आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : मन्त्री हेरफेरबारे कांग्रेस–एमाले छलफलदेखि विश्वासको मत लिन बानियाँलाई बढ्दो सकससम्म

आइतबार, २५ साउन २०८२, २२ : ००
आइतबार, २५ साउन २०८२

आज २०८२ साउन २५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा बानियाँले पाउलान् विश्वासको मत ?, मन्त्री हेरफेरबारे कांग्रेस–एमाले छलफलमा, रास्वपाले रुपन्देही–३ मा कसलाई बनाउला उम्मेदवार ? कैलाली कारागारमा तनाब कायमै, लखेटेर लडाएपछि १३ वर्षीय बालिकाको सामूहिक बलात्कार, आर्यघाटमै मानव हड्डी किनबेच, दोस्रो तहका कम्युनिस्ट नेताहरू छलफलमा लगायत छन् ।

कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण, बागमतीमा बानियाँले पेस गरे मुख्यमन्त्रीमा दाबी, दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश, माओवादी स्थायी कमिटी बैठकको यस्तो छ निर्णय, पोखराबाट सिन्धुली फर्कियो हायु परिवार, राप्रपाको इतर समूहले बनायो रणनीति, कांग्रेस सांसद कान्छारामको निर्माण कम्पनीमाथि कारबाही लगायत छन् ।

१. बानियाँले पाउलान् विश्वासको मत ?
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन् । यद्यपि, उनलाई आफ्नै पार्टीबाट विश्वासको मत पाउन सकस बढ्दो छ । आफैँले संसदीय दलको नेताबाट विस्थापन गरेका बहादुर सिंह लामा नै बानियाँका लागि चुनौती बनेका छन् । आफ्ना पक्षका तीन जनालाई मन्त्री नियुक्त नगरे सामूहिक राजीनामा दिनेसम्मको तयारीमा लामा पक्ष जुटेको छ ।

२. मन्त्री हेरफेरबारे कांग्रेस–एमाले छलफलमा 
केपी शर्मा ओली नेतृत्वको सरकारमा केही मन्त्री हेरफेरका लागि कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच छलफल भएको छ । 

३. रास्वपाले रुपन्देही–३ मा कसलाई बनाउला उम्मेदवार ?
रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा रास्वपाले उम्मेदवारका लागि ९ जनाको सूची सार्वजनिक गरेको छ । ती ९ जनामध्येबाट उम्मेदवारको टुङ्गो लगाउन प्रक्रिया अघि बढाइएको छ । यद्यपि, रास्वपाको उम्मेदवार छनोट विधिमा ती ९ जना नै अस्वीकृति हुन सक्ने प्रावधानसमेत छ । त्यो अवस्थामा उम्मेदवार छान्न फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन सक्छ ।

४. कैलाली कारागारमा तनाब कायमै
शुक्रबार साँझदेखि कैदी बन्दीले नियन्त्रणमा लिएको कैलाली कारागार अझै प्रशासनको नियन्त्रणमा आउन सकेको छैन । कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि प्रशासनले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको हो ।

५. लखेटेर लडाएपछि १३ वर्षीय बालिकाको सामूहिक बलात्कार
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा दुई युवकले राति लखेटेर लडाएपछि एक १३ वर्षीय बालिकाको सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको छ । 

६. आर्यघाटमै मानव हड्डी किनबेच
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रबार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ ।

७. दोस्रो तहका कम्युनिस्ट नेताहरू छलफलमा
विभिन्न कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरू निरन्तरजसो छलफलमा जुटेका छन् । सोही क्रममा पछिल्लो पटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ ।

८. गाईजात्रा मनाइयो 
काठमाडौँ उपत्यकामा आइतबार गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

९. संसदीय समितिमा अड्कियो भूमि सम्बन्धी विधेयक
संसदीय समितिमा विचाराधीन भूमि विधेयक आज पनि पारित हुन सकेन । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमा समितिका सदस्यहरूले आशंका गरेपछि अध्ययनका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

१०. माओवादीमा एजेण्डा बिर्सिएर व्यक्ति केन्द्रित बहस
नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले १० वटा एजेण्डा प्रस्तुत गरे पनि ती एजेण्डा पन्छाएर व्यक्ति केन्द्रित बहसमै समय खर्च गरियो । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप