शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले किसानलाई भ्रममा पार्न खोजे : साह

मङ्गलबार, २७ साउन २०८२, १७ : २४
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • सांसद प्रभु साहले प्रधानमन्त्रीले मलको अभाव छैन भन्नु किसानको जीवनसँग खेलवाड भएको बताए।
  • उनले प्रधानमन्त्रीले तथ्याङ्क बंग्याएर किसानलाई भ्रममा पार्न खोजेको आरोप लगाए।
  • साहले मल वितरणमा सरकारको असफलता र कालोबजारी रोक्न नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

काठमाडौं । आम जनमत पार्टी (आजपा) का अध्यक्ष तथा सांसद् प्रभु साहले धान रोप्ने समयमा किसानले मल नपाएर तड्पिरहेको अवस्थामा प्रधानमन्त्रीले 'मलको अभाव छैन' भन्नु किसानको जीवनसँग गरिएको खेलवाड भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् साहले प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले तथ्याङ्कलाई बंग्याएर किसानलाई भ्रममा पार्न खोजेको आरोप लगाए । 'सम्माननीय सभामुख महोदय, अहिले खेतीपातीको समयमा मलको हाहाकार छ । किसानहरू मल-खादको लागि तड्पिरहेका छन्,' उनले भने, 'एकातिर प्रधानमन्त्री भन्नुहुन्छ मलको कुनै अभाव छैन । मल किसानको जीवन हो, जीवनसँग यसरी खेलवाड गर्न मिल्दैन ।'

सरकारको आफ्नै तथ्याङ्क र सिफारिसलाई उद्धृत गर्दै साहले प्रधानमन्त्रीको दाबी र वास्तविकताबीच ठूलो खाडल रहेको बताए । 

आफ्नो गृहजिल्ला रौतहटको उदाहरण दिँदै उनले सरकारको असफलतालाई उजागर गरे । 'म रौतहटको जनप्रतिनिधि हुँ । त्यहाँ ५२,००० हेक्टर जमिनमा धान खेती हुन्छ, जसका लागि १३,००० मेट्रिक टन युरिया चाहिन्छ,' साहले भने, 'तर आजको मितिसम्म सबै जोडजाड गर्दा ३,००० मेट्रिक टन मात्रै गएको छ । जहाँ १३,००० चाहिन्छ, त्यहाँ ३,००० दिएर अभाव छैन भन्नु कत्तिको उचित हो?'

साहले देशभर यो सिजनमा करिब २ लाख मेट्रिक टन मल आवश्यक पर्नेमा प्रधानमन्त्रीले २९,००० मेट्रिक टन मात्र स्टकमा रहेको बताउनुले नै अभावको अवस्था स्पष्ट पारेको बताए ।

उनले सरकारले मल दिन नसक्दा किसानहरू भारतबाट लुकिछिपी ल्याउन बाध्य भएको र त्यसरी ल्याएको मल पनि सीमामा सुरक्षाकर्मीले खोस्ने गरेको भन्दै सरकारको दोहोरो चरित्रको आलोचना गरे । 

सांसद् साहले मल वितरणमा भइरहेको अनियमितता र कालोबजारी रोक्न सरकार असफल भएको बताउँदै यस विषयमा सभामुखको रुलिङ माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप