शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा मौलाएको अराजकता र मानसिक स्वास्थ्य

बिहीबार, २९ साउन २०८२, १४ : २२
बिहीबार, २९ साउन २०८२

सामाजिक सञ्जाल मानव जीवनको एक अभिन्न अङ्ग भइसकेको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, रिल्स, एक्समध्ये सबै वा कुनै एकको प्रयोग नगर्ने मानिस सायदै होला । सामाजिक सञ्जालको अनुशासित र उचित प्रयोग गर्दा यसबाट थुप्रै फाइदा लिन सकिन्छ । 

टाढाका व्यक्ति एकापसमा जोडिने र गफ गर्ने, सूचना आदान–प्रदान गर्ने र कैयौँका लागि समाजमा प्रत्यक्ष व्यक्त गर्न नसकिएका विचार अभिव्यक्त गर्ने थलोका रूपमा विकास भएका छन्, यी सञ्जाल । अधिकांशले सामाजिक सञ्जाललाई देश–विदेशका समाचारमा पहुँच राख्न, ज्ञानवर्द्धक सामग्री हेर्न वा पढ्नका लागि प्रयोग गरिरहेका छन् ।

अथाह फाइदा र सकारात्मक प्रभावका बाबजुद सामाजिक सञ्जाल नकारात्मक सन्देश र घृणा फैलाउन, आक्रोश र आवेग व्यक्त गर्न, अन्य व्यक्तिलाई गालीगलौज र दुर्वचन प्रयोग गर्न, असान्दर्भिक र झुटा समाचार तथा सूचना सम्प्रेषित गर्न प्रयोग भएका समेत देखिन्छन् । 

विभिन्न सामाजिक सञ्जालमध्ये फेसबुकलाई केन्द्रमा राखेर लेखिएको यो लेखमा यस क्षेत्रका विज्ञ तथा विद्वान् प्राध्यापकका अध्ययन–अनुसन्धान, विभिन्न मनोविद् तथा मनोचिकित्सकका विचार र धारणाका साथै केही वर्षयता फेसबुकमा म आफैँले गरेको अनुभव समेटिएका छन् । 

यो लेखको उद्देश्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई हतोत्साहित गर्नु होइन, यसले पार्ने नकारात्मक असरलाई ख्याल गर्दै व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै फाइदा पुग्ने गरी कसरी सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ भन्ने हो ।

  • तथ्याङ्कमा फेसबुक प्रयोगकर्ता

लेखिका मारियाका अनुसार इन्टरनेट प्रयोग गर्ने जनसङ्ख्याको ४० प्रतिशत व्यक्तिको फेसबुक अकाउन्ट छ । अर्को तथ्याङ्कले भन्छ— ३.०६५ बिलियन व्यक्ति मासिक रूपमा फेसबुकका सक्रिय प्रयोगकर्ता हुन् भने दैनिक सक्रिय हुने सङ्ख्या २.११ बिलियन छ । सामाजिक सञ्जालका प्लेटफर्ममध्ये सबैभन्दा बढी लोकप्रिय फेसबुक हो । पछिल्लो एक वर्षमामा मात्रै फेसबुक प्रयोग गर्ने सङ्ख्यामा सात करोड व्यक्ति थपिए । 
विश्वको तथ्याङ्क हेर्दा फेसबुकको कुल प्रयोगकर्तामध्ये २४.६ प्रतिशत प्रयोगकर्ता दक्षिण एसियामा छन् । जसमध्ये क्रमशः दक्षिणपूर्वी एसियामा २० प्रतिशतले, पूर्वी एसियामा १२.६, दक्षिण अमेरिका ९.७ र ०.६ प्रतिशत क्यारेबियनहरूले फेसबुक प्रयोग गर्छन् । फेसबुक अकाउन्ट भएका शीर्ष १० देशमा क्रमशः भारतमा ४५० मिलियन, अमेरिकामा २४५, इन्डोनेसियामा १२५, ब्राजिलमा ११३, मेक्सिकोमा ९२, फिलिपिन्समा ८३, भियतनाममा ७८, बङ्गलादेशमा ६९, पाकिस्तानमा ६५ र इजिप्टमा ६० मिलियन जनसंख्या छन् । 

‘डेटारिपोर्टल ग्लोबल डिजिटल इनसाइट र नेपोलियन क्याट’ अनलाइनमा प्रकाशित तथ्याङ्क अनुसार सन् २०२५ मा आइपुग्दा एक करोड ६४ लाख ७९ हजार ५०० नेपालीको फेसबुक अकाउन्ट छ । कुल नेपाली प्रयोगकर्तामा ६० लाख १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति छन् । लैैङ्गिक रूपमा हेर्ने हो भने कुल फेसबुक प्रयोगकर्तामा ५५.९ प्रतिशत पुरुष र ४४.१ प्रतिशत महिला छन् । 

  • सामाजिक सञ्जाललाई कति समय ?

व्यक्ति अधिक समय सामाजिक सञ्जालमा व्यस्त रहन्छ भने क्रमशः उसलाई त्यसको लत बस्न थाल्छ । मदिरापान, धुम्रपान वा लागु औषधिको मात्र होइन कि जेसुकै कार्यको पनि लत बस्यो भने त्यो हानिकारक हुन्छ । ‘एडिक्सन हेल्प डटकम’को एक प्रतिवेदन अनुसार विश्वमा २१ करोडभन्दा बढी मानिस सामाजिक सञ्जाल विशेष गरी फेसबुकको अधिक प्रयोगको लतमा फसेका छन् । 

एक अध्ययनले भन्छ— १८ देखि २२ वर्ष उमेर समूहका व्यक्ति सात घण्टा २२ मिनेटसम्म सामाजिक सञ्जालमा समय बिताउँछन् । १८ देखि ३४ वर्ष उमेर समूहका व्यक्ति ६ घण्टा, ३५ देखि ५४ वर्षसम्मका व्यक्ति पाँच घण्टा र ५५ वर्ष माथिका व्यक्तिले तीन घण्टा सामाजिक सञ्जालमा बिताउने गर्छन् । 

डिप्रेसन र एन्जाइटी विषयक जर्नलमा प्रकाशित एक लेखका अनुसार एक दिनमा दुई घण्टाभन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिमा डिप्रेसनको लक्षण देखिएको छ । त्यसै गरी ‘सोसियल एन्ड क्लिनिकल साइकोलोजी’ जर्नलमा प्रकाशित एक अनुसन्धानको प्रतिवेदन अनुसार जुन व्यक्ति दुई घण्टाभन्दा जति बढी सामाजिक सञ्जाल प्रयोग गर्छ, उसलाई त्यति नै बढी नकारात्मक तनाव हुन्छ । 
यही विषयमा वरिष्ठ मनोविद् अञ्जुलक्ष्मी महर्जन भन्नुहुन्छ, ‘व्यावसायिक काम, पुस्तक, लेख, रचना, समाचार पढ्नुदेखि बाहेक स्क्रिनमा दुई घण्टाभन्दा कम समय बिताउनु मानसिक स्वास्थ्यका लागि उपयुक्त हो ।’ 

मनोविद् अञ्जुलक्ष्मी महर्जन भन्नुहुन्छ, ‘परिवार र समाजमा असुरक्षित महसुस भएका, अरुको प्रगति र उन्नतिमा डाह गर्ने, आफू समस्यामा परेको वा आफूले अनैतिक र बेइमानी कार्य गरेको तर भन्न नसकेको, आफूलाई अरुभन्दा जान्ने–बुझ्ने ठान्ने, आफूले प्रयोग गरेका असभ्य र नकारात्मक शब्द र वाक्यबाट व्यक्ति र समाजलाई के–कस्तो असर परेको छ भन्नेबारे ख्याल नगर्ने चरित्र भएका व्यक्ति सामाजिक सञ्जालमा नकारात्मक रूपमा प्रस्तुत हुन्छन् ।’
  • सामाजिक सञ्जालमा किन बढ्दै छ नकारात्मकता ?  

सामाजिक सञ्जाल प्रयोगका अनगिन्ती राम्रा पक्ष हुँदाहुँदै पनि आजकाल मानिस सामाजिक सञ्जालमा बढी नै अराजक हुन थालेका छन् । व्यक्तिगत कुण्ठा, ईर्ष्या, रिस, लालचा, अतृप्त वा एकतर्फी प्रेम आदि यसमार्फत छताछुल्ल पोखिन थालेका छन् अचेल । त्यसमा पनि सभ्य भाषामा होइन; छुद्र, असभ्य, अश्लील र असामाजिक भाषामा प्रस्तुत हुन्छन् यस्ता मानिसहरू । 

आफ्नै सहकर्मीलाई ‘छौँडा’ भन्दै सामाजिक सञ्जालमै पोखिन्छन् नेताहरू । हिजो आफैँले मानेको नेतालाई देशद्रोह्री, राष्ट्रद्रोही, लोभी र पापी भनेर सामाजिक सञ्जालमै लेखिन्छ । त्यति मात्र होइन, सामाजिक सञ्जालकै प्रयोग गरेर कोही नेताले सिंहदरबार जलाइदिने धम्की दिन्छन् त कोही गितार बजाउँदै अरूप्रति छुद्र र अश्लील शब्द प्रयोग गर्दै गीत गाएजस्तो गर्छन् । कोही देशको प्रधानमन्त्रीलाई चिथोर्छु भन्छन् त कोहीले सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भनेर फेसबुकमा अराजक रूपमा प्रस्तुत हुन्छन् । 

सायद नेताहरूको सिको गरेर होला, सर्वसाधारण मानिस पनि व्यक्तिगत व्यवहार, लेनदेन, साँध–सिमानाका कुरा समेत सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थालेका छन् । सञ्जालमार्फत धम्की र चुनौती दिने, जथाभावी गालीगलौज तथा दुर्वचन प्रयोग गर्ने कुरा सामान्य हुन थाले । अरुको आस्था र विश्वासलाई सम्मान गर्नुको सट्टा गिज्याउने र दुर्वाच्य प्रयोग गर्नु स्वघोषित जान्ने र बुझ्ने बौद्धिक नेताहरूको दिनचर्या हुन थाल्यो ।  
सामाजिक सञ्जालमा नकारात्मकता र घृणायुक्त पोस्ट गर्ने, छुद्र र असभ्य शब्द प्रयोग गर्ने, अरुलाई गालीगलौज गर्ने व्यक्तिहरू कस्ता प्रकारका हुन्छन् भन्ने प्रश्नको उत्तरमा मनोविद् अञ्जुलक्ष्मी महर्जन भन्नुहुन्छ, ‘परिवार र समाजमा असुरक्षित महसुस भएका, अरुको प्रगति र उन्नतिमा डाह गर्ने, आफू समस्यामा परेको वा आफूले अनैतिक र बेइमानी कार्य गरेको तर भन्न नसकेको, आफूलाई अरुभन्दा जान्ने–बुझ्ने ठान्ने, आफूले प्रयोग गरेका असभ्य र नकारात्मक शब्द र वाक्यबाट व्यक्ति र समाजलाई के–कस्तो असर परेको छ भन्नेबारे ख्याल नगर्ने चरित्र भएका व्यक्ति सामाजिक सञ्जालमा नकारात्मक रूपमा प्रस्तुत हुन्छन् ।’ 

वरिष्ठ मनोवैज्ञानिक एडम ग्रान्टको अध्ययनको निष्कर्षले भन्छ, ‘सामाजिक सञ्जालले चर्को आवाज, चर्को व्यवहार र नकारात्मक पोस्टलाई बढावा दिन्छ । यसले समाजको वास्तविकताबारे भ्रम सिर्जना गर्छ । ८० प्रतिशत गलत समाचार मात्र ०.१ प्रतिशत मानिसले सेयर गर्छन् तर सामाजिक सञ्जालले यसलाई व्यापक गर्छ । समाज अतिवादी कहिल्यै हुँदैन तर मानिस आफूले भोगेको वास्तविक संसारलाई भन्दा सामाजिक सञ्जालले भनेको कुरा विश्वास गर्छ । समस्या यहाँनेर हो ।’

ग्रान्टको अध्ययनको निष्कर्ष अनुसार— आफैँ विषाक्त, अतिवादी, समस्यामा परेको, कुण्ठाग्रस्त, नकारात्मक सोच भएको मानिसले मात्र सामाजिक सञ्जालमा सबैलाई लाञ्छना लगाउने, अरुलाई दोष दिने, सबै बिग्रेको मात्र देख्ने र आफूलाई भने सधैँ सादगी र अरुभन्दा फरक बताउने गर्छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरू आफूलाई रिस उठ्ने व्यक्तिमा केन्द्रित भएर विषयवस्तु सिर्जना गर्ने र कसैलाई विम्ब बनाएर पोस्ट गर्ने गर्छन् । सामाजिक सञ्जालमा सांकेतिक रूपमा कसैको चरित्रमाथि प्रश्न उठाउँदै वा अनावश्यक आक्षेप लगाउँदै लेखिएका शब्द र वाक्य पाठकले पढिरहँदा ती शब्द वा चरित्र पाठकले स्वयं पोस्टकर्तामा पनि देखिरहेका हुन्छन् भन्ने थाहा पाउँदैनन् उनीहरू । आफूलाई मन नपरेको व्यक्तिलाई होँच्याउन वा बदनाम गर्न वा उसको इज्जतमा दाग लगाउन प्रयोग गरिएका भाषाले आफूलाई पनि केही भनिरहेको छ वा आफ्नै मान्छेलाई पनि इङ्गित गरेको छ भन्ने ख्याल गर्दैनन् उनीहरू ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले ख्याल गर्नुपर्ने विषय के हो भने हामीले कसैलाई इङ्गित गरेर लेखिएको पोस्ट हजारौँले पढ्छन् । जुन कुरा उनीहरूसँग पटक्कै सान्दर्भिक र सम्बन्धित हुँदैन । अनि पाठकले पोस्टकर्तालाई भन्नेछन् कि तिमी कति नकारात्मक, कति छुद्र, असभ्य र असामाजिक भनेर । एक जनालाई रिस पोख्दा हामी हजारौँ सामु आफ्नो नकारात्मकता देखाइरहेका हुन्छौँ, जसले आफ्नो इज्जत–प्रतिष्ठामा समेत आघात पुग्छ । 

मारा विश्व विद्यालय मलेसियाका जुल्किफीले गरेको एक अध्ययन भन्छ, ‘अरुको नक्कल गरेर दुरुस्त तर झुटा खाता खोल्ने र त्यसबाट भ्रमपूर्ण समाचार फैलाउने प्रवृत्ति विश्वमै वृद्धि हुँदै गएको छ । यस्तै ज्येष्ठ नागरिक र महिला सामाजिक सञ्जालको दुरुपयोगको बढी सिकार भएका छन् ।’

  • अधिक प्रयोग र नकारात्मकताको असर 

सामाजिक सञ्जालको अधिक प्रयोग त्यसमा पनि नकारात्मक सोचले व्यक्तिको मानसिक, संवेगात्मक र दैनिक व्यवहारमा समेत असर पार्छ । यस्ता व्यक्तिमा नियमित काममा कम ध्यान दिने, निद्रा कम पर्ने, सधैँ चिन्तित हुने, सामान्य समस्यामा पनि तनाव लिनेजस्ता मानसिक समस्या देखिन्छन्् । ब्राउन विश्वविद्यालयको स्वास्थ्य विभाग भन्छ, ‘सामाजिक सञ्जालको अधिक प्रयोगले चिन्ता, नकारात्मक तनाव हुँदै डिप्रेसनसम्म पुर्‍याउँछ व्यक्तिलाई ।’ अमेरिकाको मिचिगन विश्वविद्यालयको अनुसन्धानले पनि यो भनाइलाई पुष्टि गरेको छ ।

सामाजिक सञ्जालमा अधिक समय बिताउने व्यक्तिको सोच्ने शक्तिमा ह्रास आउँछ, सकारात्मक सोच–विचारमा कमी आउँछ र उसको उत्पादनशील क्षमता पनि घट्छ । दैनिक लामो समय सामाजिक सञ्जालमा बिताउने व्यक्तिको व्यक्तिगत, पारिवारिक साथै अध्ययन र पेसागत जीवनमा नकारात्मक असर पर्छ ।

सामाजिक सञ्जालका कारण मानिसको निद्रामा ठुलो अवरोध आएको छ । एक अध्ययन भन्छ, ‘सामाजिक सञ्जालमा पढेका वा हेरेका विषयवस्तुका कारण कतिपय व्यक्तिमा निद्रा नलाग्ने, लागे पनि पातलो लाग्ने, निद्रामा तिनै विषयवस्तु आउने र झस्कने आदि विकृति देखिन थालेका छन् ।’

निद्रामा हुने यस्ता गडबडीले मानिसको शारीरिक र मानसिक दुवै स्वास्थ्यमा हानिपुर्‍याउँछ भन्छन् मनोचिकित्सक तथा मनोविद्हरू । 

ग्रान्टको अध्ययनको निष्कर्ष अनुसार— आफैँ विषाक्त, अतिवादी, समस्यामा परेको, कुण्ठाग्रस्त, नकारात्मक सोच भएको मानिसले मात्र सामाजिक सञ्जालमा सबैलाई लाञ्छना लगाउने, अरुलाई दोष दिने, सबै बिग्रेको मात्र देख्ने र आफूलाई भने सधैँ सादगी र अरुभन्दा फरक बताउने गर्छन् ।

सामाजिक सञ्जालमा बढी समय बिताउने र नकारात्मक अभिव्यक्ति दिने व्यक्तिको मानसिक स्वास्थ्यमा के असर पर्छ भन्ने प्रश्नमा वरिष्ठ मनोविद् अञ्जुलक्ष्मी महर्जन भन्नुहुन्छ, ‘अवश्य पर्छ । अधिक चिन्ता, एकान्तपन, बढी रिसाउने, नकारात्मक सोच्ने, आफैँलाई हानि पुर्‍याउने कार्य गर्ने, डिप्रेसनमा जानेजस्ता मानसिक समस्या देखा पर्छन् । जसको परिणाम उनीहरू असामाजिक र गैरकानुनी काम गर्ने गर्छन् ।’
सान्ता क्लारा विश्वविद्यालयकी जाकोव अमिदीका अनुसार सामाजिक सञ्जालमा लत बसेको व्यक्ति साथी तथा आफन्तलाई शशरीर भेट्न मन नपराउने, फोनमा गफ गर्न मन नगर्ने तर फेसबुक, म्यासेन्जर वा ह्वाट्स एपमा कुरा गर्न भने रमाउँछन् । यस्तो किसिमको बानी विकास हुँदै जाँदा मानिस समूहमा आफ्ना विचार राख्न नसक्ने र भिडदेखि डराउने हुँदै जान्छ । 

ड्रागाना ओस्टिक लगायतले मेक्सिकोमा गरेको अध्ययन भन्छ, ‘स्मार्ट फोन प्रयोग गर्ने लतले धेरै मानिसमा मानसिक समस्या देखियो । अधिक सामाजिक सञ्जालको प्रयोगले मानिसलाई एक्लै बस्ने; समाज, परिवारका सदस्य वा आफन्तसँग भौतिक रूपमा उपस्थित भएर छलफल नगर्ने बानीको विकास भयोे ।’

थुप्रै अनुसन्धानकर्ताको निष्कर्ष छ कि फेसबुक डिप्रेसन अहिलेको प्रमुख समस्या हो । फेसबुकमा दैनिक दुई घण्टाभन्दा बढी समय बिताउने व्यक्तिमा ‘फेसबुक डिप्रेसन’ हुन्छ । यसका लक्षण हुन्— नोटिफिकेसन अन राख्ने र आवाज आउनेबित्तिकै मोबाइल हेर्ने । 

फेसबुकमा लत बसेका कारण ‘फेसबुक डिप्रेसन’मा जान लागेका व्यक्तिको क्रियाकलाप वा मनोविज्ञान यस्तो हुन्छ— आज के पोस्ट गर्ने होला भनेर चिन्तित हुने, फेसबुक खोलौँ–खोलौँ भइरहने, छोटो समय फेसबुक नहेर्दा पनि महत्त्वपूर्ण सूचना र समाचार छुटेको महसुस हुने, इन्टरनेट एकछिन चलेन भने पनि रिसाउने र झर्कने तथा कतै आफन्तकहाँ जाँदा सन्चो–बिसन्चो सोध्नुभन्दा पहिले वाइफाईको पासवर्ड माग्ने आदि । 
प्राध्यापक डा.जोन डाभिला र साथीहरूले गरेको एक अध्ययनका अनुसार जो सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्छन्, उनीहरूको चिन्ताको स्तरमा पनि वृद्धि भएको पाइयो । चिन्ताको स्तर बढ्दै जाँदा पछि उनीहरूमा डिप्रेसनको लक्षणसम्म देखिन थाल्यो । 

डा. डाभिलाका अनुसार फेसबुकमा नकारात्मकतालाई केन्द्रमा राखेर पोस्ट गर्नेहरू डिप्रेसनको सिकार भएको पाइयो । यस्ता व्यक्ति आफ्नो पोस्टसँग कुनै सरोकार नै नराख्ने असम्बन्धित व्यक्तिलाई पनि ट्याग गर्छन् । उसलाई लागेको हुन्छ कि उसले पोस्ट गरेको सन्देश वा भिडियो अत्यन्तै महत्त्वपूर्ण छ । उसको अनावश्यक ट्यागका कारण कति व्यक्ति आजित भएका छन् भन्ने विषय उसले महसुस नै गर्दैन ।   
डाभिलाहरूको अनुसन्धानले भन्छ, ‘पोस्ट गरेपछि पनि यस्ता व्यक्ति कसले के कमेन्ट गर्‍यो, कति लाइक आयो भनेर बारबार फेसबुक हेरिरहन्छन् । कतिपय व्यक्तिले उसलाई प्रशंसा गरेर कमेन्ट गरेका हुन सक्छन् भने कतिपयले नकारात्मक प्रतिक्रिया पनि व्यक्त गरेका हुन्छन् । सकारात्मक कमेन्टले त पोस्टकर्तालाई खुसी बनाउँछ तर नकारात्मक प्रतिक्रियाले उसलाई रिस उठ्छ र प्रतिक्रिया दिने व्यक्तिलाई सञ्जालमै दुर्वचन प्रयोग गर्छन् । फेसबुकमा हुने र गरिने यस्तै क्रियाकलापले पोस्टकर्तालार्ई चिन्तित मात्र होइन कि डिप्रेसनसम्म पुर्‍याउँछ । 

मिचिगन विश्वविद्यालयका मनोविद् डा. मार्क बेकरको एक अध्ययनका अनुसार उहाँको सम्पर्कमा रहेका डिप्रेसनका रोगीमध्ये ७० प्रतिशत सामाजिक सञ्जालको लत बसेका व्यक्ति थिए । 

लामो समय सामाजिक सञ्जालमा भुल्नु भनेको छोराछोरी, आमाबाबु वा श्रीमान् वा श्रीमतीलाई कम समय दिनु हो । जसका कारण छोराछोरी आमाबाबुबाट टाढिन्छन् भने छोराछोरीले राम्रोसँग हेरचाह गरेनन् भनेर ज्येष्ठ नागरिकहरू पिरोलिन्छन्; श्रीमान्–श्रीमती एकार्कामा अनावश्यक शंका–उपशंका गर्न थाल्छन् । यसले गर्दा एउटा आदर्श परिवार लथालिङ्ग भएर बिग्रन सक्छ । 

एक अध्ययन भन्छ : युवतीलाई जिस्क्याउने, धम्क्याउने, अश्लील प्रस्ताव राख्ने र युवतीको इज्जतमा आघात पुग्ने कार्यहरूमध्ये ३५ प्रतिशतसम्म सामाजिक सञ्जालमार्फत भएका छन् । जसका कारण युवतीहरू चिन्तित हुने, अनावश्यक तनाव बेहोर्नुपर्ने र डिप्रेसनमा पुग्ने मात्र नभएर कुल, परिवार वा आमाबुबाको इज्जतको खातिर आत्महत्या गर्ने तहसम्म पुगेका छन् । 

जब व्यक्तिले सामाजिक सञ्जाललाई नकारात्मकता र घृणा फैलाउने तथा गलत सूचना र समाचार सम्प्रेषण गर्ने थलोका रूपमा अधिक प्रयोग गर्दै जान्छ तब उसलाई सामाजिक सञ्जाल प्रयोग गर्ने लत बस्छ । अन्त्यमा मानिस डिप्रेसनमा पुग्ने, आफ्नै अस्तित्वमाथि प्रश्न गर्ने, जीवन जिउनुको औचित्य नदेख्ने र आफैँसँग विद्रोह गर्ने परिस्थितमा पुर्‍याउँछ, सामाजिक सञ्जालको बढी प्रयोगले । 

  • प्रयोगकर्ताले ध्यान दिनुपर्ने विषय

सामाजिक सञ्जालमा व्यस्त हुने समय घटाउनु नै महत्त्वपूर्ण हुन्छ । खाना खाने समयमा मोबाइल साथमा नराख्ने र सुत्नुभन्दा कम्तीमा आधा घण्टाअगाडि सामाजिक सञ्जाल नहेर्ने गर्नु उपयुक्त हुन्छ । धेरै फुर्सद भयो भने सामाजिक सञ्जालमा अल्झिरहनुभन्दा आँखा चिम्लेर ध्यान गर्नु वा शारीरिक व्यायाम गर्नु शरीर, मस्तिष्क र मन सबैलाई फाइदाजनक हुन्छ ।

सामाजिक सञ्जालमा राम्रा मात्र विषयवस्तु आउँदैनन् । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले घृणा फैलाउने र नकारात्मक पोस्टहरू नपढ्ने र नसुन्ने गर्नुपर्छ । पढे पनि वा सुने पनि त्यसलाई गम्भीरतापूर्वक लिनु हुँदैन । अझ त्यस्ता पोस्टमा प्रतिक्रिया जनाउने, लाइक गर्ने वा सेयर गर्ने कार्य त गर्दै नगर्नु राम्रो । 

सामाजिक सञ्जालमा पूरा विषयवस्तु आउँदैनन् । कसैले त काँटछाँट गर्ने र तोडमोड गरेर पनि पोस्ट गर्छन् । त्यसैले सामाजिक सञ्जालमा पढेकै भरमा आफ्नो दृष्टिकोण वा विचार निर्माण गर्नु हुँदैन । पूर्ण समाचार पढेर वा सम्बन्धित व्यक्ति वा विज्ञसँग सोधपुछ गरेर मात्र आफ्नो धारणा सार्वजनिक गर्नुपर्र्छ । अन्यथा समाजले यस्ता व्यक्तिलाई सतही ज्ञान भएको तर अति जान्ने–सुन्ने हुनुपर्ने व्यक्तिको रूपमा चिन्छ ।

फेसबुक, टिकटक आदिले अश्लील, भ्रामक र सामाजिक, धार्मिक तथा जातीय सद्भाव बिथोल्ने किसिमका विषयवस्तुलाई स्थान दिँदैनन् भन्ने कुरा सबैले बुझ्नुपर्छ । सामाजिक सञ्जालका आ–आफ्नै नीति–नियम र प्रयोगकर्ताले पालना गर्नुपर्ने अनुशासन हुन्छन् । ती सबै पालना गर्नु प्रयोगकर्ताको कर्तव्य हो । पालना नगर्दा कतिपय समयमा पोस्ट हटाइएका र कतिपय व्यक्तिका अकाउन्ट नै बन्द गरिदिएका उदाहरण थुप्रै छन् । 
हामीलाई थाहा छ कि राष्ट्रपति निर्वाचनका समयमा ट्रम्पका कतिपय पोस्ट सामाजिक सञ्जालले तुरुन्तै हटाएको थियो । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ता आफू स्वअनुशासित हुने र सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनी र सम्बन्धित देशको नीति–नियमको जानकारी हुनु र पालना गर्नु आवश्यक पर्छ । 

सामाजिक सञ्जालसम्बन्धी अध्ययन अनुसन्धान गर्ने विज्ञको के सुझाव छ भने जसले खासगरी फेसबुक प्रोफाइलमा आफ्नो फोटो राखेको हुँदैन र प्रोफाइल लक गरेको हुन्छ त्यस्ता व्यक्तिलाई साथी बन्न अनुरोध नगर्ने र उनीहरूले अनुरोध गरेका छन् भने पनि स्वीकार नगर्नु उपयुक्त हुन्छ । अमेरिकाले त फोटो नराख्ने र प्रोफाइल लक गर्नेलाई दण्डित समेत गर्छ । छद्म नाम र भेषमा सामाजिक सञ्जालमा सक्रिय हुनेका पोस्टलाई पूर्णतः नकार्नुपर्छ, न प्रतिक्रिया न लाइक केही पनि गर्नु हुँदैन ।

प्रयोगकर्ताले अवलम्बन गर्नुपर्ने आचारसंहिताका साथै सामाजिक सञ्जाल प्रयोगकर्तालाई आत्मानुशासनका विषय, सामाजिक सञ्जालका नीति–नियम, साइबर कानुन, मानव अधिकार तथा मानसिक स्वास्थ्यका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अत्यावश्यक छ । यसतर्फ स्थानीय निकायको ध्यान जानु जरुरी छ ।

साधारण प्रयोगकर्ता भन्दा समाजका अगुवा, राजनीतिक नेता, शिक्षक तथा पत्रकारले सामाजिक सञ्जालमा के पोस्ट गर्ने, कस्ता शब्द प्रयोग गर्ने, कति समय सञ्जालमा बिताउने लगायत कार्य झनै सोचेर गर्नुपर्छ । डोनाल्ड ट्रम्प र एलन मस्कले सामाजिक सञ्जालमा मच्चाएको अराजकतालाई विश्वका नेताले विरोध गरेको कुरा नेपाली नेताले याद गर्दै आफू अनुशासित हुँदै नमुनायोग्य बन्न जरुरी छ ।    
अन्त्यमा, ड्रागाना ओस्टिक लगायतले मेक्सिकोमा गरेको अनुसन्धान प्रतिवेदन भन्छ, ‘सामाजिक सञ्जालको प्रयोगले व्यक्तिलाई सामाजिक रूपमा स्थापित गर्न, सम्बन्ध विस्तार गर्न, एकापसमा सहयोग आदानप्रदान गर्न तथा देश–विदेशका समाचार थाहा पाउन सहयोग गरेको छ । साथै, टाढाका आफन्त र नातेदार आदिसँग नियमित छलफल र आपसी सूचना र समाचार आदान–प्रदान गर्न सामाजिक सञ्जालले ठुलो योगदान दिएको छ ।’ 

त्यसैले सामाजिक सञ्जाल सबै वर्ग र उमेर समूहका व्यक्तिको अभिन्न साथी भइसकेको छ । उचित र अनुशासित भएर प्रगोग गर्ने हो भने यसका फाइदा व्याख्या–विश्लेषण गरेर सकिँदैन तर जुनसुकै आविष्कारले पनि फाइदाका साथै बेफाइदा पनि सँगै बोकेर आएको हुन्छ । यो यथार्थलार्ई बुझेर सामाजिक सञ्जालको प्रयोग गर्नु नै सबैको कर्तव्य हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप