मोदीलाई जेलेन्स्कीको फोन : रुसबाट तेल खरिद कम गर्न र प्रतिबन्ध लगाउन आग्रह
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता भएको छ, जसमा द्विपक्षीय सहयोगबारे छलफल भयो।
- जेलेन्स्कीले रुसी हमला र जापोरिझिया बस स्टेसनमा भएको आक्रमणबारे मोदीलाई जानकारी गराए, र रुसको तेल निर्यातलाई सीमित गर्न आग्रह गरे।
- दुवै नेता आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा भेट्ने र एकअर्काको देश भ्रमण गर्ने विषयमा सहमत भए।
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा यसबारे जानकारी दिएका हुन् ।
जहाँ उनले लेखेका छन्, 'मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो कुराकानी गरेँ । हामीले द्विपक्षीय सहयोग र विश्वव्यापी कूटनीतिबारे विस्तृत छलफल गर्यौँ ।'
वार्ताका क्रममा जेलेन्स्कीले मोदीलाई युक्रेनमाथि भइरहेको रुसी हमला, विशेषगरी जापोरिझियाको बस स्टेसनमा भएको आक्रमणबारे जानकारी गराएका थिए । 'रुसले जानाजानी सहरमा बमबारी गर्यो, जसमा दर्जनौँ मानिस घाइते भए,' जेलेन्स्कीले भनेका भारतीय सञ्चारमाध्यममा समाचार छ ।
जेलेन्स्कीका अनुसार भारतले युक्रेनको शान्ति प्रयासलाई समर्थन गरेको छ र युक्रेनसँग सम्बन्धित कुनै पनि निर्णय युक्रेनकै सहभागितामा हुनुपर्छ भन्नेमा सहमत छ ।
रुसबाट तेल खरिद कम गर्न आग्रह
वार्तामा जेलेन्स्कीले मोदीलाई रुसमाथि प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरे । उनले युद्धलाई बढावा दिने रुसको क्षमता कम गर्न उसको तेल निर्यातलाई सीमित गर्न भारतलाई आग्रह गरे । जेलेन्स्कीले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभाका क्रममा मोदीसँग व्यक्तिगत भेटवार्ता गर्ने प्रस्ताव पनि राखेका छन् । साथै, दुवै नेता एकअर्काको देशको भ्रमण गर्ने विषयमा विचार गर्न सहमत भएका छन् ।
'युक्रेनको दोस्रो विभाजन हुन दिन्नौँ'
मोदीसँगको कुराकानीअघि जेलेन्स्कीले एक्समा एक भिडियो पोस्ट गर्दै कुनै पनि हालतमा रुसलाई युक्रेनको दोस्रो विभाजन गर्न नदिने बताएका थिए । उनले भनेका थिए, 'रुसलाई जमिन दिएर होइन, बरु न्यायपूर्ण तरिकाले युद्ध अन्त्य गरेर मात्र शान्ति स्थापना हुन सक्छ ।'
जेलेन्स्कीले थपे, 'हामी यो दोस्रो विभाजनको प्रयासलाई असफल बनाउनेछौँ । हामी रुसलाई चिन्छौँ । जहाँ दोस्रो विभाजन हुन्छ, त्यहाँ तेस्रो पनि हुन्छ । त्यसैले हामी आफ्नो अडानमा दृढ छौँ । युद्धको अन्त्य शान्ति र बलियो सुरक्षा ढाँचाका साथ हुनुपर्छ ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अगस्ट १५ मा अलास्कामा भेटवार्ता हुँदै छ, जसमा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ । ट्रम्पले यसअघि युद्ध अन्त्य गर्न केही भू-भाग साटफेर गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण