शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बागमतीको सत्ता राजनीति : काठमाडौँमा बसेर बहादुरको ‘बार्गेनिङ’

मङ्गलबार, २७ साउन २०८२, ११ : ३२
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिने तयारी गर्दा पूर्वमन्त्री बहादुर सिंह लामा पक्षले मन्त्री पदका लागि बार्गेनिङ गरिरहेको छ।
  • लामा पक्षले तीन जना मन्त्री नियुक्त नगरेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएको छ।
  • कांग्रेस सभापति देउवाले बानियाँलाई विश्वासको मत दिन निर्देशन दिए पनि लामा पक्षसँग सहमति जुट्न सकेको छैन।

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला पूर्वमन्त्रीमन्त्री बहादुर सिंह लामा पक्ष काठमाडौँमै बसेर बार्गेनिङमा लागेको छ । 

आफ्नो पक्षबाट तीन जना मन्त्री नियुक्त गरिनुपर्ने बटमलाइनमा रहेको पूर्वमुख्यमन्त्री लामा पक्षले सो माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नै नदिने अडान लिएको हो । 

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ४ गते प्रदेशसभाको बैठक बोलाइएको छ । तर, यो समाचार तयार पर्दासम्म पूर्वमुख्यमन्त्री बहादुर सिंह लामासहितका एक दर्जन सांसद काठमाडौँमै रहेका छन् । 

बहादुर पक्षीय सांसद कुन्दन काफ्लेले आफूहरू अहिले काठमाडौँमै रहेको रातोपाटीलाई बताए । उनले आफूहरूको माग पूरा गराउनका लागि छलफल चलिरहेको भन्दै मुख्यमन्त्री इन्द्र बानियाँको कार्यशैलीमै प्रश्न रहेकाले अब के हुन्छ भन्ने उनमै भर पर्ने बताए । 

‘हामी अहिले काठमाडौँमै छौँ । यो भन्दा बढी केही भन्नु छैन । छलफल होला, सहमति कार्यान्वयन होला’, उनले भने । लामा पक्षकै एकाध सांसद भने हेटौँडा पुगेपनि अधिकांश भने काठमाडौँमै रहेको अर्का एक सांसदले बताए । 

लामाले आफू पक्षका तीन सांसदलाई मन्त्री बनाउन भनेपनि बानियाँले त्यसमा असहमति राख्दा समस्या भएको हो भने विश्वासको मत जुटाउनै बानियाँलाई सकस परेको हो। 

उसो त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बानियाँलाई विश्वासको मत दिन भन्दै  समूहलाई निर्देशन दिइसकेका छन् । 

 देउवाले आफूलाई भेट्न आएका लामा समूहका सांसद गोविन्द लम्सालसहितका सांसदलाई विश्वासको मत दिन निर्देशन दिँदै त्यसपछि मन्त्री नियुक्त गर्न आफूले बानियाँलाई भन्ने बताएका हुन् । 

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी कार्यालय सानेपामा देउवालाई भेट्न आएका लम्सालसहितका सांसदलाई विश्वासको मत दिन निर्देशन दिएको जानकारी दिए । ‘पार्टी कार्यालयमा गोविन्द लम्सालसहितका सांसदहरू आउनुभएको थियो । उहाँहरूलाई पहिला विश्वासको मत दिनुस् त्यसपछि मन्त्री नियुक्त गर्न म भन्छु भनेर निर्देशन दिनुभएको छ,’ स्वकीय सचिव देउवाले रातोपाटीसँग भने । 

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको हो। 

११० सदस्यीय प्रदेशसभामा बहुमत पाउन ५६ सांसदले बानियाँलाई विश्वासको मत दिनुपर्छ। कांग्रेसका ३७ र एमालेका २७ गरी उनका पक्षमा ६४ सांसद हुनुपर्ने हो । तर, लामाको समूहमा १४ सांसद छन् । उनीहरूले विश्वासको मत नदिएमा बहुमत पाउन सक्ने अवस्था छैन । 

यस्तै बानियाँलाई समेत देउवाले लामाको माग पूरा गर्न निर्देशन दिइसकेका छन् । देउवाको निर्देशनका बिच पनि हालसम्म सहमति नजुटेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप