बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

‘माधव नेपालले त बिदा हुन्छु भन्नुभएको छ, हामीले रोकेको’

बिहीबार, २९ साउन २०८२, ०९ : १९
बिहीबार, २९ साउन २०८२

सारांश

  • नेकपा एसका नेता बेदुराम भुसाल र माओवादी केन्द्रबीच एकताको प्रयास भइरहेको छ, तर अझै टुंगो लागेको छैन।
  • पार्टीभित्रको किचलो र माधव नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाका कारण नेताहरुबीच असन्तुष्टि बढेको छ।
  • भुसालका अनुसार, तत्काल पार्टी एकताको सम्भावना छैन, तर सहकार्यलाई अझै बढाउने प्रयास जारी छ।

काठमाडौं । डा. बेदुराम भुसाल नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् । पार्टीभित्र उनी माधव नेपाल निकटका नेता भनेर पनि चिनिन्छन् । पछिल्लो समय अध्यक्ष माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि पार्टीभित्र आन्तरिक किचलो बढेको छ । यहीबिच माओवादी केन्द्रसँग एकताका लागि पनि नेताहरुको दौडधुप चलेको छ ।

एकता प्रक्रिया कहाँ पुग्यो, पार्टीभित्रको किचलो कहिले साम्य हुन्छ ? वामदेव गौतमलाई कहिले के जिम्मेवारी दिनुहुन्छ ? यिनै विषयमा केन्द्रित भएर भुसालसँग रातोपाटीका फणीन्द्र नेपालले कुराकानी गरेका छन् । प्रस्तुत छ, भुसालसँगको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरुबिच बाक्लो भेटघाट भइरहेको छ, यो भेटघाटबाट केही पाक्दै पनि छ ?

पाक्न त केही पनि पाकेको छैन । हाम्रो भेटघाट, छलफल के हो भने हामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौं । जतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गम्भीर संकट सिर्जना गर्ने काम भयो । त्यसले पार्टीभित्र भन्दा पनि मुख्यगरी राष्ट्रिय राजनीतिमा एउटा ठूलो संकट सिर्जना गर्‍यो ।

त्यतिबेलासम्म हामी एउटै पार्टी नेकपामा थियौं । त्यहाँ रहँदा पनि हामी केपीजीको त्यो कदमको विरुद्धमा थियौं । पछि प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरिदियो र प्रतिनिधिसभा पुनर्स्थापना भयो । दोस्रो पटक प्रतिनिधिसभा विघटन गरिसकेपछिको सबै अवस्थामा पनि हामी सँगसँगै थियौं । जब अदालतको फैसलाले एमाले-माओवादीबिचको एकतालाई भंग गरेर आफ्नो–आफ्नो पार्टीमा जाऊ, यदि एकता नै गर्ने हो भने फेरि अर्को नाम लिएर आऊ भनेर भन्यो । तर अर्को नाम लिएर जाने कुरामा केपी ओली सहमत हुनुभएन ।

त्यसबेला तपाईंहरु चाहिँ अर्को नाममा एकता जोगाइराख्ने पक्षमा हुनुहुन्थ्यो ?

हामी सहमत थियौं । केपी ओलीजी र उहाँसँग रहने बाहेकका अरु नेताहरु सहमत थियौं । एमालेभित्रको केपी ओलीसँग सहमत नहुने नेताहरुको बिचमा अर्को नाम लिएर पनि एकतालाई जोगाउन सकिन्छ भन्ने कुरा भएको थियो । तर त्यतिबेला निर्वाचन आयोगले त्यो गर्न मानेन । यी यावत् सन्दर्भमा हामी सँगसँगै थियौं ।

त्यसपछि चुनावमा हामी सँगै गठबन्धन गरेर गयौं । चुनावपछिका विभिन्न सरकार बन्ने, भत्किने क्रममा पनि कहिले हामी सँगै भयौं, कहिले अलिकति भिन्न पनि भयौं । चुनावपछिको छोटो समयमा माओवादी र एमालेबिचको गठबन्धन सरकारका समयमा बाहेक अरु समयमा हामीले सँगसँगै काम गर्दै आयौं । यो काम गर्ने दौरानको हाम्रो अनुभव के हो त ? हाम्रो अहिलेको छलफलको पहिलो विषय हो ।

भनेपछि विगतको सहकार्यको भर्खर समीक्षा गर्दै हुनुहुन्छ । यो क्रममा २०७९ को चुनावमा धोका पाएको पनि विश्लेषण भयो होला नि ? के फेरि तपाईंहरु माओवादीकै टाङमुनि छिर्न खोज्दै हो ?

२०७९ को चुनावको पनि हामी समीक्षा गर्दैछौ । मैले अघि भनेँ चुनावमा हामी सँगै थियौं । त्यसपछिका सरकारमा पनि सँगै बसेका छौं । सरकारमा बस्दाखेरि प्रधानमन्त्री प्रचण्ड नै हुनुभयो । त्यो सबै सन्दर्भमा हाम्रा अनुभवहरु के हुन् भन्ने नै हाम्रो समीक्षा वा छलफलको विषय हो ।

त्यो समीक्षाको निचोड के निस्कियो त ?

हामीबिच मिल्ने कुरा के-के छन्, नमिल्ने कुरा के-के छन् भन्नेमा पनि छलफल भइरहेको छ । एकताकै कुरो चलिरहेको छ । त्यो एकता यदि गर्ने हो भने त मिल्ने कुरा र नमिल्ने कुराको पहिले छिनोफानो हुनुपर्छ । यी दुई विषयमा केन्द्रित भएर हामीले छलफल गरेका हौं ।

सैद्धान्तिक वैचारिक कुरामा पनि सबै मिलेको छैन ।  हामी मार्क्सवाद–लेनिनवाद मात्रै भन्छौं भने माओवादी साथीहरु माओवाद पनि भन्नुहुन्छ । तर अब जनवादी क्रान्तिको चरण पूरा भयो र समाजवादी क्रान्तितर्फ अगाडि बढ्नुपर्छ भन्नेमा हाम्रो मत मिलेको छ ।

पहिला केन्द्रीय तहमा केही नेताहरुको बिचमा अलिअलि छलफल गरेका थियौं, तर माथि मात्र छलफल गरेर हुँदैन । तल भूगोलमा काम गर्ने साथीहरुका पनि अनुभव र धारणा बुझौं भन्ने हिसाबले केन्द्रीय नेताहरुसहित खासखास जिम्मेवारीका मान्छेहरुबिच छलफल गरेका हौं । जस्तो, म संगठन विभागको प्रमुख छु, संगठनका समस्याहरु के हुन् भन्ने हिसाबले म छलफलमा बस्दा उपयुक्त हुन्छ भन्ने हिसाबले दुवै पार्टीका नेताहरुबिच छलफल र कुराकानी भएका छन् । 

छलफलको निचोड चाहिँ यतिका वर्ष सहकार्य गरियो, अब पार्टी एकताकै चरणमा जाऔं भन्ने हो ?

त्यसरी जाऔं भन्ने हिसाबले धारणा नै बनाएर छलफल गरेको होइन । यहीँ छ समस्या । हाम्रो कुरा एउटा छ, बुझ्नेले अर्को बुझेपछि समस्या भयो ।

प्रष्ट बोल्नुहुन्न, खुसखुस मात्र गर्नुहुन्छ अनि समस्या हुँदैन त ?

बोल्न पनि त विषय हुनुपर्छ । हत्त न पत्त बोल्यो अनि बाहिर विवादित भएर त भएन नि । त्यसैले आजसम्म आउँदा हामी ६ वटा प्रदेशका सक्यौं ।

६ वटा प्रदेशका के-के काम गर्नुभयो त ?

६ वटा प्रदेशमा छलफल गर्दा साथीहरुको बुझाइ हामीबिच मिल्ने कुरा पनि छन् । कतिपय व्यावहारिक समस्या पनि छन् भन्ने निष्कर्षमा पुगियो ।

मिल्ने कुरा भनेको के ? पार्टी एकता गर्ने ?

होइन, अब जनवादी क्रान्तिको चरण पूरा भएको छ । अब समाजवादतर्फ जानुपर्छ ।

सैद्धान्तिक, वैचारिक कुरा मिल्दै गयो भनेर बुझौं ?

सैद्धान्तिक वैचारिक कुरामा पनि सबै मिलेको छैन ।  हामी मार्क्सवाद–लेनिनवाद मात्रै भन्छौं भने माओवादी साथीहरु माओवाद पनि भन्नुहुन्छ । तर अब जनवादी क्रान्तिको चरण पूरा भयो र समाजवादी क्रान्तितर्फ अगाडि बढ्नुपर्छ भन्नेमा हाम्रो मत मिलेको छ ।

संविधानमा पनि हामीले समाजवादतर्फ जाने भनेका छौं । त्यहीअनुसार अगाडि जानुपर्छ, त्यसको तयारी गर्नुपर्छ भन्ने दुवै पक्षको भनाइ छ । अहिले तत्काललाई हामी शान्तिपूर्ण तरिकाबाटै जान्छौं । शान्तिपूर्ण राजनीति गर्दै अगाडि बढ्छौं भन्ने कुरा पनि मिलेको छ । जसले हामीलाई सहकार्यमा लगिरहेको छ ।

व्यावहारिक रुपमा जाँदाखेरि दुई पार्टीबिच सहकार्यमा केही नमिलेका विषय पनि छन् । चुनावका बेलाका तीता अनुभवहरु पनि छन् । त्यसक्रममा दुवैतिरबाट एकअर्काबाट नमिल्दो व्यवहार भएको भन्ने कुरा राख्नुभएको छ । ती कुराहरुले गर्दा हामीलाई सहकार्यमा केही–केही अप्ठ्यारो पनि पारेको छ, बाधा पारेको छ भन्ने कुराहरु आएका छन् । तर पनि भएको छलफलअनुसार सहकार्यलाई अझै सघन बनाउँदै जानुपर्छ भन्ने नै निष्कर्ष छ ।

सहकार्य सघन बनाउन एउटा ठोस आधार चाहिन्छ । त्यसको मियो अर्थात् साझा विन्दु के हुनसक्छ ?

अहिले समाजले रोजगारी भएन, विदेश जानु परिरहेको छ, पलायन हुनुपरेको छ भन्छ । शिक्षा क्षेत्रमा जुन सुधार हुनुपर्थ्यो त्यो हुन सकेन । स्वास्थ्यको क्षेत्रमा जुन सुधार हुनुपर्थ्यो, त्यो हुन सकेन भन्ने कुरा जे-जे विषयहरु उठिरहेका छन्, यी विषयमा हामीले साझा धारणा बनाएर अब के गर्न सकिन्छ, त्यसतर्फ जाऔं भन्ने कुरा छ ।

भनेपछि तपाईंहरु अगामी दिनमा पनि सहकार्यको आधार तयार गर्दै हुनुहुन्छ ?

सहकार्य गर्दै जाँदा एकताको आधार पनि तयार हुनसक्छ । तर एकताका आधारहरु तयार भइसकेको, एकतामा गइहाल्ने स्थिति तयार भएको अवस्था बनिसकेको छैन ।

तपाईंहरु देशको जटिल परिस्थिति र समस्या समाधान गर्न सहकार्य वा एकताको बाटोमा लाग्नुभएको हो वा नेताहरुको अप्ठ्यारो फुकाउन, पार्टीभित्रको गुटबन्दी र झगडा मिलाउन जुट्नु भएको हो ?

अहिलेको राजनीतिक अवस्थामा हामीले यो अवस्थाबाट अगाडि बढ्नका लागि कसरी भूमिका खेल्न सक्छौं भन्ने विषयलाई लिएर हामीले यो छलफल गरेको हो ।

देशकै चिन्ता लागेर हो ?

देशकै चिन्तामा हो, नेपाली कम्युनिस्ट आन्दोलनको चिन्तामा हो । आजसम्म हामीले त्यत्रो लामो संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्ने र अझै कसरी अघि बढ्ने भन्ने कुरा मूल विषय हो । नेताहरुको व्यवस्थापन, झगडा भन्ने कुरा फरक हो ।

वैचारिक र सैद्धान्तिक कुरा मिल्ला नै । त्यसपछि नेताहरुको व्यवस्थापनको सवाल आउँछ । त्यो मिलाउने काम कसरी भइरहेको छ ?

त्यस अवस्थामा अहिले नै हामी पुगेका छैनौं ।

पार्टी एकताको चर्चा चल्दै गर्दा केही नेताहरुले प्रचण्ड र माधव नेपालले एकतापछि नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ, के यो सम्भव छ ?

त्यो भन्ने केही आफूलाई उदयीमान युवा पुस्ताका भन्ने साथीहरुले हो । उहाँहरुलाई मेरो आह्वान के छ भने तपाईंहरुले कामद्वारा यी नेतालाई विस्थापित गर्ने भूमिका खेल्नुस् । उदाहरणका निम्ति, मदन भण्डारीले कसरी अरुलाई उछिन्दै आएका थिए ? त्यसबाट तपाईंहरुले सिक्नुस् ।

कतिपय साथीहरु त यस्ता हुनुहुन्छ, जसले आफैंले जिम्मा पनि पाउनुभएको छ । तर जिम्मा निर्वाह गरेर प्रभावकारिता देखाउन सक्नुभयो कि सक्नुभएन आफैंले मूल्यांकन गर्नुस् । त्यसो गरे स्वतः यी यिनीहरु विस्थापित हुन्छन् । जस्तो, एमालेभित्रको कुरा गर्नुहुन्छ भने त नेतृत्व परिवर्तन हुँदै आएको छ । त्यसकारण परिवर्तन हुने पनि एउटा प्रक्रिया हुन्छ । परिवर्तन व्यवहारले हुने हो ।

युवापुस्ताले काम गरेर देखाउन सक्नुपर्छ । त्यसै नेतृत्व पाइँदैन भन्ने तपाईंको भनाइ हो ?

हो, काम गरेर देखाउनुपर्छ । काम गरेपछि ‘ओहो यो नेताले पो गर्न सक्ने रहेछ’ भन्ने बित्तिकै त परिवर्तन भइहाल्छ ।

अहिले भइरहेको एकताको गृहकार्य माओवादी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा गरी तीन पार्टीबिच हो वा दुई पार्टीबिचको मात्र ?

जति पनि विचार मिल्ने पार्टीहरु छन्, ती सबैबिच एकता वा सहकार्यको अवस्था सिर्जना गर्न सकिन्छ भन्ने हो । विचार मिल्ने किन भन्दा जनवादी क्रान्तिको चरण पूरा भयो, समाजवादी क्रान्तिको चरण सुरु भयो । अब समाजवादी कार्यक्रम बोकेर अगाडि बढ्नुपर्छ ।

त्यो समाजवादी कार्यक्रम यस्तो हुनुपर्छ जो नेपाली विशेषताको हुनुपर्‍यो । जसले नेपाली जनताले भोगिरहेका समस्याको समाधान दिन सकोस् । त्यस्तो खालको समाजवादी कार्यक्रम बोकेर अगाडि बढ्न तयार हुनेहरुका बिचमा एकता गर्न सकियो भने त्यसले मुलुकका निम्ति र कम्युनिस्ट आन्दोलनका निम्ति पनि उपलब्धि हुन्छ ।

विचार त तपाईंहरुको कांग्रेससित पनि मिलेकै हो नि, होइन र ?

हाहा..हाहा ...। कांग्रेससँग केमा मिल्यो ?

चुनावी गठबन्धन गर्नुहुन्छ, सरकारमा सँगै जानुहुन्छ अनि त्यो विचार मिलेको होइन र ?

त्यो त तत्कालीन कार्यनीतिक कुरा हो । तपाईंले भनेजस्तो भए त २०४६ सालमा किन मिलेको आन्दोलन गर्न ? २०६२/६३ सालमा किन कांग्रेससँग सहकार्य गरेको भन्ने प्रश्न पनि आउलान् नि । फेरि केपी ओलीले जतिबेला प्रतिनिधिसभा विघटन गर्नुभयो, त्यसबेला कांग्रेससँग मिल्नु परेन ? हामी एक्लै सक्दैनथ्यौं ।

समाजवादको कुरा गर्नुहुन्छ । एक कम्युनिस्ट नेता केपी ओली तपाईंहरुको दुश्मन अनि कांग्रेस मित्र शक्ति । यो अनौठो भएन ?

कांग्रेसलाई हामीले मित्र शक्ति मानेको र भनेका पनि छैनौं । दोस्रो कुरा, हामी कांग्रेससँग जब ओलीले प्रतिनिधिसभा विघटन गर्नुभयो त्यो बेला मिलेका छौं । २०७४ को चुनावमा हामी कांग्रेससँग मिल्यौं र ? दुईटा कम्युनिस्ट पार्टी मिलेर जाऔं, बहुमत ल्याऔं, सरकार चलाऔं भनेकै हो त । तर त्यसअघि संविधान बन्दासम्म कांग्रेससँगको पनि सहकार्यको आवश्यकता थियो, गरियो ।

त्यतिखेरको कुरा भन्दा पनि मैले २०७८ पछिको कुरा गरेको हो ?

२०७८ पछि जब केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुभयो, अनि त्यो प्रतिनिधिसभा जोगाउन, संविधानलाई जोगाउन सहकार्य गर्नुपर्ने आवश्यकता आयो, गर्‍यौं ।

आफ्नो अस्तित्व जोगाउन कांग्रेससँग मिल्यौं भन्नुस् न त ?

होइन ।

त्यसो भए स्पष्ट भन्नुस् न त माओवादीसँग पार्टी एकता कहिले गर्नुहुन्छ ?

पार्टी एकता ज्योतिषीले जस्तो दिन हेराएर हुन्न । परिस्थिति तयार भए, एकताका आधारहरु तयार भए गर्न सकिन्छ भनेको हो ।

अहिलेसम्म एकताका आधार कति प्रतिशत तयार भयो त ?

अघि नै भनिसकेँ नि मैले । जनवादी क्रान्तिको चरण पूरा भयो, अब समाजवादी बाटोमा अगाडि बढ्नुपर्छ । समाजवादी कार्यक्रम कार्यदिशा बोकेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामीबिच द्विविधा छैन । कतिपय विषयमा अझै पनि भिन्नताहरु छन् । मार्गदर्शक सिद्धान्तकै सन्दर्भमा मार्क्सवाद-लेनिनवाद हामी भन्छौं तर उहाँहरु मार्क्सवाद-लेनिनवाद, माओवाद भन्नुहुन्छ ।

अहिलेको एमालेको माया गरेर के गर्नु ? जतिबेला हामी एमालेमा काम गर्थ्यौं, त्यसबेलाको एमालेको माया र सम्झना हुनु स्वभाविक हो । खासगरी नेकपा बनिसकेको अवस्थामा त्यो पार्टीलाई टिकाएर लैजान सकेको भए, समाजवादी कार्यक्रम बोकेर हिँड्न सकेको भए अझै अघि बढ्न सकिन्थ्यो भन्ने लाग्छ ।

त्यसपछि कतिपय कार्यशैलीसँग जोडिएका विषय फरक छन् । संगठनात्मक संरचनाका बारेमा त हामीले अहिले छलफल नै गरेका छैनौं । किनभने हामी त्यो विन्दुमा पुगेकै छैनौं । अब हामीले के आधारमा एकता गर्ने हो, के उद्देश्यले एकता गर्ने हो, एकता गरेपछि के गर्ने हो भन्ने कुरामा पहिला प्रष्ट हुनुपर्छ । यी सबै कुरा प्रष्ट भइसकेपछि एकतामा पनि जान सकिन्छ । तर यी सबै कुरा प्रष्ट नभई एकता एकता भनेर मात्रै हुँदैन । एकता गरेर मात्रै पनि हुँदैन । एकता गरिसकेपछि नटिकेको हामीले भोगेका छौं । त्यसले गर्दा हतारमा गर्ने, त्यसपछि फेरि बिग्रिने हिसाबले जाने होइन ।

तपाईंले भनेका कुरामा सहमति भए एमालेसँग पनि एकता गर्ने हो ?

त्यो भए हुन्छ, किन हुँदैन । एमाले समाजवादी कार्यक्रम बोक्न तयार हुनुपर्‍यो । समाजवादी कार्यदिशा अँगाल्न तयार हुनुपर्‍यो । तर एमाले त्यसमा अहिले तयार छैन । अहिले उसले अगाडि सारेका कार्यक्रम त्यस्ता छैनन् । अब अर्को महाधिवेशन गर्दैछ एमाले । त्यहाँ के गर्छ हेरौं । एमालेले दशौं महाधिवेशनबाट जे पास गरेको छ, जबज त्यो भन्दा अगाडि बढ्न सकेको अवस्था छैन ।

तपाईंले जनताको बहुदलीय जनवादमा पीएचडी पनि गर्नुभएको छ । यति लामो समय र मेहनत गरेको पार्टीप्रति तपाईंलाई माया पनि होला नि ?

अहिलेको एमालेको माया गरेर के गर्नु ? जतिबेला हामी एमालेमा काम गर्थ्यौं, त्यसबेलाको एमालेको माया र सम्झना हुनु स्वभाविक हो । खासगरी नेकपा बनिसकेको अवस्थामा त्यो पार्टीलाई टिकाएर लैजान सकेको भए, समाजवादी कार्यक्रम बोकेर हिँड्न सकेको भए अझै अघि बढ्न सकिन्थ्यो भन्ने लाग्छ ।

२०५१ को अल्पमतको सरकारले जति पनि २०७४ को चुनावपछिको सरकारले काम गरेन । त्यो तितो अनुभव छ हामीसँग । एउटा अल्पमतको सरकारले गर्न सक्ने जति काम पनि त्यो दुई तिहाई बहुमत प्राप्त सरकारले नगर्दा पीडा त हुने नै भयो ।

यति बुझौं, तपाईंहरुबिच अहिले पार्टी एकताका लागि गृहकार्य भइरहेको छ ?

त्यो तपाईंले बढी बुझ्नुभयो । अहिले नै त्यति बढी नबुझ्नु । अहिले सहकार्यलाई सघन बनाउनका निम्ति पहल गरिरहेका छौं, त्यति बुझ्दा हुन्छ ।

कुन–कुन पार्टीसँग ?

समाजवादी मोर्चामा रहेका पार्टीहरुकै बिचमा बढी छलफल भएको छ । अहिले तत्काललाई समाजवादी मोर्चालाई नै अझै सक्रिय बनाएर लैजाऔं भन्ने त निर्णय नै भइसकेको छ ।

सक्रिय बनाउने त भनियो । के हिसाबले सक्रिय बनाउने ? के कार्यक्रम गरेर सक्रिय बनाउने भन्ने जस्ता विषय पनि छन् । अहिले समाजका समस्याहरुको समाधानका सन्दर्भमा कसरी साझा धारणा निर्माण गरेर प्रस्तुत गर्न सक्छौं भन्नेमा अलि बढी केन्द्रित भएर छलफल गर्न कोसिस गरिरहेका छौं ।

एकता र सहकार्यको कुरा एकातिर छ, अर्कोतिर तपाईंहरुको पार्टीमै लफडा छ नि ? अध्यक्ष भ्रष्टाचारको मुद्दा खेपिरहनुभएको छ । झलनाथ खनाललाई राजीनामा दिनु भन्नुभएको भने झलनाथले माधवलाई राजीनामा दिनु भन्नुभएको छ । यो किचलो किन ?

राजीनामा भन्ने शब्द दुवै जनाले प्रयोग गर्नुभएको छैन । बाहिर मिडियाले प्रयोग गरिदिएको मात्र हो ।

झलनाथले हामीसँगै भन्नुभएको छ, माधव नेपालले राजीनामा दिनुपर्छ भनेर ?

तपाईसँग भन्नुभयो होला । उहाँले पार्टीभित्र नभनीकन बाहिर भन्नुभयो भने उहाँसँग कुरा गरौंला । उहाँले भन्नुभएको के हो भने तपाईं यो पार्टीको जिम्मेवारीमा रहिरहेर भन्दा नरहेर मुद्दा लड्न सजिलो हुन्छ होला भन्ने भाषा छ ।

सोमबारको छलफलमा पनि त्यही भन्नुभएको छ । माधव कमरेडले पनि झलनाथ कमरेडलाई राजीनामा देऊ भनेर भन्नुभएको छैन । यो पार्टीको औचित्य छैन, विद्रोह गरेर गल्ती गरियो भन्ने मान्छे त यो पार्टीमा कसरी बस्न सक्छ र ? जो कोही पनि । उहाँले झलनाथलाई मात्रै भन्नुभएको होइन, नाम लिएर पनि भन्नुभएको छैन । त्यसो भन्ने कोही पनि मान्छे पार्टीमा बस्न त सक्दैन नि भन्ने अर्थमा उहाँले भन्नुभएको हो । त्यो ठिकै कुरा हो ।

नेताहरुको दन्तबझान खास ठूलो समस्या होइन ?

ठूलो समस्या हो कि होइन भन्दा पनि यो तरिका गलत हो । खासगरी झलनाथ कमरेडले जगदीश खरेलजीसँगको अन्तर्वार्तामा जस्ता शब्दहरु प्रयोग गर्नुभएको छ, विद्रोह गरेर गल्ती गरियो भन्ने निष्कर्षमा पुगेको छु भनेर भन्नुभएको छ । त्यो कुरा उहाँले पार्टीभित्र कहिले पनि भन्नुभएको थिएन । पार्टीभित्र नराखिएको कुरा एकैचोटि उहाँले सार्वजनिक रुपमा राख्नुभएको छ । त्यो हाम्रो कार्यपद्धतिको हिसाबले, विधि पद्धतिको हिसाबले गलत छ ।

अब पार्टीले झलनाथ खनाललाई कारबाही गर्न सक्छ त ? 

हामी छलफल गर्दैछौं । के गर्ने भन्ने कुरा हुन्छ । यस्तो विषयमा कारबाही भनेको त आलोचना, आत्मालोचनाको पनि हाम्रो पद्धति छ । गल्ती भएको कुरा महसुस गर्नुपर्ने हुन्छ ।

वेदुराम भुसालले माधव नेपाललाई गलत सल्लाह दिएका कारण नेकपा एकीकृत समाजवादी माथि उठ्नै सकेन भन्ने आरोप तपाईंमाथि छ नि ?

त्यसो भन्ने साथीहरुलाई म के भन्छु भने कुन–कुन सल्लाह मैले गलत दिएको थिएँ ? मलाई उहाँहरुले व्यक्तिगत रुपमै टिपेर दिनुभए हुन्छ । पार्टी कमिटीमै राखेर भन्नुभयो भने हुन्छ । म नै त्यो मान्छे हुँ, जसले घनश्यामजीलाई सरक्क मैले सञ्चालन गरिरहेको, चलाइरहेको महासचिव पद दिने । महासचिव बनेपछि उहाँले पार्टीलाई चाहिँ लबालब बनाएको भए भइहाल्थ्यो नि त ।

मेरो जिम्मेवारीमा के छ ? एउटा विभाग छ, संगठन विभाग । त्यो विभागले अभिलेख राख्ने हो । मैले साथीहरुसँग रेकर्ड माग्छु । उहाँहरु दिन चाहनुहुन्न । नदिएपछि मैले अलि कडा शब्द प्रयोग गर्छु । उहाँहरुलाई त्यो चित्त बुझ्दैन कुरा त्यति हो ।

अहिले पार्टीमा वामदेव आउनुभयो । उहाँले संगठन विभाग माग्नुभएको छ । तर तपाईं कुनै हालतमा दिन्नँ भन्नुहुन्छ भन्ने उहाँको गुनासो के हो ?

त्यस्तो केही होइन । वामदेवजी र म आईसीसीमा बसेर कुरा गरेको हो । उहाँले संगठन विभाग तपाईंले चलाउन सक्नुभएन, मलाई दिनुस् भन्दै हुनुहुन्थ्यो । तपाईंले मैले चलाउन सकेँ कि सकिनँ भन्ने कुराको मूल्यांकन गर्ने आधार के हो ? तपाईं त अर्को पार्टीमा हुनुहुन्छ । यो पार्टीमा सँगै बस्दाखेरि हामीले एकअर्काको मूल्यांकन गरौंला भनेको हो ।

उहाँको कुरा संगठन विभाग भए कमिटी गठन गर्ने, पार्टी बनाउने थियो । मैले अहिले हाम्रो त्यस्तो चलन छैन भनेको हो । फेरि मैले संगठन विभाग छाड्दा मेरो काम के हुने भन्ने प्रश्न पनि आउला भन्नेजस्ता स्वाभाविक कुराकानी भएका हुन् ।

त्यसैले म उहाँको बारेमा धेरै टिप्पणी गर्न चाहन्नँ । उहाँले कसरी बेलाबेलामा बोल्नुहुन्छ, के गर्नुहुन्छ, सबैलाई थाहा छ । कहिलेकाहीँ कसरी चड्किनुहुन्छ, कहिलेकाहीँ कसरी पछाडि हट्नुहुन्छ, कहिले कसरी कता के गर्नुहुन्छ भन्ने कुरा सबैलाई थाहा भएको विषय हो ।

त्यसो हो भने वामदेवसँग आएका मान्छे र वामदेवहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त ?

उहाँहरुले जिम्मेवारी पाउनुहुन्छ । उहाँहरुलाई जिम्मेवारी दिने भन्ने हिसाबले नै एकता गरिएको हो । अब बैठक बसेपछि संस्थागत रुपमा निर्णय हुन्छ ।

माधव नेपाल भ्रष्टाचार काण्डमा मुछिनुभयो । उहाँले नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ भन्ने कुरा पनि उठिरहेको छ । यसबारे पार्टीमा छलफल भएको छैन ?

उहाँलाई लागेको केस मन्त्रिपरिषद्ले गरेको निर्णय हो । व्यक्तिगत लेनदेनको, त्यस्तो खालको केस होइन त्यो । भोलि फैसला अदालतले गर्ला । तर सामान्य हिसाबले हामीले हेर्दा के देखिन्छ भने कार्यक्षेत्रभन्दा बाहिर अख्तियार प्रवेश गरेको छ । अख्तियारले आफैँ पनि पहिला तामेलीमा राखिसकेको विषय पनि हो । मन्त्रिपरिषद्ले निर्णय गर्दा के आधारमा गरेको थियो, कसरी गरेको थियो भन्ने कुरा पनि हामी हेरिराखेका छौं । त्यसैले उहाँले पद किन छोड्नुपर्छ र अदालतको निर्णय मान्न, नमान्न, अदालतमा मुद्दा लड्न, नलड्नलाई पार्टी पदले के गर्छ केही गर्दैन ।

फेरि हामीले पनि माधव नेपालले पद छाड्नुपर्छ भन्ने आवश्यकता ठानेका छैनौं । एकाध साथीहरुले प्रश्न उठाउनुभएको छ, तर आम रुपमा अहिले उहाँले जिम्मेवारीबाट बिदा हुनुपर्ने कुनै आवश्यकता छैन भन्ने बुझाइ छ । त्यही खालको विश्लेषण छ, त्यही खालको मत छ । बरु उहाँले प्रष्टै भन्नुभएको हो कि पार्टीले भन्छ, कमिटीले भन्छ भने म बिदा हुन तयार छु । मैले समातेर बस्नुपर्ने के छ र भनेर उहाँले सचिवालयको बैठकमा पनि भन्नुभएको छ । तर हामीले अहिले तपाईंले छोड्नु आवश्यक छैन भनेका छौं ।

यस्तै विवादले हो पार्टी बैठक बोलाएर पनि मिति सारेको ?

बैठक सर्नुमा दुई कारण छन् । एउटा तीज पर्व, बाबुको मुख हेर्ने समय पर्ने रहेछ । अर्को महासचिव भदौ १२ देखि १८ गतेसम्म जापान जाने कार्यक्रम रहेछ ।

झलनाथ खनाल र घनश्याम भुसाल समूहले तत्कालै बैठक बस्दा माधव नेपालको राजीनामा माग्ने केन्द्रीय सदस्य बढी हुन्छन् । त्यो भएर फकाउनलाई समय सारेको हो कि भन्ने आशंका गरेका छन् नि ?

यो गलत कुरा हो । बैठकको समय सारेको घनश्यामजीले नै हो । यस्तो कुरा साथीहरुले नै बुझ्नुपर्ने हो । अर्को कुरा माधव नेपालले के फकाउनुपर्छ ? उहाँको दुई तिहाई बहुमत छ केन्द्रीय कमिटीमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप