बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

माओवादी–नेकपा एकता प्रयास : सैद्धान्तिक तहमै केन्द्रित छ छलफल

सोमबार, २६ साउन २०८२, १६ : ००
सोमबार, २६ साउन २०८२

सारांश

  • माओवादी केन्द्र र नेकपाबीच एकता प्रक्रिया वैचारिक र सैद्धान्तिक रूपमा सीमित रहेको नेताहरूको भनाइ छ।
  • विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णयपछि नेताहरूले छलफललाई तीव्रता दिएका छन्।
  • एकताका लागि वैचारिक र सैद्धान्तिक आधार खोज्ने प्रयास भए पनि ठोस निष्कर्षमा पुग्न नसकिएको बताइएको छ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बिच एकता प्रक्रिया वैचारिक र सैद्धान्तिक रूपमा मात्र सीमित भएको दुवै पक्षका नेताहरूले दाबी गरेका छन् । साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । 

पार्टीको निर्णयलगत्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विप्लव र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूसँग समेत भेटघाटलाई तीव्रता दिएका छन् । भेटका क्रममा पार्टी एकताका आधारबारे वैचारिक, सैद्धान्तिक, व्यावहारिक पक्षबारे छलफल भएको दुवै पक्षको दाबी छ । 

साउन २१ गते विप्लव र श्रेष्ठबिच एक घण्टा कुराकानी भएको थियो । ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, पार्टी एकता लगायत विषयमा छलफल भएको दुवै पक्षले बताएका छन् । विप्लवसँग भएको छलफल एकताका वैचारिक र सैद्धान्तिक आधार खोजिए पनि ठोस निष्कर्षमा नपुगेको श्रेष्ठ बताउँछन् । मुलुकको राजनीति गम्भीर अवस्थामा रहेकाले विचार, सिद्धान्त मिल्नेबिच छलफल भएको एकताका आधार तय गर्न वातावरण बनाउन खोजिएको उनको भनाइ छ ।  

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देश अहिले निकै गम्भीर अवस्थामा छ । मुलुकको जटिल अवस्थालाई हेरेर विचार मिल्ने पार्टीसँग संवाद गर्नु, दौडधुप गर्नु आवश्यक देखिएर नै नेताहरूसँग संवाद अगाडि बढाएको हो,’ श्रेष्ठ भन्छन्, ‘पार्टी एकताकै तहमा छलफल भएको छैन । मोडालिटीमा प्रवेशै भएको छैन । विप्लवजीको पार्टीसँग मात्र एकता गर्ने कि समाजवादी मोर्चामा आबद्ध सबै दलसँग गर्ने भन्ने विषयमा अहिले हामी कुनै निष्कर्षमा पुगेका छैनौँ ।’

नेकपासँग एकता गर्ने पार्टीले निर्णय गरेको भएपनि वैचारिक, सैद्धान्तिक मतभेद बाँकी नै रहेकाले छलफलमा निरन्तरता आवश्यक भएको उनी बताउँछन् । एकीकृत समाजवादीसँग मात्र होइन, नेकपासँग पनि वैचारिक, सैद्धान्तिक रूपमा कैयौँ मतभेद भएकाले पहिला त्यसलाई हल गरेपछि मात्र एकताको आधार तय हुने उनको भनाइ छ । 

‘विप्लवजी, घनश्यामजी, झलनाथजी लगायतसँग भएका छलफल वैचारिक र सैद्धान्तिक मात्र हो । छलफल घनीभूत बनाउँदै लगेर एकताको आधार बनाउन लागिएको हो । ठोस रूपमा एकता अगाडि बढेको छैन । यद्यपि छलफल सकारात्मक भएका छन्,’ रातोपाटीसँग श्रेष्ठ भन्छन् । 

यसअघि माओवादीबाट वार्ता टोली सदस्य रहेका उपमहासचिव गिरिराजमणि पोखरेल पनि हतारमा एकता गर्दा नेकपा दुर्घटनामा परेकाले वैचारिक र सैद्धान्तिक, कार्यदिशा, कार्यक्रम टुंग्याएर मात्र सांगठनिक तहमा प्रवेश गर्ने बताउँछन् । 

‘दुई पार्टीका शीर्ष नेताबिच एकता हुँदा नेकपा दुर्घटनामा पर्‍यो । अब त्यो गल्ती हामी दोहोर्‍याउँदैनौं । अहिले एकीकृत समाजवादीसँग प्रादेशिक तहमा छलफल भइरहेको छ । विप्लवको पार्टीसँग एकता गर्ने भनेर स्थायी समिति बैठकले नै निर्णय गरिसकेको छ,’ उनी भन्छन्, ‘पार्टीको निर्णयलाई निष्कर्षमा पुर्‍याउन वा भूमिका खेल्ने वरिष्ठ उपाध्यक्ष, महासचिवले नै हो ।‘

पार्टीको निर्णय अनुसार नै श्रेष्ठले विप्लव लगायत नेताहरूसँग छलफल गरेको पोखरेल बताउँछन् । एकताको मोडालिटी तलदेखि माथि हुँदै आउने उनी बताउँछन् । 

‘पहिला टप टु बटम एकता भएको थियो । त्यो सफल भएन । अहिले बटम टु टप एकता प्रक्रिया अगाडि बढाएका छौँ,’ उनी भन्छन्, ‘अहिले तीन पार्टी वा दुई पार्टीबिच एकता गर्ने तहमै कुनै छलफल भएको छैन । वैचारिक र सैद्धान्तिक छलफल भइरहेको छ । पार्टीको पदाधिकारी बैठक बसेर वार्ता टोली बनाएपछि ठोस रूपमा अगाडि बढ्छ ।’

अर्का उपमहासचिव हरिबोल गजुरेल पनि पार्टीको निर्णय अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको म्यान्डेट अनुसार नै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अन्य पार्टीका नेताहरूलाई भेटेको हुनसक्ने बताउँछन् । 

‘स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीसँग एकताका लागि छलफल जारी राख्ने भनिएको छ । अध्यक्षको म्यान्डेट लिएर नै उहाँले भेट्नुभएको होला । एकताको वातावरण बनाउने काम गरेको हुनसक्छ,’ उनले भने ।

यता उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा विप्लव लगायत नेताहरूको भेटघाटबारे आफूलाई जानकारी नभएको जिकिर गर्छन् । 

‘वरिष्ठ उपाध्यक्षले कुन हिसाबले भेटघाट गर्नुभयो मलाई थाहा छैन । यो विषयमा उहाँलाई सोध्नुहोला । अध्यक्षज्यूसँग सल्लाह गरेर नै हो कि होइन मलाई जानकारी आएको छैन । स्थायी समिति बैठकले एकता गर्ने निर्णय गरेको हो । वार्ता टोली बनाउने विषयमा कार्यालय बैठकले निर्णय गर्छ,’ सापकोटा भन्छन् । 

यता, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा देश अप्ठ्यारो अवस्थामा रहेकाले राष्ट्रिय एजेन्डामा समान विचार र सिद्धान्त मिल्नेसँग एउटा निष्कर्षमा पुग्ने उद्देश्यले भेटघाट गरिएको बताउँछन् । 

‘अहिले देश बडो अप्ठ्यारो स्थितिमा छ । २०६२/०६३ पछि नेपाली जनताले सोचेभन्दा ठिक उल्टो दिशातिर देश गइरहेको छ । पछिल्ला दिन जनताको अधिकार, राष्ट्रको स्वाधीनता धेरै खतरामा परेको छ,’ उनी भन्छन्, ‘यस्तो स्थितिबाट देशलाई निकाल्न हामीले एउटा राजनीतिक परामर्शको रूपमै भेटघाट र छलफल गरिराखेको हो,’ उनी भन्छन् । 

विचार, सिद्धान्त, दर्शन, कार्यदिशा र कार्यक्रममा सहमति नभएसम्म पार्टी एकता हुन नसक्ने विश्वकर्मा बताउँछन् । पार्टी एकता गर्न माओवादी स्थायी समिति बैठकको निर्णय सकारात्मक भए पनि त्यसको स्पष्ट आधार र उद्देश्य बाहिर नआएकाले पार्टीको केन्द्रीय समिति बैठकले मात्र निर्णय लिने उनको भनाइ छ । अहिले एकताकै तहमा भन्दा पनि राष्ट्रको साझा मुद्दामा मोर्चाबन्दी गर्ने र ध्रुवीकरण गर्ने विषयमा छलफल केन्द्रित भएको उनको जिकिर छ । 

‘माओवादीको स्थायी समिति बैठकले एकता गर्ने निर्णय गरेको छ । त्यो निर्णयको उद्देश्य, त्यसको आधार, अनि त्यसको आशय के हो भन्ने कुरा पार्टीले प्रस्ट पारेको छैन । उसले कार्यदिशा, विचार, सिद्धान्त, नीति तथा कार्यक्रम प्रस्ट पारेपछि मात्र धारणा बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘पार्टी एकता सम्बन्धमा आगामी भदौमा बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्छ ।’

साउन ६ गते नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवसको कार्यक्रममा भाग लिन काठमाडौँ आएका महासचिव विप्लवले माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत दोस्रो तहका नेताहरुसँग एक चरण छलफल गरी अहिले गृहजिल्ला कपिलवस्तु फर्किसकेका छन् । भदौ पहिलो साता काठमाडौँ फर्किएपछि अर्को चरणको छलफल र भेटघाटको तयारीमा उनी छन् ।

विप्लवले साउन ९ र १० गते माओवादीका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनसँग भेट गरेका थिए । शर्मा र पुनसँगको भेटमा कम्युनिस्ट पार्टीमा देखिएको विचलनलाई हल गर्न एकता, ध्रुवीकरण र मोर्चाबन्दी गर्ने विषयमा छलफल भएको थियो । शर्मा र पुनले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकता गर्नका लागि प्रस्ताव गरेको बुझिएको छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी पुनर्गठन गर्ने भन्ने विषयमा तीन नेताबिच लामो छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप