बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीसहित २३ जनाको मृत्यु

शुक्रबार, ३० साउन २०८२, १७ : २८
शुक्रबार, ३० साउन २०८२

काठमाडाैँ । कुवेतमा विषाक्त मदिरा सेवनका कारण विभिन्न देशका २३ जनाको मृत्यु भएको छ। करिब १६० जना बिरामी भएका छन् । 

मृतकमध्ये ९ जना नेपाली नागरिक समेत रहेका छन् । अरू मृतक पनि अधिकांश एसियाली नागरिक रहेको  अरब टाइम्सले जनाएको छ । 

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। २१ जनामा स्थायी अन्धोपन वा दृष्टिदोष देखिएको छ ।

मन्त्रालयले सबै केसहरूको २४ घण्टा निगरानी र आवश्यक उपचारको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । 

नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार रातोपाटीलाई जानकारी दिएअनुसार तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । 

उनका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । 

यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए । 

उनका अनुसार  कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित भएका हुन् । 

‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ । हामी थप विवरण लिने क्रममा अहिले छौँ’, उनले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने उनले बताए ।

यसैबिच कुवेतस्थित भारतीय दूतावासले करिब ४० जना भारतीय नागरिक अस्पताल भर्ना भएको पुष्टि गरेको छ। केहीको अवस्था गम्भीर रहेको र केहीको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार घटनाबारे थाहा पाएलगत्तै भारतीय राजदूतसहितका अधिकारीहरूले सरकारी अस्पतालको भ्रमण गरी बिरामीहरूको अवस्थाबारे जानकारी लिएका छन् । प्रभावितहरूलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप