बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

पार्टी एकताबारे एकीकृत समाजवादीमा खनाल र भुसालको फरक मत

सोमबार, २६ साउन २०८२, १४ : २०
सोमबार, २६ साउन २०८२

सारांश

  • माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको चर्चा चलिरहेको छ।
  • एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि प्रचण्डसँग भेटवार्ता गरे पनि, पार्टीभित्रको बेमेलका कारण तत्काल एकताको सम्भावना कम देखिएको छ।
  • एकीकृत समाजवादीका नेताहरू एमालेसँग एकता चाहन्छन् भने झलनाथ खनाल र घनश्याम भुसाल विप्लवसहितको एकताको पक्षमा छन्।

काठमाडौँ । पछिल्लो समय नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबिच पार्टी एकताको चर्चा तीव्र छ । पार्टी एकताको चर्चासँगै नेताहरूको दौडधुप र भेटवार्ता बाक्लिए पनि व्यवहारमा भने यी पार्टीबिच एकताको छेउटुप्पो मिल्न सकेको छैन ।

केही नेताले एकताका लागि अनौपचारिक ढंगले गरेका संवाद सकारात्मक भएको भनिए पनि उनीहरूले ठोस आधार भेट्न नसक्दा तदनुरुप एकताको गृहकार्य हुन नसकेको तिनै नेताहरूको भनाइ छ ।

केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव समूहका नेताबिच एकपक्षीय र दुई पक्षीय भेटवार्ता भइरहेका छन् । स्वयं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पटक–पटक भेटेर एकताको प्रस्ताव गरिसकेका छन्, तर पार्टीभित्र विभिन्न विषयमा बेमेल बढिरहेको समयमा नेपालले तत्कालै पार्टी एकता हुन नसक्ने जबाफ दिएपछि विप्लव नेतृत्वको नेकपासँगको एकतालाई प्रचण्डले प्राथमिकतामा राखेका छन् ।

सोही अनुरुप माओवादीले साउन तेस्रो साता सम्पन्न स्थायी कमिटी बैठकबाटै विप्लवसँगको एकता प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । एकीकृत समाजवादी र नेकपाले भदौ अन्तिम साता बैठक बोलाएका छन् । ती बैठकबाट पार्टी एकताबारे ठोस निर्णय गर्नसक्ने कतिपय नेताहरूको भनाइ छ ।

खासगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा मुद्दा झेलिरहेका छन् भने पार्टीभित्रै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि हुन नसकेको भनेर नेताहरूले आलोचना समेत गरिरहेका छन् । यस्तो अवस्थामा माओवादीसँग पार्टी एकता गरेर आन्तरिक समस्या समाधान गर्दै अघि बढ्दा तत्कालीन समस्या हल हुने बुझाइमा नेपाल देखिएका छन् । त्यसो त एकीकृत समाजवादीका धेरैजसो नेता–कार्यकर्ता एमाले स्कुलिङका भएकाले माओवादीभन्दा एमालेसँग एकता गर्नुपर्ने पक्षमा छन् । यस्तो अवस्थामा माओवादीसँग एकता गर्दा कार्यकर्ताहरू एमालेतिर जाने त्राससमेत नेपालमा देखिन्छ । कार्यकर्ताको त्यही चाहना बुझेर नै हुनसक्छ, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू माओवादीसँगको एकताका लागि पूर्ण सहमत हुन सकेका छैनन् ।

अध्यक्ष नेपाल माओवादीसँग भए पनि एकता गरेर अघि बढ्नुपर्ने पक्षमा रहँदा खनाल र भुसाल नेताहरूको मात्र एकता नभई पार्टी नै एकता गर्नुपर्ने पक्षमा छन् । वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक सवालमा एक ठाउँमा नआइ त्यत्तिकै एकता गर्दा नेताको एकतामात्र हुने र त्यो एकता दिगो नहुने बुझाइ खनाल–भुसाल समूहको छ ।

‘एकता नै गर्ने हो भने कम्तीमा विप्लसहित तीन पार्टीको एकता गर्नुपर्छ, जसले वाम एकताको सन्देश पनि दिनसक्छ’, खनाल–भुसाल निकट स्रोतले भन्यो, ‘माओवादीसँगमात्र हतारिएर एकता गर्नु भनेको नेताको एकता गर्नुमात्र हो र यसले समस्याको समाधान हुँदैन ।’

महासचिव भुसालले आफू निकटका नेताहरूसँग एकता प्रसङ्ग चल्दा भन्ने गरेका छन्, ‘कमसे कम विप्लवसहित एकता गर्ने भए पनि ठिकै छ । माओवादीसँगको मात्र एकताले समस्या समाधान गर्छ भन्ने लाग्दैन ।’

गत असारमा मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका अर्का नेता वामदेव पनि अहिले नै माओवादीसँग एकता गरिहाल्न उपयुक्त नहुने पक्षमा छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति पछिल्लो समय चर्को आलोचनामा उत्रिएका सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा छैनन्, तर उनी वैचारिक सैद्धान्तिक, सांगठनिक, व्यावहारिक र कार्यक्रममिक कुरा मिलेपछिमात्र एकता गर्नुपर्छ भन्ने पक्षमा छन् । ‘यी विषयलाई केन्द्र भागमा राखेर छलफलपछि सम्मानजनक एकता गर्नुपर्छ’, खनालले निकटस्थहरूलाई भन्ने गरेका छन् ।

तर महासचिव घनश्याम भुसाल पुराना नेताहरूबाट मुलुकको परिवर्तन सम्भव नहुने निचोडमा पुगिसकेका छन् । ‘जहाँ गए पनि, जे गरे पनि नेता हुने यिनै हुन्, यिनबाट नयाँ कुरा केही हुँदैन । उही पुरानो कुरा दोहोरिनेछ । झगडा, गुट र लफडा हुनेछ’, भुसालले भन्ने गरेका छन्, ‘त्यसो गर्नुभन्दा बरु पार्टी बलियो बनाउने, आन्दोलनका कार्यक्रम अघि बढाउने गर्नुपर्छ ।’ यदि पार्टी एकता गर्नै परेमा माओवादीभन्दा पहिला विप्लवसँग एकता गर्नुपर्ने पक्षमा भुसाल छन् ।

खनाल र भुसालको यस्तो मत रहे पनि अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग मात्रै भए पनि एकता गरेर अघि बढ्दा बलियो शक्ति बन्न सक्ने आशमा छन् । त्यसका लागि अध्यक्ष नेपाल आफैँमात्र नभएर नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे लगायतलाई माओवादी र नेकपाका नेताहरूसँग माहोल बनाउन खटाएका छन् । यी नेताहरूले पटक–पटक अन्तरपार्टी संवादसमेत गरिसकेका छन् । यीमध्ये हमाल लगायतका नेताहरूले प्रदेशस्तरका केही नेतासँग अनौपचारिक ढंगले भेटेर पार्टी एकता गर्दा के हुन्छ भनेर धारणा बुझ्ने काम गरिरहेका छन् ।

तर, नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याल औपचारिक रूपमा कुनै पनि पार्टीसँग एकताको गृहकार्य भएको आफूलाई थाहा नभएको बताउँछन् । आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको अर्यालको भनाइ छ ।

‘अबको वाम एकता अहिले भनिएका वाम पार्टीहरूबिच होइन, वामपन्थीबिच हुनुपर्छ’, उपप्रमुख अर्यालले भने, ‘त्यस्ता एकता वार्ता आलिसान होटेल र व्यापारीका बैठक कोठामा होइन, माइतीघर मण्डला र शान्तिवाटिकाका सडकमा हुनुपर्छ ।’

आन्दोलनको मैदानमा भुइँमै पलेँटी कसेर र भुइँ मान्छेहरूकै रोहवरमा गरिने वाम एकताले नै सामाजिक परिवर्तनमा भूमिका खेल्नसक्ने अर्यालको बुझाइ छ ।

‘अन्यथा, एकथान ओली र अर्को थान दाहाल जन्माउने एकता कामदार वर्गका लागि हात्ती आयो– हात्ती आयो फुस्सा’ भन्नेबाहेक केही हुने छैन’, अर्यालले भने, ‘हामी एउटा बृहत् वाम आन्दोलनको जन्मका लागि काम गरौँ । त्यसका लागि आफ्नै पार्टीलाई विचारधारात्मक र सांगठनिक हिसाबले एकताबद्ध बनाउन सक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप