तराईमा मात्र नभएर पहाडमा पनि सर्पदंशको त्रास, कसरी जोखिने ?
सारांश
- पहाडी क्षेत्रमा सर्पदंशका घटना बढ्दै गएका छन्, पहिले तराईमा मात्रै सिमित थियो।
- आर्थिक वर्ष २०८१/०८२ मा ९ हजारभन्दा बढी सर्पदंशका बिरामी अस्पताल पुगेका थिए।
- जलवायु परिवर्तन र सहरीकरणका कारण सर्पको बासस्थानमा असर परेको छ, जसले गर्दा सर्पदंशको जोखिम बढेको छ।
काठमाडौँ । केही वर्ष अघिसम्म सर्पदंशको त्रास तराई–मधेसमा बढी हुन्थ्यो । पछिल्ला वर्ष पहाडी क्षेत्रमा पनि सर्पदंशका घटना बढ्न थालेका छन् ।
तराईमा देखिने सर्पहरू पहाडी क्षेत्रमा देखिन थालेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले बताए ।
‘विगतमा तराई क्षेत्रमा मात्रै सीमित मानिने सर्पदंशको जोखिम अब पहाडी र हिमाली भेगसम्मै पुगेको छ,’ डा. झाले भने, ‘सर्पदंशको जोखिम अब तराईमा मात्र सीमित रहेन ।’
आर्थिक वर्ष २०८१/०८२ मा ९ हजार २४९ सर्पदंशका बिरामी अस्पताल पुगेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार १८१ सर्पदंशका बिरामी रहेकोमा २०७९/०८० मा यो संख्या ९ हजार १२० थियो ।

काठमाडौँ उपत्यका आसपासका पहाडी जिल्लामा पनि सर्पदंशका बिरामीको संख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । पुस महिना यता करिब ६ सय सर्पदंशका बिरामीले उपचार गराएको अस्पतालले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कन्सल्टेन्ट फिजिसियन तथा सर्पदंश उपचार विज्ञ डा. मिलन बज्राचार्यले धादिङ, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकजस्ता छिमेकी जिल्लाबाट पनि सर्पदंशका बिरामी टेकु अस्पतालमा आउने गरेको बताए ।
उनले तराई तथा अन्य जिल्लाबाट काठमाडौँमा भित्रिने काठ–दाउरा र अन्य सामानसँगै सर्प पनि भित्रिने गरेको प्रस्ट पारे ।
सर्पको प्राकृतिक बासस्थानमा आएको ह्रास र काठपातजस्ता सामान ढुवानी गर्दा सर्प नयाँ ठाउँमा पुग्ने गरेको निर्देशक डा. झाको समेत अनुमान छ ।
यस्तै, जलवायु परिवर्तनका कारण बदलिँदो वातावरणीय अवस्थाले पहिले चिसो मानिने पहाडी क्षेत्रको तापक्रम पछिल्लो समय सर्पका लागि अनुकूल बन्दै गएको डा. बज्राचार्यले बताए । यसले गर्दा विषालु कोब्रा र करेत जस्ता सर्पहरू पहाडी भेगमा पनि देखिन थालेको उनको भनाइ छ ।

‘बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासका कारण मानिसहरूले जङ्गल फँडानी गरेर सर्पको बासस्थान नजिकै घर बनाउन थाले,’ उनले भने, ‘हामी उनीहरूको बासस्थानमा गएका हौँ कि उनीहरू हाम्रो बासस्थानमा आएका हुन् भन्ने द्विविधा छ ।’
- सर्पले टोकेमा के गर्ने ?
चिकित्सकका अनुसार कुनै पनि सर्पले डसेमा आत्तिनु हुँदैन र तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । अन्धविश्वासको पछि लागेर धामीझाँक्रीकहाँ जानु भनेको समय खेर फाल्नुमात्र हुने उनीहरू बताउँछन् ।
सर्पदंशका बिरामी जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा जानुपर्ने उनीहरूको भनाइ छ ।
सर्पदंशको उपचार पूर्णरूपमा सम्भव हुने तर यसका लागि बिरामी समयमै अस्पताल पुग्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

सर्पले डस्दा बिरामीमा देखिने लक्षण
–सर्पको विषले गिँजा, पिसाबट, नाक लगायतका ठाउँबाट रगत बग्छ ।
–आँखा लठ्ठ हुने ।
–जिब्रो बाहिर निकाल्न नसक्ने ।
–घाँटी लत्रिने ।
–बोली लरबराउने ।
–टोकेको ठाउँमा दुख्ने ।
–टोकेको भाग सुन्निने ।
सर्पले डसेपछि के गर्न हुँदैन ?
–सर्पले डसेको ठाउँभन्दा माथि रगत सञ्चार नहुने गरी शरीरको कुनै अंग बाँध्न हुँदैन ।
–सर्पले डस्दा मानिसको शरीरमा दुई वटा निशान हुन्छ भन्ने धारणा छ । तर, कहिलेकाहीँ एउटा मात्रै निशान हुनसक्छ । त्यसैले एउटामात्र निशान देखियो भन्दैमा सर्पले डसेको होइन भनेर बस्न हुँदैन ।
–सर्पले डसेको भाग नजिकै सुइले रगत तान्ने, विभिन्न झारपात लगाउने लगायतका कार्य गर्नु हुँदैन ।
–सर्प डसेपछि अस्पताल नपुगुन्जेल शरीर चलाउने वा हिँड्नु हुँदैन ।
–घडी, औंठी, पेटी लगाएको भएमा त्यस्ता सामान खोल्नुपर्छ ।
- कसरी जोगिने ?
सर्पदंशबाट जोगिन सर्प लुक्न सक्ने दुलो घरभित्र र वरिपरि हुन दिनु हुन्न । सर्प लुक्न सक्ने दुलोमा हात नराख्ने, घर वरिपरि नियमित सरसफाइ गर्ने, खेतबारीमा कम गर्दा लट्ठी लिएर हिँड्नु पर्छ । साथै जुत्ता, पञ्जा लगाएर खेतबारीको काम गर्ने, काट्नुपर्ने घाँस बाक्लो, लामो भई झाडी भएमा पहिले लठ्ठीले झाडीमा हानेर सर्प भए–नभएको निर्क्यौल गरेरमात्र घाँस काट्नु पर्छ । त्यस्तै, सर्पबाट जोगिन झुल टाँगेरमात्र सुत्नुपर्छ ।
- नेपालमा पाइने सर्प
जलवायु परिवर्तनका कारण अन्य प्राणी झैँ बाँच्नका लागि सर्प पनि संघर्षरत छ । विगतमा पहाडी जिल्लामा सर्पको प्रभाव कम रहने गरेकोमा अहिले पहाडी जिल्लामा समेत सर्प देखिने गरेको छ ।
नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्राले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यी चारथरिका सर्पलाई लक्षित गरी बनाइन्छ ।
सर्पले टोक्दा दिइने एन्टीभेनम देशका ९० सरकारी अस्पतालमा उपलब्ध छ । प्रदेश र जिल्लामा रहेका निजी अस्पतालहरूले समेत एन्टीभेनम दिँदै आएको निर्देशक डा. झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण