामा रुचि नै हुँदैन । 

साँच्चै, जुनसुकै समुद्रले हृदयलाई हलचल गराउँछ । मनलाई चञ्चल बनाउँछ । आत्मामा निकै आनन्द ल्याउँछ भनेको सही हो रहेछ । मैले हाइटीमा देखेको समुद्र र लाबादी बिचमा बिताएको समय एकदमै स्मरणीय रह्यो । मलाई सानैदेखि मोटर बोटिङ गर्ने रहर थियो, जुन इच्छा म त्यहाँ पुगेपछि पूरा गर्न सकेँ । हप्ताको एक–दुई पटक हामी लाबादी बिचको समुद्रमा जान्थ्यौँ । समुद्रकै बिचमा सिंहदरबारको आकार बराबरको विशाल पानीजहाज अमेरिकाको मियामी सहर हुँदै आइपुग्थ्यो । त्यो जहाज हेर्नकै लागि पनि थुप्रै मानिस लाबादी बिचमा आइपुग्थे । यस्तो ठुलो जहाज, समुद्रको विशालता र विदेशी पर्यटकको भिडले हाम्रो नेपालजस्ता भूपरिवेष्टित मुलुकका मानिसलाई नयाँ अनुभव र अनौठो रहरले भरिएको वातावरण दिन्थ्यो । 

क्यापाहाइसियन क्याम्पबाट लाबादी बिच पुग्न करिब २०–२५ मिनेट लाग्थ्यो । लाबादी बिचमा सुरुदेखि केही वर्षसम्म निःशुल्क मोटरबोट चढ्न पाउने, राइड गर्न मिल्ने र अन्य सुविधा थियो तर पछि केही व्यक्तिको गैरजिम्मेवार र लापरवाहीपूर्ण प्रयोगका कारण त्यो सुविधा बन्द गरियो र हाल शुल्क तिरेर मात्र बोटिङ लगायत अन्य खेल गर्न सकिने रहेछ । यस्तो व्यवस्था र शुल्क लाग्ने परिवर्तनले सबैलाई अनुशासन र जिम्मेवारीको पाठ सिकायो । 

haiti (8)

जिम रोहन भन्ने विद्वान््को भनाइ अनुसार ‘अनुशासन भनेको लक्ष्य र उपलब्धि बिचको पुल हो ।’ अनुशासनले केही प्राप्त गर्ने इच्छा, आकांक्षालाई त्यो लक्ष्यको वास्तविक प्राप्तिसँग जोड्छ । साथै अनुशासनविना सबैभन्दा महत्त्वाकांक्षी लक्ष्य पनि पहुँच बाहिर रहन्छन् । त्यसैले मेरो विचारमा सफलता अन्तिम होइन, असफलता घातक पनि होइन जारी राख्ने साहस र दम्भ नै महत्त्वपूर्ण कुरा हो । हामी फौजीको अनुशासन भनेको नै फौजी सेवामा रहँदा आचारसंहिताको पालना गर्नु हो । यूएन मिसनमा हुँदा यूएनको आचारसंहिता अनि स्वदेशमा हुँदा फौजी आचारसंहिताको मूल मर्मलाई बुझेर कार्य सम्पादन गर्नुपर्छ । जति बेला पनि दुरुस्त र बफादारी हुनु नै फौजी अनुशासन हो । 

लाबादी बिच भ्रमणका क्रममा हामीसँग नेपाल प्रहरीबाट युएन मिसनमा सँगै गएका सहकर्मी र सिनियर सरहरू पनि हुनुहुन्थ्यो । त्यसै क्रममा नेपाल प्रहरीको प्रतिनिधित्व गर्नुभएका अनपोल अफिसरहरूमध्ये तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी वरिष्ठ उपरीक्षक) दीपशमशेर जबरा सरलाई पनि त्यही लाबादी बिचमा भेट्यौँ । हामीलाई हाम्रो नेपाल एफपीयू टोलीको तत्कालीन प्रहरी नायब निरीक्षक आशुतोषबहादुर शाहीले चिनापर्ची गराउनुभएको थियो । हामीलाई भेट्दा उहाँ निकै खुसी र भावुक हुनुभयो । सबैसँग हाँसखेल गरी केही समय त्यही बिचमा बिताइयो । उहाँ स्वभावैले एकदमै सरल, शालीन र भद्र हुनुहुन्छ । साना र निम्न स्तरका कर्मचारीलाई निकै माया र प्रेम गर्नुहुन्छ । हो, त्यो समय पनि उहाँले हामीलाई गरेको व्यवहार र सदा सहायता देख्दा म निकै प्रभावित भएको थिएँ । अन्य सिभिलियन प्रशस्तै आउँथे । जे भए पनि लाबादी बिच सबैको आकर्षणको केन्द्रविन्दु नै थियो । 

अन्त्येष्टिको लागत ४५०० डलरसम्म पर्न सक्छ, जुन धेरै हाइसियनहरूले त्यो खर्च गर्न नसक्ने रहेछन् । केही परिवार अन्त्येष्टिको खर्च गर्दा ऋणमा डुब्दा रहेछन् । हाइटीका मानिसहरू शरीर र मृत्युपछिको जीवनमा गहिरो विश्वास राख्छन् । शवलाई सम्मानजनक रूपमा बिदा गर्नुलाई धर्म मान्छन् । यही कारणले अन्त्येष्टि खर्चिलो हुन्छ ।

हाइटीको प्रचण्ड गर्मी छल्न र समुद्रको आनन्द लिन जो–कोही पनि एक न एकपल्ट त्यहाँ पुगेकै हुन्छन् । मैले त्यहाँ विभिन्न मानिसको संगत र व्यवहारले विदेशी कला, साहित्य, परम्परा, रीतिरिवाज लगायत बारेमा जानकारी लिएँ । छोटा लुगा र बिकिनी लगाउने अनि खुलेआम अंकमाल र चुम्बन गर्ने चलन देख्दा सुरुसुरुमा मलाई अनौठोको लागेको थियो । पछि बिस्तारै त्यहाँको सम्पूर्ण परिवेश बुझ्दै जाँदा सरल र सहज हुन थाल्यो । 

कोफी अन्नानले भन्नुभएको वाक्यांश मलाई यहाँनेर झलझली याद आयो, ‘हामीसँग फरक धर्म, फरक भाषा, फरक रङको छाला हुन सक्छ तर हामी सबै एउटै मानव जातिका हौँ ।’ हो, साँच्चै हामी जुनसुकै धर्म, भाषा, रङ र समुदायको भए पनि एकले अर्काको रीतिरिवाज, कला र संस्कृतिलाई सम्मान गर्नुपर्छ । लाबादी बिचले मलाई केवल मनोरञ्जन र खुसी मात्र दिएको थिएन अन्तर्राष्ट्रिय सांस्कृतिक विविधता, अनुशासन, जिम्मेवारी र स्वाभाविक सौन्दर्यको कदर गर्ने दृष्टिकोणको पनि विकसित गरायो । प्रचण्ड सूर्य, समुद्र, बालुवा, विशाल जहाज, अनेकन् प्राकृतिक सौन्दर्य, विभिन्न राष्ट्र र समुदायका मानिसको साथमा बिताएका ती दिन स्मृतिमा जीवन्त छन् । लाबादी बिच केवल एक भ्रमणस्थल मात्रै होइन, जीवनको एउटा यस्तो अनुभव हो, जसले व्यक्तिभित्र नयाँ सोच, संस्कृति र जीवनशैलीलाई स्वीकार गर्ने आत्मिक क्षमता विकास गराउँछ । लाबादी स्वर्ग जत्तिकै सुन्दर मात्र होइन, शिक्षाप्रद पनि छ । 

लाबादी बिचमा पहिलोपटक भव्य घर र भवनभन्दा ठुलो पानीजहाज समुद्रमा सजिलै तैरिएको देख्दा हामी सबै अचम्मित मात्र होइन त्रसित नै भएका थियौँ । सबैजना एकोहोेरिएर त्यो पानीजहाज र त्यहाँको परिवेशलाई हेरिरह्यौँ । सबैजना लाबादी बिच र त्यस तटीय क्षेत्रको सुन्दर र मनमोहक वातावरणमा रमाउन थाल्यौँ । कतिपय बुढापाकाको भनाइ नै छ, समुद्रको नुनिलो पानीले सबैको घाउलाई निको पार्छ । अनि समुद्र तटमा बिताएको राम्रो दिनले डाक्टरलाई टाढा राख्छ । सधैँ निरोगी बनाउँछ । 

म फर्किएँ, तर हाइटीको त्यो एक यात्रा मेरो मानसपटलमा एक स्थायी चित्रजस्तै बसेको छ । मैले महसुस गरेँ — जीवन केवल बाँच्ने कुरा होइन, बाँच्दाबाँच्दै इतिहास बन्ने कुरा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीहरि केसी
श्रीहरि केसी
लेखकबाट थप