नारायणकाजीको अर्थपूर्ण दौडधुप, वाम एकताको ढोका खुल्न सक्ला ?
सारांश
- वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको राजनीतिक सक्रियता बढ्दै गएको छ, उनले वाम एकताका लागि विभिन्न नेताहरूसँग भेटघाट गरिरहेका छन्।
- माओवादी केन्द्रको बैठकले समान विचारका पार्टीसँग एकीकरणको निर्णय गरेपछि श्रेष्ठले वामपन्थी नेताहरूसँग छलफल बढाएका छन्।
- पत्रकारका अनुसार, श्रेष्ठले निर्मल लामाको विरासत बोकेका छन् र वाम एकताको अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने आवश्यकता छ।
काठमाडौँ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको राजनीतिक दौडधुप र सक्रियता बढेको छ ।
खासगरी कम्युनिस्ट पृष्ठभूमिका नेताहरूसँग बाक्लो भेटघाटमा जुटेका श्रेष्ठले साउन महिनामा मात्रै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल तथा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’मात्र होइन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग पनि भेटवार्ता गरिसकेका छन् ।

यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल चार दलीय समाजवादी मोर्चाबाट केही समय अघि बाहिरिएको थियो । समाजवादी मोर्चामा रहेकाबाहेक अन्य दलका नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग समेत भेटवार्तामा जुटेका श्रेष्ठको पछिल्लो सक्रियताले पुनः वाम एकताको ढोका खोल्न सक्ने कतिपय वाम बुद्धिजीवीको भनाइ छ ।
विभिन्न पार्टीका नेताहरूसँगको भेटवार्ता सुरु गर्नुअघि श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर लामै संवाद गरेका थिए । भण्डारीसँगको भेटवार्तामा श्रेष्ठले वाम विचारधारा राख्ने पार्टीहरूबिच एकता र सहकार्यमा जोड दिएको श्रेष्ठ निकट स्रोतको भनाइ छ ।
नेकपा माओवादी केन्द्रको साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले समान विचार भएका पार्टीहरूसँग एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि श्रेष्ठले आफ्नो सक्रियता बढाउँदै वामपन्थी नेताहरूसँगको संवाद र छलफललाई तीव्रता दिएका हुन् ।

नेपालको लोकतान्त्रिक व्यवस्था, नेपाली कम्युनिस्ट आन्दोलन, वाम पार्टीहरूको एकता तथा देशभक्तहरूको बिचमा सहकार्य हुनुपर्ने पक्षमा उभिँदै आएका श्रेष्ठको पछिल्लो पहल र दौडधुपलाई वाम एकता पक्षधरहरूले सकारात्मक रूपमा लिएका छन् ।
‘अहिले वामपन्थी शक्तिहरू साना–ठुला गरेर २० टुक्रामा छन् । तिनीहरूलाई एकीकृत गरेर दुईतीन वटामात्रै बनाउन सके पनि देशका लागि राम्रै हुन्छ’, वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले भने, ‘नेपालको राजनीतिमा अहिले एक किसिमको ध्रुवीकरणको अवस्था छ । वामपन्थीभित्रै पनि एमालेको एउटा ध्रुव छ भने एमालेको विपरीत अर्को ध्रुवलाई अर्गनाइज गर्ने प्रयास हुनु सकारात्मक हो ।’
वाम एकता वा ध्रुवीकरणका लागि भइरहेको प्रयासलाई सकारात्मक रूपमा लिन सकिए पनि पार्टीका तर्फबाट श्रेष्ठले पाउने अधिकार कति छ भन्नेमा विशेष अर्थ रहने बस्नेतको बुझाइ छ ।
‘कुनै पनि मानिसलाई केही गर्न अधिकार प्राप्त हुनुपर्छ’, बस्नेतले भने, ‘नारायणकाजीले अहिले झलनाथ खनाल, नेत्रविक्रम चन्द वा अन्य नेतासँग भेटेरमात्र हुँदैन, सहमति गर्ने अधिकार पनि हुनुपर्छ, जसले नतिजा ल्याउन सहज हुन्छ ।’

माओवादीमा धेरैजसो अधिकार अध्यक्ष प्रचण्डमामात्र रहेकाले श्रेष्ठले गरिरहेको प्रयास कतै सार्थक नहुने हो कि भन्ने आशंका पनि कायमै रहेको बस्नेतको भनाइ छ । ‘किनभने अधिकार जति अध्यक्ष प्रचण्डले मात्रै लिने र नारायणकाजीले वातावरण बनाउने तर त्यो लागु नगर्ने हो भने कार्टुनमात्र हुन्छ’, उनले भने ।
अर्का पत्रकार देवप्रकाश त्रिपाठी कम्युनिस्ट नेता निर्मल लामाबाट दीक्षित भएका नारायणकाजी श्रेष्ठ पछिल्लो कालखण्ड वामपुस्ताका नेताहरूमध्ये विशिष्ट भूमिकामा रहेको बताउँछन् ।
‘उहाँले आफूलाई राष्ट्रको नाममा समर्पण गरेको व्यवहारबाटै देखिन्छ’, त्रिपाठीले भने, ‘यो काम उपयुक्त छ भन्ने लागेपछि निर्णय गर्न पनि पछि नहट्ने उहाँको स्वभाव देखिन्छ । निजी स्वार्थका लागि पछि नहट्ने तर देश हितमा छ भन्ने लागेपछि गर्नुपर्छ भन्ने सोचलाई सकारात्मक रूपमा लिन सकिन्छ ।’
यसो त नारायणकाजी देशभक्त, प्रगतिशील, प्रजातान्त्रिक आचरण र व्यवहार भएका आध्यात्मिक, इमानदार नेताका रूपमा पनि परिचित छन् ।

‘कम्युनिस्ट नेता निर्मल लामाबाट राजनीतिक रूपमा दीक्षित भएका नेता श्रेष्ठमा पनि कतिपय स्वभाव लामाकै देखिन्छ’, त्रिपाठीले भने, ‘लामा छिटपुट कमजोरीबाहेक अत्यन्त देशभक्त र इमानदार नेता हुनुहुन्थ्यो । व्यावहारिक र विचारक नेता हुनुहुन्थ्यो । त्यो गुण अहिले नारायणकाजीमा पनि देखिन्छ ।’
कुनै बेला भारतमा क्रान्ति नभई नेपालको क्रान्ति पूरा हुन मुस्किल छ भनेर अभिव्यक्ति दिएकै आधारमा लामालाई कारबाही भएको स्मरण गर्दै त्रिपाठीले भने, ‘तर लामा सत्य बोल्न पछि हट्नु भएन ।’
२०४६ मा वाममोर्चा बनाएर लामाले कांग्रेससँग सहकार्य गरेका थिए । त्यसैका बलमा २०४६ को परिवर्तन सम्भव भएको त्रिपाठीको अनुभव छ ।
पत्रकार बस्नेत पनि लामाजस्तै नारायणकाजीको राजनीतिक यात्रा नेपाली कांग्रेसबाट सुरु भए पनि केही वर्षमै कम्युनिस्ट आन्दोलनमा लागेको बताउँछन् । ‘नारायणकाजीलाई अहिले जो विरासत प्राप्त भएको छ, त्यो निर्मल लामाकै देन हो’, बस्नेतले भने ।
निर्मल लामा कुनै व्यक्तिगत स्वार्थ नभएका, भ्रष्टाचारमा नमुछिएका र कसैको एक पैसा पनि नखाने तथा क्रान्ति र राष्ट्रप्रति इमानदार नेताका रूपमा चिनिन्छन् । उनै लामाको लिगेसी बोकेका नारायणकाजी लगायतका नेताहरूले थालेको वाम एकता र सहकार्यको अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बस्नेतको विश्लेषण छ ।

‘छरिएर रहेका वाम शक्तिहरूलाई एकीकृत गर्न अहिले अति आवश्यक छ’, बस्नेतले भने, ‘समकालीन नेताहरूमध्ये कम विवादमा परेका तथा गृहमन्त्री हुँदासमेत सुशासनको पक्षमा दृढता देखाएका श्रेष्ठ विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन र लोकतान्त्रिक मूल्य मान्यताका पक्षपाती मानिन्छन्, जसको प्रयासलाई सवैले साथ दिनु नै हितकर हुनेछ ।’
पत्रकार बस्नेतका अनुसार लामाले आफू जीवित र स्वस्थ छँँदै नेतृत्व हस्तान्तरण गरेका थिए भने श्रेष्ठको भावना पनि लामाको भन्दा खासै भिन्न देखिएको छैन । ‘राणा शासनविरुद्ध पश्चिम नेपालको कमान्डर थिए लामा तर दैलेखको बडाहाकिम पद त्यागेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए’, बस्नेतले भने, ‘पूर्वी र मध्य नेपालमा आजको माओवादीको साङ्गठनिक जग उनै लामाले बसालेका थिए ।’
२०४६ को आन्दोलनपछि अन्तरिम सरकारको गृहमन्त्री पद त्यागेका उनै लामाले नारायणकाजी श्रेष्ठलाई तत्कालीन नेकपा चौमको नेतृत्व हस्तान्तरण गरेका थिए, जसलाई कतिपयले नमरुन्जेल पार्टी सत्तामा बसिरहने प्रतिगामी चरित्रको विरुद्ध लामाले ‘जेहाद’ छेडेको रूपमा समेत अर्थ्याउने गरेका छन् ।
त्यति हुँदाहुदै पनि लामामाथि दरबारको सीआईडी गरेको आरोप भने नलागेको होइन । ‘दरबारको सीआईडीको आरोप लगाउने मोहनविक्रम सिंहले अन्ततः आत्मालोचना नै गर्नुपरेको थियो’, बस्नेतले भने, ‘लामाकै गुण भएका श्रेष्ठले वाम एकताका लागि गरेको पछिल्लो प्रयासमा सबैको साथ मिले परिणाम आउन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण