मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : पार्टी एकताको होमवर्क

पार्टी एकताअघि माओवादी र एकीकृत समाजवादीबिच ‘वार्मअप’

बिहीबार, २९ साउन २०८२, १० : ३६
बिहीबार, २९ साउन २०८२

सारांश

  • माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि छलफल भइरहेको छ, जसमा प्रदेशस्तरमा संयुक्त परामर्श बैठकलाई तीव्रता दिइएको छ।
  • दुवै पार्टीका नेताहरूले विगतको गल्ती नदोहोर्‍याउने भन्दै भावनात्मक सम्बन्ध बढाउन जोड दिएका छन्, तर सैद्धान्तिक विषयमा अझै मतभिन्नता रहेको छ।
  • विभिन्न नेताहरूले पार्टी एकताका लागि आ-आफ्ना धारणा राखेका छन्, तर एकीकृत समाजवादीभित्रको आन्तरिक विवाद र माओवादीको हतारोले यसलाई चुनौतीपूर्ण बनाएको छ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बिच पार्टी एकताअघि ‘वार्मअप’ परामर्शलाई तीव्रता दिइएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको राजनीतिक दुर्घटनाबाट पाठ सिकेर दुवै पार्टीका नेता तथा कार्यकर्ताको मनोभावना एकता अघि नै बुझ्ने उद्देश्यले प्रदेशस्तरमा संयुक्त परामर्श बैठकलाई तीव्रता दिइएको हो ।

माओवादीको साउन १९ गते बसेको स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीसँग एकताको विषयमा छलफल भइरहेको ब्रिफिङ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा गरेका थिए ।

२०७५ साल जेठमा तत्कालीन एमाले र माओवादीबिच शीर्ष नेताहरू मात्र बसेर एकता भएकाले दुर्घटनामा परेको निष्कर्ष निकाल्दै दुवै पक्षका नेताहरूले त्यो गल्ती नदोहोर्‍याउने भन्दै आवश्यक तयारी अघि बढाएका हुन् । तर अहिलेसम्मको छलफल एकताको ‘फ्रेम वर्क’ र मोडालिटीमा भन्दा पनि दुवै पार्टीको वैचारिक, सैद्धान्तिक, भावनात्मक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहेको माओवादीका उपमहासचिव हरिबोल गजुरेलले प्रस्ट पारे ।

‘विचार, सिद्धान्त मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने पार्टीले निर्णय नै गरिसकेको छ । पार्टीको निर्णय अनुसार नै हाम्रो पार्टी र एकीकृत समाजवादी पार्टीबिच प्रदेशस्तरीय छलफल अगाडि बढाइएको हो’, रातोपाटीसँग उनले भने, ‘विगतमा नेता केन्द्रित एकता हुँदा नेकपा दुर्घटनामा पर्‍यो । अहिले त्यस्तो नहोस् भनेर नै पहिला दुवै पार्टीका तल्ला समितिका भावनात्मक सम्बन्ध प्रगाढ बनाउँदै लैजाने हिसाबले छलफल भइरहेको छ ।’

अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले विगतमा नेकपा दुर्घटना परेकोबाट पाठ सिकेर यो पटक प्रदेशस्तरीय छलफललाई तीव्रता दिएको बताए । ‘विगतमा दुई पार्टीका शीर्ष नेताबिच मात्र एकता हुँदा नेकपा दुर्घटनामा पर्‍यो । अब त्यो गल्ती हामी दोहोर्‍याउँदैनौँ । अहिले एकीकृत समाजवादीसँग प्रादेशिक तहमा छलफल भइरहेको छ । दुवै दलका शीर्ष नेताहरूको उपस्थितिमा सबै प्रदेशका नेता तथा कार्यकर्ताहरूको भावना सुन्ने काम भइरहेको छ’, पोखरेलले भने ।

यता एकीकृत समाजवादीका नेताहरूले पनि माओवादीसँगको छलफल एकताउन्मुख नभई दुवै पक्षका नेता तथा कार्यकर्ताका बिचमा भावनात्मक सम्बन्ध बिस्तार गर्ने उद्देश्यले भएको जिकिर गरेका छन् । पार्टीको आधिकारिक निर्णयभन्दा पनि अभ्यासको रूपमा अनौपचारिक छलफल भइराखेकाले सम्बन्ध घनीभूत हुँदै जाँदा सिङ्गै समाजवादी मोर्चाको एउटै पार्टी बन्न सक्ने एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

खतिवडाका अनुसार प्रदेशस्तरीय छलफल तीन वटा विषयमा केन्द्रित रहेको छ । पहिलो, समाजवादी मोर्चालाई अझ प्रभावकारी र सबल बनाउनका लागि दुई पार्टीबिच अझ घनीभूत छलफल गर्नुपर्ने भएकाले दुरीहरू कम गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा गम्भीर छलफल भइरहेको छ ।  

दोस्रो कडी, अहिले देशको कम्युनिस्ट राजनीतिक दलहरूमध्ये एकीकृत समाजवादीको सुसम्बन्ध भइरहेको पार्टी माओवादी केन्द्र हो । माओवादीसँग लामो समयदेखि सहकार्य भइराखेको छ । यस्तो अवस्थामा सहकार्य कसरी घनीभूत बन्न सक्छ ? यसमा अन्तर्विरोध के–के छन् ? समस्या के–के छन् र यसले कसरी सकारात्मक तथा नकारात्मक असर पारिरहेका छन् ? बिच–बिचमा अनेक खालका अविश्वास र तनाव भए । त्यसको आयतन कसरी घटाउने भन्ने विषयमा छलफल केन्द्रित छ ।  

तेस्रो, यी दुई वटै काम गर्दै जाँदा सहकार्यको सम्बन्ध भइरह्यो भने सिङ्गो समाजवादी मोर्चालाई एउटै कम्युनिस्ट पार्टीको रूपमा विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल केन्द्रित भइरहेको छ ।  

‘यिनै तीन वटा मुख्य विषय आजको छलफलका केन्द्रबिन्दु बनेका छन् । यी छलफल विल्कुल अनौपचारिक छलफल भएका हुन्,’ खतिवडाले भने ।

अर्का वरिष्ठ नेता डा. बेदुराम भुसालले ६ वटा प्रदेशमा भइरहेको छलफलको बुझाइमा मिल्ने कुराहरू पनि भएको बताए । यद्यपि कतिपय व्यावहारिक समस्या पनि रहेको उनको निष्कर्ष छ ।

‘साथीहरूबिच कतिपय मिल्ने कुराहरू पनि छन् । कतिपय व्यवहारिक समस्या पनि छन् भन्ने निष्कर्षमा पुगियो । सैद्धान्तिक वैचारिक कुरामा पनि सबै मिलेको छैन । जस्तो उहाँहरूले माओवाद भन्नुहुन्छ, हामी भन्दैनौँ  । हामी मार्क्सवाद–लेनिनवाद मात्रै भन्छौँ भने माओवादी साथीहरू माओवाद पनि भन्नुहुन्छ’, उनले भने, ‘तर अब जनवादी क्रान्तिको चरण पूरा भयो र समाजवादी क्रान्तितर्फ अगाडि बढ्नुपर्छ भन्नेमा हाम्रो मत मिलेको छ । संविधानमा पनि हामीले समाजवादतर्फ जाने भनेका छौँ । त्यही अनुसार अगाडि जानुपर्छ, त्यसको तयारी गर्नुपर्छ भन्ने दुवै पक्षको भनाइ छ ।’

  • पेरिसडाँडामा विचार मन्थन

साउन १० र ११ गते समाजवादी मोर्चाको समीक्षा, पार्टी एकता र कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याबारे माओवादीका  अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच गम्भीर छलफल भएको थियो । पार्टी एकतालाई सहज बनाउने गरी वैचारिक, सैद्धान्तिक, व्यावहारिक कठिनाइ हटाउँदै तल्ला समितिसम्म सम्बन्ध विस्तार गर्दै लैजाने सहमति भएको थियो । सोही सहमति अनुसार दुवै पार्टीले प्रदेशस्तरीय छलफललाई तीव्रता दिएका छन् ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पार्टी शीर्ष नेताहरूको उपस्थितिमा तल्ला समितिका नेता तथा कार्यकर्ताहरूको भावना, विचार, सिद्धान्त, कार्यदिशा लगायत विषयमा तीव्र छलफल भएको छ । बुधबारसम्म भूगोलका ६ प्रदेशका नेता तथा कार्यकर्ताहरूसँग परामर्श सकिएको छ । सबै बैठकमा सकेसम्म दुवै पार्टीका अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव लगायतका नेताहरूको उपस्थिति छ । साउन १४ गते कोशी, साउन २१ गते सुदूरपश्चिम, साउन २० गते कर्णाली, साउन २३ गते लुम्बिनी, साउन २७ गते गण्डकी र साउन २८ गते मधेस प्रदेशका नेता तथा कार्यकर्ताहरूसँग छलफल सकिएको नेताहरूले बताएका छन् ।

  • अन्तरसंघर्षले पार्टी एकतामा समस्या आउने निष्कर्ष

अन्तरपार्टी छलफलमा दुवै पक्षका नेताहरूले एकअर्काका सबल र दुर्बल पक्षबारे खुलेर कुरा गरेका छन् । पार्टी एकता हुन सक्ने वा हुन नसक्ने विषयमा पनि नेताहरूले आ–आफ्ना धारणा राखेका छन् ।

माओवादी र एकीकृत समाजवादीभित्र पछिल्लो समय देखिएको अन्तर्विरोध पार्टी एकताका लागि बाधक हुन सक्ने सहभागी एक नेताले निष्कर्ष निकाले । ‘प्रदेशस्तरीय छलफलमा दुवै पार्टीका नेताहरूले सबल र दुर्बल पक्षबारे खुलेर कुरा राखेका छन् । तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल कुनै छलफलमा पनि सहभागी हुनुभएको छैन । महासचिव घनश्याम भुसाल छलफलमा भाग लिए पनि मौन बस्नुभएको छ । माधवजीको लाइन एकतालाई चाँडै निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने आशय देखिन्छ । यस हिसाबले सिङ्गो पार्टी एकतामा आउलान् जस्तो मलाई लाग्दैन’, माओवादीबाट सहभागी एक प्रदेशस्तरीय नेताले भने ।

तर एकीकृत समाजवादीका एक नेताले पार्टी एकताका लागि आफूहरू हतारिएको नभइ प्रचण्ड नै बढी हतारो भएको जिकिर गरे । पहिला पार्टीको विचार, नीति, सिद्धान्त, कार्यदिशा, कार्यक्रममा समानता नभएसम्म एकता हुन नसक्ने आफूहरूको अडान यथावत रहेको ती नेताको भनाइ छ ।

‘हाम्रो पार्टीभित्र देखिएको विवाद परालको आगो हो । माओवादीभित्र देखिएको विवाद भुसको आगो हो । हामीमा विरोध हुन्छ, द्वन्द्व भयंकर भएको देखिन्छ तर एकछिनमै सेलाउँछ । नेतृत्वप्रति कसैको पनि विमति छैन । माओवादीभित्र भुसमा लागेको आगोजस्तो भएकाले समस्या उनीहरूमा देखिन्छ । त्यसैले पार्टीभित्रको असन्तुष्टिलाई हल गर्न पार्टी एकताका लागि प्रचण्डजी हतारिएको हुन सक्छ’, एकीकृत समाजवादीका एक नेताले भने ।

  • नारायणकाजी, विप्लव, घनश्याम र जनार्दनको दौडधुप

स्थायी समिति बैठकले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय लगत्तै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा र एकीकृत समाजवादीका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । साउन २३ गते एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग आफ्नै निवासमा छलफल गरेका श्रेष्ठले साउन २६ गते नेकपाका महासचिव विप्लवसँग छलफल गरे । सोही दिन जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग श्रेष्ठले छलफल गरे । पार्टी निर्णय अनुसार अध्यक्ष प्रचण्डको अनुमतिमा भेटघाट गरेका हुन् कि होइनन् भन्ने कुरामा प्रवक्ता अग्निप्रसाद सापकोटाले अनभिज्ञता व्यक्त गरे ।

‘वरिष्ठ उपाध्यक्षले कुन हिसाबले भेटघाट गर्नुभयो, मलाई थाहा छैन । यो विषयमा उहाँलाई सोध्नुहोला । अध्यक्षसँग सल्लाह गरेर नै हो कि होइन भन्ने मलाई जानकारी आएको छैन । स्थायी समिति बैठकले एकता गर्ने निर्णय गरेको हो । वार्ता टोली बनाउने विषयमा कार्यालय बैठकले निर्णय गर्छ,’ केही दिनअघि रातोपाटीसँग प्रवक्ता सापकोटाले भनेका थिए ।

त्यसअघि श्रेष्ठले पार्टीको अनुमति नलिई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको सूचना बाहिरिएपछि माओवादीले विज्ञप्ति नै जारी गरेको थियो । पछिल्लो समय माओवादीका उपमहासचिव जनार्दन शर्मा, विप्लव र घनश्याम भुसालबिच देखिएको बढ्दो निकटतालाई पनि दुवै पार्टीले शङ्का व्यक्त गरेका छन् । गत वर्ष वैशाखमा विप्लव नेतृत्वको नेकपाले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । तर प्रचण्डले नै एकता गर्न नचाहेको विप्लवको आरोप छ । अहिले माओवादी र एकीकृत समाजवादीमा अन्तर्विरोध देखिएकाले दोस्रो पुस्ताको पहलकदमीमा पार्टी पुनर्गठन, ध्रुवीकरण गर्न सकिने विश्वास नेकपाको छ । भुसालले त नेतृत्व तहका नेताहरूले विश्राम लिनुपर्ने सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् ।

असन्तुष्ट पक्षको साथ पाए आफ्नै नेतृत्वमा वैकल्पिक नयाँ कम्युनिस्ट पार्टी बनाउन सकिने विप्लवको बुझाइ छ । उनी भुसाल र शर्माबिच निरन्तर छलफलमा छन् । पछिल्लो समय उनी एमाले, माओवादी, एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूलाई भेटेर कपिलवस्तु फर्किएका छन् । भदौको पहिलो साता काठमाडौँ फर्किएपछि दोस्रो चारणमा नेताहरूसँग छलफल गर्ने उनको योजना छ । सबैसँगको भेटघाट र छलफलको आधारमा भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकले वामपन्थी एकता र ध्रुवीकरणको विषयमा निर्णय लिने उनको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप