प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी सम्झनाको कसरी भयो दुःखद अन्त्य ?
सारांश
- कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्टको विवाहको ६ महिनामै मृत्यु भएको घटनाले समाज स्तब्ध भएको छ।
- प्रहरीले श्रीमान्, सासु, ससुरा र आमाजूलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेको छ।
- मृत्युअघि सम्झनाले माइतीलाई आफूलाई कुटपिट गरिएको र टाउकोमा रगत बगिरहेको कुरा लेखेकी थिइन्।
धनगढी । करिब चार वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी कञ्चनपुरकी १८ वर्षीय सम्झना भट्टको मृत्युका कारण समाज स्तब्ध छ । उनको मृत्युले विभिन्न प्रश्नसमेत खडा गरेको छ ।
विवाहको ६ महिनामै अर्थात् साउन २० गते आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन् ।
यो घटना सामान्य आत्महत्या नभई घरेलु हिंसा र पारिवारिक यातनाको क्रूर परिणाम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले सम्झनालाई आत्महत्या गर्न बाध्य पारेको (दुरुत्साहन) आरोपमा उनका २४ वर्षीय श्रीमान् पवन भट्ट, ससुरा, सासू र आमाजू (श्रीमानकी दिदी) लाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ की स्थायी बासिन्दा सम्झना १२ कक्षामा अध्ययनरत थिइन् । उनका श्रीमान् पवन भट्ट बेलडाँडी गाउँपालिका–२ निवासी हुन् । पवन स्नातक तहमा पढ्दै थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार पवन पढाइको सिलसिलामा महेन्द्रनगरस्थित सम्झनाको घर नजिकै कोठा लिएर बस्थे । यही क्रममा उनीहरूबिच चिनजान भयो र त्यो चिनजान गहिरो प्रेममा परिणत भयो ।
करिब चार वर्ष लामो प्रेम सम्बन्धपछि दुवै परिवारको सहमतिमा २०८१ फागुनमा उनीहरूको विवाह भयो । तर, विवाहको केही समय नबित्दै उनीहरू बिच मनमुटाब हुन थाल्यो ।
सम्झनाले मृत्युअघि माइतीलाई आफ्नो अन्तिम अवस्थाबारे सङ्केत गर्दै लेखेकी थिइन्, ‘मलाई यहाँ पिटेको छ, टाउकोमा रगत धेरै बगिरहेको छ, म अब मर्छु होला ।’
‘विवाहपछि केटा पक्षले दाइजोको कुरा निकाल्ने, मानसिक तनाव दिने र पारिवारिक बेमेलका घटनाहरू सुरु भएका थिए भनेर सम्झनाको माइतीले भनेका छन्,’ डीएसपी बोहराले भने ।
श्रीमान् र परिवारबाट पाएको मानसिक तथा शारीरिक यातनाबारे सम्झनाले आफ्नो माइती पक्षलाई पटक–पटक जानकारी गराएकी थिइन् ।
विवाद बढ्दै गएपछि घटना हुनुभन्दा ठिक अघिल्लो दिन मात्रै प्रहरीले सम्झना र पवन दुवैलाई इलाका प्रहरी कार्यालयमा बोलाएर सम्झाइ–बुझाइ (काउन्सिलिङ) गरेर पठाएको थियो, तर प्रहरीको यो प्रयासले पनि सम्झनाको जीवन बचाउन नसकेको डीएसपी बोहरा बताउँछन् ।
सम्झनाले मृत्युअघि माइतीलाई आफ्नो अन्तिम अवस्थाबारे सङ्केत गर्दै लेखेकी थिइन्, ‘मलाई यहाँ पिटेको छ, टाउकोमा रगत धेरै बगिरहेको छ, म अब मर्छु होला ।’
सम्झनाको मृत्यु कारणबारे अनुसन्धानपछि मात्र प्रस्ट हुने प्रहरीले बताएको छ । घटनाको सत्यतथ्य छिटै बाहिर ल्याउने प्रहरीको भनाइ छ ।
त्यस्तै, प्रहरीले एउटा अडियो संवादलाई पनि अनुसन्धानको केन्द्रमा राखेको छ । मृतकका बुबाले प्रहरीलाई उपलब्ध गराएको उक्त अडियोमा पवनकी दिदीले सम्झनालाई मार्नका लागि उक्साएको सुनिन्छ । डीएसपी बोहराले भने, ‘हामीलाई मृतकका बुबाले एउटा अडियो उपलब्ध गराउनुभएको छ, जसमा त्यस्तो संवाद रहेको भनिएको छ । हामी त्यो अडियोको प्राविधिक जाँच र प्रमाणीकरण गरिरहेका छौँ ।’
सम्झनाका बुबाले आफ्नी छोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै सम्झनाका श्रीमान् पवन भट्ट, ससुरा, सासू र आमाजूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
सम्झनाको शवको पोस्टमार्टम भइसकेको छ, तर विस्तृत रिपोर्ट आउन बाँकी छ । यद्यपि, प्रहरीले घटनास्थलमा तयार पारेको ‘शव जाँच मुचुल्का’मा उनको शरीरमा चोटपटक देखिएको उल्लेख छ, जसले घटनालाई थप शङ्कास्पद बनाएको छ ।
सम्झनाको मृत्यु कारणबारे अनुसन्धानपछि मात्र प्रस्ट हुने प्रहरीले बताएको छ । घटनाको सत्यतथ्य छिटै बाहिर ल्याउने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण