शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आजभोलि निको लागिरहेको छैन याे सहर

बिहीबार, २९ साउन २०८२, १५ : ५५
बिहीबार, २९ साउन २०८२

आजभोलि मलाई यो सहर र देशको अवस्था खासै निको लागिरहेको छैन । हरेक दिन यहाँ कोही ‘राजा चाहियो’ भनेर आन्दोलन गर्छन्, कोही ‘राजा चाहिँदैन’ भनेर । कोही ‘पहिचान चाहियो’ भन्छन्, कसैले जातीयता मागिरहेका छन् । अनि कोही हिन्दु राष्ट्र खोज्दै छन् भने कोही हिन्दु राष्ट्र मेट्न लागिपरेका छन् । 

यहाँ एक पक्ष मेट्ने, अर्को पक्षबाट खोज्ने काम भइरहेको छ । शिक्षक, विद्यार्थी, वकिल, पत्रकार, नागरिक समाज, महिला, दलित, जनजाति, यौनिक तथा अल्पसंख्यक, मधेसी, थारू सबै केही न केही खोजिरहेका छन् । यहाँ स्थानीय र प्रदेश केन्द्रसँग माग्ने अनि केन्द्र विदेशीसँग माग्ने काम भइरहेको छ । लाग्छ, नेपाल त असन्तुष्ट र मगन्तेहरूकै हो । फेरि माग्दा पनि धक्का नै दिनुपर्ने अवस्था छ, नत्र सिंहदरबारका गाडीहरूको आवाजले सुनिँदैन । 

३५–३६ किलोमिटरको दूरी पनि यो देशमा आज पनि दूरदराजको गाउँजस्तै छ । देशकै कुनै ठाउँबाट काठमाडौँ आइपुग्न भन्दा विदेशबाट काठमाडौँ आउन सजिलो छ । यहाँ भौगोलिक दूरी होइन, नियत, प्रवित्ति र सोचको खाडल ठुलो बनेर बसेको छ । 

पोहोर साल चुनाव हुँदा हाम्रै घरमा भात खाएका मान्छे अहिले मन्त्री भएछन् । सिंहदरबारमा बस्छन्, तर मैले नै भोट दिएर पठाएको उनलाई भेट्न सकिनँ । मेरै अगाडि कालो गाडीमा सुटबुट लगाएर आएका तीन जनाले उनलाई सजिलै भेटे, तर मैलेचाहिँ सकिनँ । पाँचौँ दिन बल्लतल्ल दश सेकेन्ड भेट्न पाएँ । तर ‘आज अलि व्यस्त छु, भोलि आउँदा हुन्छ’ भन्ने मात्र उत्तर पाएँ । 

प्रहरी र आर्मीले घेरिएर बस्ने उनीहरू बस्ने सिंहदरबारको नाम कसले जुराइदिएछ ? जसले गरेछ, साइत जुराएर गरेछ । 

तर हामीले पढेको मूल्य–मान्यता, संस्कृति र पुस्तकभन्दा भिन्न र विपरीत रहेछ, यो अधुनिक समाज । कहिलेकाहीँ त मन र मस्तिष्कबिचको अन्तरसंघर्षमा हुन्छु । कुन पथ ठिक हो र अँगालु भनी द्वन्द्वमा फस्छु । यो इन्द्रेणीजस्तो रंगिन समाजमा रंगहीन विचार, भावना, आदर्श र जीवनपद्वति एक फगतसिद्व भएको छ । 

उपभोक्तावादी चेतनायुक्त यो समाजमा व्यक्तिको सफलताको मापन भौतिक सुख भएको छ । विलासी वस्तुहरूको संकलनमा मापन गरिएको छ । मलाई लाग्छ, आफन्त र छरछिमेकीहरूले मेरी आमालाई दिनप्रतिदिन तीतो र तीखो प्रश्नहरू सोधेका होलान् र दिक्क बनाइरहेका होलान् – ‘तिम्रो छोराले पढेर के गर्‍यो ?’ भन्लान्– पढाइले खाना लाउन पाइँदैन, तिम्रो उमेर पनि जाँदै छ, भोलि बिरामी भयौ भने केले उपचार गर्छौ ?' 

मेरी आमालाई यो पनि भनेका होलान्, ‘जीवनमा सफल हुन पढाइ होइन, धन सम्पत्ति चाहिन्छ । मेरा छोराले त विदेशबाट कमाएर काठमाडौँमा घर र गाडी जोडेको छ, तिम्रो छोराले पढेर पनि केही पनि गर्न सकेन ।’ 
माथ्लो घरकाले काठमाडौँमा पाँचतले घर र तीन ठाउँमा जग्गा जोड्दा मैले केही गर्न सकिनँ । ‘सिंहदरबारमा पुग्न पनि पैसा चाहिन्छ, तर मैले पढेर पनि केही गर्न सकिनँ ।

मसँग केही थान कलेजका डिग्री र मूल्य–मान्यता छन् । केही थान पुस्तकसिवाय धन दौलत छैनन् । पुँजीले सम्मानित हुने यो समाजमा हृदय बोकेकाहरू बिग्रँदा रहेछन्, कामै नलाग्ने सडेगलेका ल्वाँदे हुँदा रहेछन् । म त्यस्तै भएको छु आजकाल । जिउँदो त बेचे–बेचे, मरेका मानिस पनि बेच्न थालिसकेछन् । मान्छेबाट मानवता झिकेर सम्मानीय हुनेहरू बग्रेल्ती हुन थालेछन् । यहाँ हृदयको ह्रास हुनेहरूले हार्दिकताको दिव्य उपदेशहरू छर्किरहेका छन् । 

गाउँमा लेकबेंसी गर्दा, वनजंगल जाँदा र जोतेर हात ठेला पार्दा पनि खुसी नै थिएँ । तर यो सहरमा मस्तिष्क जोतेर नि मनमा बेखुसी छ । यो सहरमा त खुसी खोस्नुपर्दो रहेछ । गाउँमा हामी खेत जोत्थ्यौँ, यहाँ त एक मान्छेले हजारौँको मष्तिष्क खनजोत गर्दा रहेछन् । भावनासँग खेल्दा रहेछन् । यो सहरमा सबै कुराको प्रतिस्पर्धा हुने रहेछ, तर एउटा प्रतिस्पर्धा अक्सर कम हुन्छ कि; कोसँग बढी मानवता वा मानवीय हृदयपन ज्यादा छ । 

यहाँ मानवताको भावनालाई छिन्नभिन्न बनाएर मनग्य खुसी हुनेहरू यथेष्ट छन् । त्यसैले यो समयलाई ‘पोस्ट ट्रुथ युग’ भनेका होलान् । यतिखेर मलाई जीवन काँडा कि फूल, मुनामदन, अन्तरमनको  यात्रा,  यम्बुनेर, सम्बन्धहरू,  द गिफ्ट, फेडालिजम एण्ड डेभलपमेन्ट र रुरल डेभलपमेन्ट पुटिङ द लास्ट फस्ट जस्ता पुस्तकहरू स्मृतिपाटलमा आइरहेका छन् । 

यहाँ हार्ने हारिरहन्छन्, जित्ने जितिरहन्छन् । हार जितको तछाडमछाड हमेशा चलिरहन्छ । जित्नकै लागि जस्तोसुकै जुत्ति लगाउँछन् । हुन त इतिहास नै जित्नेको लेख्ने हो । राम र रावणको युद्वमा रावण पराजित नभएको भए रामायण नलेखेर ‘रावायाण’ लेखिन्थ्यो होला । हाम्रो म्हेम्हे (बाजे) दम्जे राजा (पछि दम्जे लामा भएर बचेको)  राम शाहको  गोर्खाली सेनासँग पराजित नभएको भए हामीले छुट्टै इतिहास पढ्न पर्थ्यो ।

इतिहास एकाङ्कीपन भएर लेखेकै कारण आज हाम्रो सोच, विचार, ज्ञान र सत्यहरू निरपेक्ष भएका छैनन् । जित्नेको प्रदूषित खेलमा यहाँ भावना, विचार र सत्यहरूको निर्ममतापूर्वक हत्या भएका छन् । र यो सहरमा चिनेका वा मित्रहरूले नै हार्दिकतापूर्वक लुछिरहेका छन् । मित्र र चिनेकाहरू नै प्रियतम दुश्मन हुने रहेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तामाङ
सूर्य तामाङ
लेखकबाट थप