रुपन्देही– ३ उपनिर्वाचन : रास्वपा उम्मेदवारमा जुटेन सहमति, ९ जनानै प्रारम्भिक निर्वाचनमा जाने
सारांश
- रास्वपाले रुपन्देही ३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न प्राइमरी निर्वाचन गर्ने भएको छ।
- उम्मेदवार बन्न आकाङ्क्षीहरूबीच सहमति नजुटेपछि पार्टीले प्राइमरी निर्वाचन गर्ने निर्णय गरेको हो।
- आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको प्रारम्भिक नामावली सोमबार प्रकाशन गर्नेछ।
काठमाडौँ । रास्वपाको तर्फबाट आगामी कार्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचनमा उम्मेदवार बन्न आकाङ्क्षीबिच सहमति नजुटेपछि प्राइमरी निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने भएको छ ।
साझा उम्मेदवार छनोट गर्नका लागि रास्वपाले आइतबार ९ जना उम्मेदवारसँग छलफल गरेको थियो । तर सबै उम्मेदवारले निर्वाचनमै जाउँ भनेपछि सहमतिको विकल्प सकिएको स्रोतले बतायो ।
उम्मेदवारी फिर्ता लिनको लागि आज साँझ ५ बजेसम्मको समय दिएको थियो । तर उम्मेदवारी फिर्ता लिने समय सकिएकाले ९ जनाकै नाम प्रकाशनकाे तयारी भइरहेको छ ।
’उम्मेदवारी फिर्ता लिने समय साँझ ५ बजेसम्म तोकिएको थियो । तर अहिलेसम्म आफ्नो नाम फिर्ता लिएको जानकारी नआएकोले अब प्राइमरी निर्वाचनमा जान्छ’, स्रोतले रातोपाटीसँग भन्यो ।
यद्यपि रुपन्देहीका इन्चार्ज तथा सहमहामन्त्री विपिन कुमार आचार्यले नाम फिर्ता लिएको वा नलिएकोबारे केही जानकारी नभएको बताए ।
’उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले दिएको समय सकिएको छ । तर कति जनाले उम्मेदवारी फिर्ता लिए वा लिएन केही जानकारी छैन । आयोगले रिपोर्ट दिएपछि थाहा हुन्छ । त्यसपछि हामी प्रारम्भिक नामावली प्रकाशन गर्छौँ’, उनले भने ।
साउन ७ देखि २१ गतेसम्म पार्टीले खुलाएको आवेदनमा उनीहरूले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए ।
आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा। लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण