बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती प्रदेश

...अनि झर्‍यो बहादुर समूह हेटौँडा

मङ्गलबार, २७ साउन २०८२, २१ : ३०
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाको समूहले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने विषयमा काठमाडौंमा छलफल गर्‍यो।
  • कांग्रेस सभापति देउवाको फोनपछि लामा समूह हेटौँडा गएर मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन सहमत भयो।
  • लामा समूहले आफ्ना मागहरू सम्बोधन हुने भएपछि विश्वासको मत दिने निर्णय गरेको थियो, र पछि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरे।

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् कांग्रेस केन्द्रीय समिति सदस्य बहादुर सिंह लामा मङ्गबार दिउँसो १२ बजेसम्म काठमाडाैँमा थिए । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकै विश्वासको मत सम्बन्धी प्रस्ताव बहिस्कार गरेर अघि बढ्ने योजना सहित बहादुर समूह काठमाडौँ स्थित आरम्भ होटलमा (युएन पार्कको विपरीत स्थानमा) बहादुर टोली छलफलमा थिए ।

माग अनुसार मन्त्री नियुक्त गरे मात्र मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने तयारीमा रहेका लामा समूह बिहानैबाट सो होटलमा छलफलमा जुटेका थिए । दिउँसो करिब १२ बजेसम्म उनीहरू हेटौँडा जाने नजाने दुविधामा थिए ।

केही सांसदहरू पार्टीको नीति विधि र विधान अनुसार चल्नुपर्ने भन्दै हेटौँडा जानुपर्नेमा थिए भने केही सांसदहरू माग पुरा नभए मत नदिने अडान सहित काठमाडौँमा नै रहेका थिए ।

१४ जना सांसदको नेतृत्व गरेका लामा समूहका १३ सांसद सहित उक्त होटलमा छलफलमा थिए । मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले साउन २४ मा नै ३ महले ह्वीप जारी गरेको थियो ।

ह्विपसँगै पार्टीको स्पष्ट निर्देशन समेत मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने भन्ने थियो । तर, माग अनुसार ३ मन्त्रीको नियुक्ति र शपथ सहित अन्य निकायको नियुक्तिमा सम्मानजनक हक माग्दै उनीहरू फ्लाेकरक्रस गर्ने तयारीमा थिए ।

उनीहरू पार्टीले कारबाही गरे पनि पार्टीको ह्वीप नमान्ने तयारीमा लागेर काठमाडौँमा नै बसेका थिए । पहिले मन्त्री बनाएर विश्वासको मत लिन उनीहरुले मुख्यमन्त्री बानियाँलाई प्रस्ताव गरेका थिए ।

तर, बानियाँले विश्वासको त लिएपछि छलफल गरेर मन्त्री बनाउने पक्षमा थिए । हेटौँडा रहेर बानियाँ विश्वासको मत लिने तयारीमा जुटेका बखत लामा समूह भने काठमाडौँमा रहेर आफ्ना मागमा बार्गेनिङमा थिए । उनीहरूको सर्त अनुसार बानियाँले काम नगरेको भन्दै विश्वासको मत नदिने अडानमा उनीहरू रहेका थिए ।

यता बानियाँ पक्षले संसदीय दलमा पदाधिकारी नियुक्त र अनुशासन समिति बनाएर विश्वासको मत लिने तयारीमा जटेका थिए । विश्वासको मत पाउने वा नपाउने दुविधाकाबिच बानियाँ विभिन्न विकल्पमा छलफलमा रहेका थिए । उनको विश्वासको मत पाउने अवस्था सो अवधिसम्म बनेको थिए ।

जब बज्यो बहादुरको फोनमा देउवाको घण्टी

१२ बजेसम्म आरम्भ होटलको बैठकमा रहेर हेटौँडा नजाने र विश्वासको मत नदिने पक्षमा रहेका बहादुरको फोनमा एकाएक कांग्रेस सभापतिको फोन आउँछ । सभापति देउवाका स्वकीय भानु देउवाको फोनबाट दिउँसो १२ः३० बजेको समयमा बहादुरको फोनको घण्टी बज्छ ।

सो फोनमा बहादुर र सभापति देउवा बिच वार्ता भएको सांसद गोविन्द लम्सालले जानकारी दिए । लम्सालका अनुसार सभापति देउवाले विश्वासको मत दिन निर्देशन गर्दा बहादुरले जवाफमा सहमतिको विषय उठाएका थिए । सहमति कार्यान्वयनको विषय आफ्नो भएको भन्दै सभापति देउवाले विश्वासको मत दिएर आउन भनेको सांसद लम्सालले बताए ।

सभापति देउवाको फोन सम्पर्क सक्किएको केही समयमा कांग्रेस नेता शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको फोन आउँछ । उक्त फोन वार्तामा पनि पार्टीका नेताहरूले सहमति कार्यान्वयनको विषयमा प्रतिबद्धता जनाएको सांसद लम्सालले बताए ।

सांसद उत्तम जोशीका अनुसार शीर्ष नेताहरूबाट प्रतिबद्धता आएपछि हेटौँडा आउने बाटो खुलेको बताए । त्यसअघि नै विश्वासको मत दिनु पर्ने र अनुशासन तोड्न नहुनेमा सबै सांसदहरू सकारात्मक रहेको उनको भनाई छ ।

शीर्ष नेताको फोनले आफ्नो समूहको सर्त सहमतिको ओनरशिप लिने अवस्था बनेकाले थप सहयोग भएको उनले बताए । सो फोन लगत्तै लामा समूह ७ वटा गाडीमा हेटौँडा झरेका थिए ।

करिब ३ बजेको समयमा उनीहरू फाखेल, कुलेखानी भीमफेदी हुँदै भैँसे आइपुगेका थिए । भैंसेस्थित राप्ती खोला छेउको होटलमा करिब एक घण्टा बिताएका उनीहरू साँझ ५ बजेको आसपासमा मात्र प्रदेशसभा सचिवालय प्रवेश गरेका थिए । भैँसे स्थित होटलमा खाजा खाएर समय बिताएका उनीहरुले प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएका थिए ।

१४ जनाको समूहको नेतृत्व गरेका लामाले आफ्ना मागहरू सम्बोधन हुने भएपछि विश्वासको मत दिने अवस्था बनेको बताएका थिए । संसद् सचिवालय प्रवेश गरेर संसदीय दलको बैठकमा विश्वासको मत दिने निर्णय गरेका उनले माग अनुसारको विषयहरू सम्बोधनको प्रतिबद्धता पछि विश्वासको मत दिने परिस्थिति बनेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप