१० बजे १० समाचार : रिहा हुन सकेनन् रविदेखि गण्डकीका प्रशासनिक संरचनामा व्यापक हेरफेरसम्म
आज २०८२ साउन २६ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रिहा हुन सकेनन् रवि, गण्डकीका प्रशासनिक संरचनामा व्यापक हेरफेर, मदन भण्डारी फाउन्डेसन एमालेले नबनाएको ओलीको प्रष्टोक्ति, गृह मन्त्रालयले १४ कर्मचारीको हाजिर काट्यो, बागमती कांग्रेसमा किचलो अन्त्य गर्न देउवाले दिए निर्देशन, पार्टी एकताबारे एकीकृत समाजवादीमा खनाल र भुसालको फरक मत लगायत छन् ।
१. रिहा हुन सकेनन् रवि
सहकारी ठगी लगायतका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले रिहा हुनका लागि गरेको प्रयास विफल भएको छ । बिगो बराबरको धरौटी रकम बुझाएर रिहा हुन रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका उनलाई सोमबार अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिँदै रिहा हुने ढोका तत्कालका लागि बन्द गरिदिएको हो ।
२. गण्डकीका प्रशासनिक संरचनामा व्यापक हेरफेर
गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक हेरफेर गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।
३. मदन भण्डारी फाउन्डेसन एमालेले नबनाएको ओलीको प्रष्टोक्ति
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन एमालेले नबनाएको प्रष्टोक्ति दिएका छन् । उनले नेताका नाममा रहेका प्रतिष्ठान सामूहिक हुनुपर्नेमा कतिपयचाहिँ व्यक्तिको कब्जामा जाने गरेको बताए ।
४. गृह मन्त्रालयले १४ कर्मचारीको हाजिर काट्यो
तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई–हाजिरी दुवै काटिएको हो ।
५. बागमती कांग्रेसमा किचलो अन्त्य गर्न देउवाले दिए निर्देशन
बागमती कांग्रेसमा उत्पन्न किचलो अन्त्य गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । बागमती सरकारको नेतृत्व फेरबदल प्रक्रियासँगै कांग्रेस संसदीय दलमा किचलो बढेको थियो । सभापति देउवाले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुर सिंह लामालाई सहमति जुटाएर अघि बढ्न निर्देशन दिएका हुन् । बानियाँ र लामा कांग्रेस सभापति देउवा पक्षकै हुन् ।
६. पार्टी एकताबारे एकीकृत समाजवादीमा खनाल र भुसालको फरक मत
पछिल्लो समय नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबिच पार्टी एकताको चर्चा तीव्र छ । एकीकृत समाजवादी पार्टीभित्र भने अध्यक्ष माधवकुमार नेपालको योजनामा ‘ब्रेक’ लाग्ने गरी सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले फरक मत राखेका छन् ।
७. भ्रातृ संस्थाका अधिवेशन गराउन कांग्रेसले पारित गर्यो निर्देशिका
नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
८. रास्वपाले रुपन्देही–३ को उम्मेदवार टुङ्ग्याउन चुनाव गराउने
रास्वपाको तर्फबाट आगामी कार्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचनमा उम्मेदवार बन्न आकाङ्क्षीबिच सहमति नजुटेपछि प्राइमरी निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने भएको छ । साझा उम्मेदवार छनोट गर्नका लागि रास्वपाले आइतबार ९ जना उम्मेदवारसँग छलफल गरे पनि सहमति नजुटेको बताइएको छ ।
९. मितेरी बचत सहकारी रकम हिनामिनाबारे अनुसन्धान अन्तिम चरणमा
मितेरी बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न ज्योतिबहादुर भण्डरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले यसै साता अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।
१०. नेपाली उद्योगमा किन टिक्दैनन् स्वदेशी प्राविधिक
नेपालका उद्योगमा प्राविधिकतर्फका जनशक्तिले रोजगारीका अवसर पाए पनि लामो समय टिक्न नसकेका उदाहरण प्रशस्त छन् । आखिर स्वदेशी उद्योगमा नेपालकै प्राविधिक जनशक्ति किन टिक्न सक्दैनन् भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण